
सिड्नी । छोरा छोरीको प्रगति र उन्नतिसँगै सन्तानको मायाले अस्ट्रेलिया आइपुगेका अभिभावकहरू नेपालको मेलापात, चाडपर्वलाई सम्झना गर्दै सामूहिक रूपमा मनाउन थालेका छन् ।
घुम्न तथा पारिवारिक मिलनका लागि सिड्नी आइपुगेका अभिभावकहरूले आइतबार नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभील पार्कमा लोकलय र दोहोरी घन्काउँदै मादलको तालमा होली पर्वलाई विट मारेका छन् । अस्ट्रेलियामा अभिभावकहरूको संख्या ह्वात्तै बढेपछि प्राय नेपालीहरूको घनाबस्ती भएको सहरी क्षेत्रमा अभिभावक समाज समेत बनेका छन् ।
यस्तै, आइतबार ग्रानभील नेपाली अभिभावक समाजको आयोजनामा भएको भेलामा बा–आमाहरू मादलको तालमा दोहोरीमा मस्त भए र मुलुक सम्झिए । यता बस्दा अभिभावकलाई न्यास्रो नलागोस् भन्ने सोचका साथ हरेक चाडपर्वमा भेला भएर रमाइलो गर्ने र आपसी सद्भाव साटासाट गर्ने परम्पराको थालनी गरेका हौँ, ग्रानभील नेपाली समाजका अध्यक्ष लक्ष्मीपती भट्टराईले सुनाए ।
"विदेशमा छोरा छोरी व्यस्त हुन्छन् र अभिभावक कोठामै सीमित हुने परम्पराको अन्तका लागि पनि मिलेसम्म दिनहुँ एक समय साझ पार्कमा भेट्ने र चाडपर्व सँगै मनाउने अनि भेटघाट गर्ने परदेशमा घरदेशको आभाष दिलाउने अभियान अगाडि सारेका हौँ," अध्यक्ष भट्टराईले बताए ।
हालै सिड्नीकै सर्वाधिक नेपाली रहेको कम्बरल्यान्ड काउन्सिलअन्तर्गत ग्रानभील नेपाली अभिभावक समाजमा नयाँ नेतृत्व समेत चयन भएको छ । स्याङ्जा थातथलो भएका लक्ष्मीपती भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा चन्द्रादेवी पाण्डे, सचिवमा होमनाथ सुवेदी, कोषाध्यक्षमा पार्वती श्रेष्ठ रहेका छन् । सदस्यहरूमा गोपालचन्द्र राई, नारायणप्रसाद पाण्डे, यादव श्रेष्ठ तथा सल्लाहकारमा भाइराम श्रेष्ठ चयन भएका थिए ।
विदेशमा अभिभावक आउँदैगर्दा भाषागत कठिनाइले कतिपय नितिनियम नबुझिने अनि कोठामा रहँदा एक्लोपन हुने जस्ता कुराहरूले बढी सताउने गरेको पाइन्छ । तर, कम्तीमा सातामा दुईदिन भए पनि भेला भएर चिनजान गर्ने, नबुझेका कुरा सोध्ने अनि सामूहिक चाडपर्व मनाउँदा यसले आपसी सद्भाव मात्र हैन नेपाली अभिभावकलाई सहयोग र सद्भाव पनि बाँडेको कुरा अध्यक्ष भट्टराईले बताए ।