
बा, तपाईंले यो संसार छोड्नुभएको उमेरको हाराहारीमा छु । तपाईं त्यति बेला के सोच्नुहुन्थ्यो होला भनेर यतिखरे म सोचिरहेछु । तपाईं बा हुनुभएको अभिभावकत्वमा मेरो कुनै गुनासो छैन । सबै बाहरूले आफूले जानेजसरी र सकेजति आफ्ना सन्तानलाई गर्ने नै हुन् ।
वास्तवमा सन्तान भनेका बाआमाका ठूला कमजोरी रहेछन् । जोसँग र जसका लागि जतिखेर पनि हारिरहनुपर्ने, त्यही हारमा आफ्नो जीवन देख्ने ।
यही नै बाआमाको कमाइ हुने रहेछ । छोराछोरीहरू आफूभन्दा राम्रा हुन् । असल हुन् । धनी हुन् । यी सबै बाआमाका इच्छा हुँदा रहेछन् ।
जिन्दगीमा उमेर ठूलै कुरा रहेछ, बा ! मान्छेले जतिसुकै सम्झाए पनि, समाचारहरूमा मृत्युका खबरहरू आइरहे पनि, छिमेकमा मान्छेको मृत्यु भइरहे पनि त्यो समवेदना क्षणिक मात्र हुने रहेछ ।
जबसम्म आफू लक्का जवान र व्यस्त थिएँ, मैले मृत्युलाई बिर्सेरै बाँचेँ । सबै जवानहरू सायद यही गर्दा हुन् । हुन त मृत्यु सम्झीसम्झी के बाँच्ने भन्ने कुरा पनि होला ।
परन्तु, अहिले के अनुभूत भइरहेको छ भने मृत्यु सम्झेरै जीवन बाँच्नुपर्ने रहेछ । यो सम्झनाले जीवनमा अवरोध आउने होइन रहेछ । जीवनलाई अझै सुन्दर बनाउने रहेछ ।
मृत्युबोधसहितको जीवनका बारेमा मलाई कसैल भनेनन् वा यस्तो पनि हुनसक्छ, कसैले भन्ने प्रयत्न गर्दा मैले सुन्ने संकेत नै गरिनँ । तथापि, बुझ्न सक्ने उमेरमै मृत्यु सम्झाइरहने जीवन मैले पनि बाँचिनँ ।
यो मैले पढ्ने कुनै पाठ्यक्रममा थिएन, सायद अहिले पनि छैन । म अहिले मृत्युबोधसहितको जीवन बाँचिरहेछु ।
मृत्युबोधले मान्छेलाई योजनाबद्ध बनाउने रहेछ । मान्छे कहिले मर्छ भन्न त सकिन्न, तर औसत उमेरको हिसाब त गर्न सकिन्छ । कम से कम एक दिन मर्न पर्छ भनेर प्रत्येक योजना र निर्णयअघि सोच्नुपर्ने रहेछ ।
मलाई थाहा छ, मैले यो कुरा भनिरहँदा कतिपय मान्छेले भन्नेछन्— यो पनि बुढो भएछ, बुढेसकालमा आफ्नो दिनगन्ती गर्न थालेछ ।
होला । कतिपय कुरा उमेरजन्य सोच पनि होला । तर, मृत्यु मान्छेले प्रत्येक पाइलामा सोच्नुपर्ने सत्य हो । यो पाठ्यक्रममा मात्र होइन, प्रशिक्षण चाहिने नै रहेछ ।
कामको सिलसिलामा मान्छे कुनै न कुनै कार्यालयमा सानो या ठूलो जिम्मेवारी लिन पुग्छ । त्यहाँ पुगेपछि कामको योजना बनाउनैपर्छ । काम गरेपछि सही समयमा कामको सुरुआत गर्नु र समापन गर्नु एउटा लक्ष लिनुपर्ने हुन्छ ।
तर, मान्छे आफ्नो जीवनको सुरुआत र अन्त्य बिर्सेर लागिरहेको हुन्छ !
यस्ता कुरा बाले बेलैमा भन्नुपर्थ्यो भनेको पनि होइन । सबै कुरा कहाँ बाले भन्न सक्नु !
बा हुनु भनेको सन्तानलाई एउटा निश्चित उमेरसम्म हुर्काउनु रहेछ । त्यसपछि सन्तान गुँडबाट उडेपछि बा हुनुको माया र मायाभित्रको सुखदुःखसँग बाँच्ने रहेछ ।
यस्ता कुरा सन्तानले पनि बाआमाबाट अनुभूति गर्नेभन्दा पनि सन्तानले पनि आफ्नै सन्तान भइसकेपछि मात्र बुझ्ने रहेछ । बा, तपाईंले सबै बाहरूले जस्तै पक्कै त्यही गर्नुभो होला !
हामी सन्तानहरूका शृंखलाबद्ध जन्म, त्यसको लालनपालन, पोषण, औषधि उपचार, हुर्काइ, पढाइ र त्यसले तपाईंको जीवनमा थपिएका कतिपय काम र सुखदुःखका साक्षी म ।
तपाईंका रगत हामी, तपाईंकै पसिनाले सिञ्चिएर हुर्क्यौं । एक छाक खान, एक जोर लाउन मात्र होइन, जीवनमा घोटिन, दुःख गर्न सिकेँ र अहिले म आफैँ बा भएको छु ।
बा, तपाईंका नाममा अहिले पनि सगौरव परिचय दिइरहेको छु । बा, तपाईंले मसँग के अपेक्षा राख्नुभयो होला, के पूरा गरेँ हुँला, के गरिनँ हुँला ! अहिले सोचिरहेछु ।