
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्तिकाहरूलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको बताएका छन् ।
मंगलबार पार्टीको युवा संगठन वाईसीएल नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्तिपछि आउने प्रतिक्रान्ति रोक्ने जिम्मा पनि क्रान्तिकारीकै हुने बताए । फेरि एकपटक प्रतिक्रान्तिकारीविरुद्ध प्रतिरोधको जिम्मा माओवादी र वाईसीएलको काँधमा आएको उनको भनाइ छ ।
“विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिकरूपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक होइन । यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरूलाई पूर्णरूपमा परास्त गर्नु क्रान्तिकारीहरूको दायित्व हो ।”
अध्यक्ष प्रचण्डले फालिएको राजतन्त्रको पक्षमा देखिएका गतिविधि प्रतिक्रान्तिकै स्वरूपमा अत्याउँदै प्रतिक्रान्तिकारीले शिर उठाउनुमा सरकारको भूमिका जिम्मेवार रहेको बताए । प्रतिक्रियावादी शक्तिहरूसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम परेको र परिवर्तनका मुद्दा पनि कार्यान्वयन हुन नसक्दा केही मानिस पूर्वराजाको स्वागतमा निस्किएको उनको भनाइ छ । त्यसलाई रोक्न आफ्नो पार्टीले पनि विगतका कमी कमजोरी सच्याउँदै जनतामुखी भएर नयाँ अभियान थालेको उनले बताए ।
“पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको छ । जनतासँग माओवादी अभियान सुरु भइसकेको छ, यसको अग्रमोर्चामा युवाहरूलाई नै राखिएको छ,” प्रचण्डले भने, “वाईसीएलले पनि देशव्यापी लाखौँ युवाहरूलाई तम्तयार अवस्थामा राख्नुपर्ने अवस्था छ ।”
अध्यक्ष प्रचण्डले पछिल्लोपटक आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको भन्दै पार्टीले थालको नयाँ अभियानले युवाहरूलाई आकर्षित गर्दै लगेको बताए ।
“झापाबाट रौतहटसम्म अभियान पुग्दा हजारौँ नयाँ युवाहरू पार्टीमा गोलबन्द भएका छन्, अब वाईसीएलले संघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउनुपर्छ,” उनले निर्देशन दिए ।