
काठमाडौं । राष्ट्रियसभाका सदस्य जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने नाममा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । नेकपा (माओवादी केन्द्र)का सांसद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए ।
“अहिले तथाकथित प्रतिगामी शक्तिहरू राजा फर्काउने, जसले राजाको वंश विनाश गरेका हुन् । तिनैले राजा फर्काउने नाटक मञ्चन गरिराखेका छन्,” उनले भने ।
उनले संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै प्रश्न गरे । “यो अराजकतालाई नियन्त्रण गर्न सरकार किन सकिरहेको छैन ? प्रतिपक्षको कुरा किन सुनिरहेको छैन ?,” उनको प्रश्न छ ।
उनले देशमा बढिरहेको अराजकतालाई तत्काल नियन्त्रण गर्न माग गरे । “देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गरोस्,” उनी भन्छन् ।
शर्माले विद्यमान राजनीतिक दलहरूले नै कित्ता स्पष्ट गर्नुपर्ने आवश्कता औँल्याए । उनले दलहरूको समेत 'अप्रत्यक्ष गठबन्धन त छैन' भनेर शंका गरे । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनको भनाइ छ ।
अर्को प्रसंगमा उनले बजेट ल्याउने बेलामा सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बताए । सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने भनाइ उनको छ ।