site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा कोटिहोम विवाद झडपमा परिणत

पोखरा । कोटिहोम आयोजना विवाद झडपसम्म पुगेको छ । शुक्रबार (फागुन २३) आयोजक मानव सेवा फाउन्डेसनका व्यक्ति र पोखरा महानगरपालिकाका प्रहरीबीच झडप भयो ।

महानगर आफैँले सुरुमा पूजा आयोजनाको अनुमति दिएको थियो । तर, समिधा (दाउरा)का निम्ति ऐतिहासिक रुख कटान र आलोचनापछि महानगर ‘ब्याक’ भयो ।

मानवसेवा फाउन्डेसनले आउँदो वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ गर्दै छ । यसका निम्ति शुक्रबार भूमिपूजनको साइत तय थियो । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतमा मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले भूमिपूजन गरे ।

तर, भूमिपूजन सकिनुअगावै नगर प्रहरीले स्थानीय एक व्यक्तिमाथि हातपात गर्‍यो । नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा धार्मिक अनुष्ठान गर्न लागिएको छ । यो क्षेत्र पोखरा महानगरपालिका–६ मा पर्छ । महानगरले उक्त स्थानमा कोटिहोम गर्न अनुमति नदिइएको जिकिर गर्दै आएको छ ।

त्यहाँ पूजा गर्न नदिन ठूलो संख्यामा नगर प्रहरी तैनाथ गरिएको थियो । फाउन्डेसनले पूजा अगाडि बढाइरहेकै बेला नगर प्रहरीले दुई टेबुल उठाएर लग्यो । स्थानीयले प्रतिकार गर्न खोज्दा झडप भएको हो ।

पहिलो चरणमा स्थानीय मिलन पहारी नगर प्रहरीद्वारा कुटिएका थिए । नगर प्रहरी बाराहीघाटबाट निस्किएपछि माहोल केही बेर शान्त बनेको थियो ।

जब पूजा सकियो र आयोजक निस्किन खोजे, फेरि मुठभेडको स्थिति सिर्जना भयो । नगरपालिकाका एक कर्मचारीले सुरुमा बाराहीघाट परिसरमा रहेको आफ्नो गाडी निकालेपछि मात्र अरू निस्किने भनी नगर प्रहरीलाई आदेश दिए ।

तर, स्थानीयले नगर प्रहरीलाई भित्र छिर्न दिएनन् । धकेलाधकेलपछि विवाद झडपमा परिणत हुन पुग्यो ।

फलामको रडदेखि बेतको लौरो, ढुंगा, चक्कु समेत देखिए । नेपाल प्रहरीले प्रतिकारमा उत्रिएका स्थानीयबाट सुरुमै फलामे रड नियन्त्रणमा लिएको थियो । तर, झडपका क्रममा उपलब्ध हतियार सबै प्रयोग गरिए ।

झडपमा १३ जना घाइते भएका छन् । आठ स्थानीय र पाँच नगर प्रहरी घाइते भएका नेपाल प्रहरीको तथ्यांक छ ।

महानगर भन्छ– अनुमति छैन
पछिल्लो समय कार्यपालिका बैठकबाट महानगरले उक्त स्थानमा कोटिहोम गर्न नदिने निर्णय गर्‍यो । तर, त्यसअघि कोटिहोमका निम्ति महानगरले सघाउँदै आएको थियो । यतिसम्म कि पोखरा–६ ले त राजस्व समेत लिइसकेको थियो ।

कोटिहोम सञ्चालन हुने स्थान क्याम्पिङ क्षेत्र र बाराहीघाटको जग्गाको बहाल करबापत आयोजकले ३३ हजार ८७६ रुपैयाँ बुझाइसकेको छ । यो कर ०८१ फागुन १५ देखि ०८२ जेठ ३० गतेसम्मका निम्ति बुझाइएको हो ।

महानगर प्रमुख धनराज आचार्यले त्यहाँ कोटिहोम आयोजनाको अनुमति नदिइएको बताउँदै आएका छन् । उनले माघ २० गतेको कार्यपालिका बैठकबाट अनुमति नदिने निर्णय अनुमोदन गराएका थिए । नेपाल ट्रस्टले आयोजकलाई दिएकोे जग्गाको सहमति रद्द गर्न बैठकबाट भनिएको थियो ।

उक्त निर्णयविरुद्ध आयोजक उच्च अदालत पुग्यो । अदालतले कोटिहोम नरोक्न आदेश दियो ।

यसअघि, नेपाल ट्रस्टले महानगरको आग्रह इन्कार गरेको थियो । ट्रस्टले यही कोटिहोम आयोजनाका निम्ति आफू मातहतको क्याम्पिङ चौर र बाराहीघाटको जग्गा उपलब्ध समेत गराइसकेको छ । त्यसका निम्ति आयोजकले भाडाबापत ११ लाख ५९ हजार रुपैयाँ बुझाइसकेको छ ।

माघ २३ गते महानगरले महायज्ञ गरिने स्थल सहरको अतिव्यस्त स्थान रहेको, पर्यटक आवतजावत, घुमफिर गर्ने, फेवातालको किनारमा रहेको, वातावरणीय प्रदूषण बढ्न जाने र हवाई यातायात समेत प्रभावित हुने भन्दै अनुमति रद्द गर्न भन्दै पत्र पठाएको थियो ।

ट्रस्टले लेखेको जवाफी पत्रमा कोटिहोमका निम्ति पोखरा ६ नम्बर वडा कार्यालयले पुस ९ गते अनुमति दिएको समेत उल्लेख छ । अनुमति पाएपछि समिधाका निम्ति ऐतिहासिक रुख कटान गरिँदा कोटिहोम आयोजना विवादित बनेको हो ।

आयोजकले पोखरा–१३, १४ र ६ बाट वरपिपलका ४३ गोलिया (५० टन) संकलन गरेको थियो । महानगरको अनुमतिमा संकलित रुखहरू हाल महानगरले नै जफत गरेको छ ।

नियन्त्रणमा लिनुअघि महानगरका प्रमुख आचार्यले पोखराको तालछेउमा कोटिहोम महायज्ञ आयोजना हुन नसक्ने बताएका थिए । “प्रशासनले स्वीकृति दिएको छैन र यहाँ कोटिहोम हुन पनि सक्दैन । होमको धुवाँले वायु प्रदूषण हुन्छ, जसले हवाई उडान समेत असर गर्छ,” आचार्यले भनेका थिए ।

आयोजकका पक्षमा अदालतको आदेशपछि मेयर आचार्य आफैँले वारेसमार्फत त्यो खारेजीनिम्ति उच्चमै निवेदन दिए । तर, उच्चले कोटिहोम नरोक्न अन्तरिम आदेश दियो । यो मुद्दा अब पूर्ण इजलासबाट टुंगो लाग्नेछ, त्यसनिम्ति यही फागुन २६ गतेलाई पेसी तोकिएको छ ।

महानगरले कोटिहोम गर्न रोक लगाउने भनेपछि फाउन्डेसनका संस्थापक भण्डारीले ‘धर्मको रक्षाका लागि अधर्म गर्न पनि तयार रहेको’ अभिव्यक्ति दिए । उनले कोटिहोम नगरी पोखराबाट नफर्कने अडान लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी शिव लम्साल शान्तिपूर्ण तरिकाले दुवै पक्षले छलफल गर्नुपर्ने बताउँछन् । अनुमति स्थानीय तहले दिनुपर्ने र यसका निम्ति दुवै पक्ष सहमतिमा जानुपर्ने उनको भनाइ छ ।

झडपपछि महानगरले औपचारिक प्रतिक्रिया दिइसकेको छैन । तर, घाइते भएका नगर प्रहरीको उपचार भइरहेको सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराइएको छ । “पोखरामा अनुमतिबिना कोटिहोम सञ्चालन गर्न लागेपछि त्यसलाई रोक्न आग्रह गर्न गएको नगर प्रहरीमाथि विजय भण्डारी नेतृत्वको हतियारबद्ध मानिसहरूले आक्रमण गरेका हुन्,” फेसबुकमा लेखिएको छ ।

महानगरका प्रवक्ता मोती तिम्सिनाले स्वीकृति नदिइएको ठाउँमा कोटिहोम गर्न सुरक्षा निकायले साथ दिएको बताए । “नेपाल प्रहरी, अरू सुरक्षा निकायले साथ नदिएसम्म यो रोक्न सकिन्न । हामीले अझै पनि आयोजकलाई अर्को ठाउँमा गर्नुहोस् भनिरहेकै छौँ,” उनले भने ।

यता, मानवसेवा फाउन्डेसनका संस्थापक भण्डारी कोटिहोम रोक्न महानगरले षड्यन्त्र गरिरहेको आरोप लगाउँछन् । यो क्षेत्रमा कोटिहोम गर्न १० करोड रुपैयाँ खर्च भइसकेको उनले जिकिर गरे । “हामी महानगरसँग समन्वय, साथ, सहकार्य गर्न अझै तयार छौँ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro