site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रातभरको आक्रमणपछि ट्रम्पले भने– इजरायल–इरान युद्धविराम लागु भयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम लागु भएको बताएका छन् । सामाजिक संजालमा पोष्ट गर्दै उनले भने, “युद्धविराम अब लागु भएको छ । कृपया यसको उल्लंघन नगर्नुहोस् ।”
 
इरानी र इजरायली सञ्चारमाध्यमहरूले पनि दुई राष्ट्रबीच युद्धविराम सुरू भएको रिपोर्ट गरेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रारम्भिक घोषणामा सामाजिक सञ्जालमा उनको पहिलो सन्देश पोष्ट भएपछिको ६ घण्टापछि सुरू हुने बताएका थिए । जसअनुसार अमेरिकी समयअनुसार मध्यरात १२ बजे युद्धविराम सुरु भइसक्नुपर्ने थियो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मध्यरात १२ बजेपछि इजरायली र इरानी मिडियाले युद्धविराम सुरू भएको समाचार हेडलाइनमा राखेका छन् । इरानको सरकारी टेलिभिजनद्वारा सञ्चालित प्रेस टीभीले भन्यो, “इजरायलले कब्जा गरेका क्षेत्रहरूमा इरानको चारवटा आक्रमणपछि युद्धविराम सुरू भएको छ ।”
  
तस्निम समाचार एजेन्सीले आफ्नो टेलिग्राम च्यानलमा युद्धविराम कार्यान्वयनको चरणमा प्रवेश गरेको उल्लेख गरेको छ ।
  
इजरायली समाचार आउटलेटहरू च्यानल १२ र वायनेटले पनि युद्धविराम लागु भएको हेडलाइन राखेको छ ।
 
इरानको सरकारी मिडियाले मंगलबार बिहान युद्धविराम लागु गरिएको घोषणा गरेको थियो । तर, स्पष्ट समय दिएको थिएन । इजरायल सरकारले भने हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
  
इजरायल–इरान युद्धविराम केही समयका लागि कायम रहनसक्छ
इजरायल–इरान युद्धविराम पूर्णरूपमा लागु भएमा यो कम्तीमा छोटो समयका लागि कायम रहनसक्ने सीएनएनका सैन्य विश्लेषक अवकाशप्राप्त वायुसेना कर्नल सेड्रिक लेइटोनले बताएका छन् । उनका अनुसार इजरायलले आफ्ना लक्ष्यहरू हासिल गरेको विश्वास गरेको छ । र, इरानलाई पुनःसंगठित गर्नका लागि केही समय चाहिन्छ ।
  
कर्नल सेड्रिक लेइटोनले इजरायलले आफ्ना धेरै लक्ष्यहरू हासिल गरेको बताउँदै जसमा इरानी आणविक केन्द्रहरूमा आक्रमण र यसको हवाई रक्षा प्रणालीलाई नष्ट गर्नु समावेश छ ।  

यसैबीच, यो युद्धबिरामले इरानलाई पुनःसंगठित गर्न र अर्को कदम के गर्ने भन्ने योजना बनाउन अवसर दिने उनले बताए । “यस अर्थमा यो युद्धविराम कम्तीमा केही समयका लागि कायम रहनसक्ने सम्भावना छ,” लेइटोनले भने । सीएनएन

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्