site stats
बाह्रखरी :: Baahrakhari
विदेश
के चीन वैदेशिक सहायतामा अमेरिकालाई प्रतिस्थापन गर्न सक्षम छ ?

काठमाडौं । अमेरिकी वैदेशिक सहायता अचानक रोकिएपछि विश्वभर बहस एउटा भित्रिएको छ– ‘यो कमी अब कसले पूरा गर्ला ?’

अमेरिकी सरकारले लामो समयदेखि दिँदै आएको आफ्नो वैदेशिक सहायता कटौती गर्दै छ । सँगै धेरैको जिज्ञासा छ, ‘के चीनले त्यो पूर्ति गर्ने दिशामा कदम अगाडि बढाउला ?’

कम्बोडियामा अमेरिकाले सहायता कटौती गरेपछि त्यहाँ चीनले सहयोग गर्न ध्यान केन्द्रित गरिसकेको थियो । कम्बोडिया एउटा यस्तो देश हो, जहाँ अघिल्ला युद्धहरूका बारुदी सुरुङहरू हटाउन धेरै वर्षदेखि अन्तर्राष्ट्रिय सहायता प्रयोग हुँदै आएको छ । यी बारुदी सुरुङका कारण नागरिकहरू मारिने र घाइते हुने गरेका छन् ।

Argakhachi Cement Island Ad

ट्रम्प प्रशासनले विदेशी सहायता कटौती गरेको एक सातापछि कम्बोडियामा बारुदी सुरुङ हटाउन जिम्मेवार समूह कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी)ले उनीहरूलाई चीनले ४४ लाख डलर दिने वाचा गरेको बताएको छ । यो रकम बारुदी सुरुङ हटाउने एक वर्षको कामका लागि दिन लागिएको हो ।

यो अवस्थाले स्पष्ट देखाउँछ, अमेरिका अचानक पछि हटेका ठाउँमा चीन प्रवेश गर्न खोजिरहेको छ । चीनले सहयोगसहित आफ्नो प्रभाव बढाउन सक्छ । यहीमार्फत अफ्रिका, ल्याटिन अमेरिका, एसिया र बाहिरका देशहरूसँगको सम्बन्ध बलियो बनाउन सक्छ । 

अमेरिकाले आफ्नो कोष पुनः सुरु गर्ने विश्वास सीएमएसीका अध्यक्ष हेङ रेटानाको छ । तर, सीएमएसीको भनाइ छ, “अमेरिकाबाट प्राप्त हुने विदेशी सहायतासँग सम्बन्धित नीतिहरूको समीक्षा गरिनेछ ।”

कम्बोडियामा चीनले तुरुन्त दिएको प्रतिक्रिया महत्त्वपूर्ण छ । तर, यसको अर्थ चीनले सबै अमेरिकी वैदेशिक सहायता नीतिहरू आफ्नो नियन्त्रणमा लिने योजना बनाएको भन्ने पनि होइन ।

चीन लामो समयदेखि पश्चिमा पतनको पर्खाइमा छ । यसैबीच, डोनाल्ड ट्रम्पले विदेशी सहायता कटौती गर्ने निर्णयलाई चीन ‘अवसर’मा परिणत गर्न खोज्दै छ ।

चीनको अलग सहायता मोडेल
चीन विश्वव्यापी विकासमा एक परिचित नाम हो । भर्जिनियास्थित विलियम एन्ड मेरी कलेजको अनुसन्धान प्रयोगशाला एड डेटा अनुसार, चीनले सन् २००० देखि २०२१ सम्म विश्वव्यापी विकासमा १.३४ ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ ।

यसको तुलनामा अमेरिकाले २००१ देखि २०२३ सम्म १.२४ ट्रिलियन डलर खर्च गरेको देखिन्छ । यसले चीनलाई विश्व विकासमा सबैभन्दा बढी खर्च गर्ने देशको रूपमा देखाएको छ ।

सन् २०१३ मा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सुरु गरेपछि चीनको सहायता खर्चमा उल्लेखनीय वृद्धि गरेको छ । यो राष्ट्रपति सी सिनफिङको एक प्रमुख विदेश नीति योजना हो, जसको उद्देश्य पूर्वाधार र विकास परियोजनाहरूमा लगानी गरी चीनलाई अन्य देशहरूसँग जोड्नु हो ।

सन् २०१८ मा चीनले आधिकारिकरूपमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) स्थापना गरेर आफ्नो सहायतालाई नयाँ शैलीमा सुरु गरेको थियो । यो अमेरिकाको यूएसएआईडीको चिनियाँ संस्करण हो, जसले विदेशी सहायता व्यवस्थापन गर्न मद्दत गर्छ । तर, चीनको सहायता मोडेल अमेरिकाको भन्दा धेरै भिन्न छ ।

एड डेटाका अनुसार, सन् २०१२ देखि २०२१ सम्म अमेरिकी सहायताको लगभग ८० प्रतिशत अनुदानको रूपमा दिइएको थियो, जुन रकम प्राप्त गर्ने देशहरूले फिर्ता गर्नुपरेन । 

अर्कोतर्फ, सोही अवधिमा चीनले उपलब्ध गरेको सहयोगको केवल ३ प्रतिशतमात्र अनुदान थियो । बाँकी ९७ प्रतिशत सहायता ऋण छ, जुन प्राप्तकर्ता देशले फिर्ता गर्नुपर्छ । 

चीनले प्रायः लोन (ऋण) वा एक्सपोर्ट लोन (निर्यात ऋण) दिन्छ, जसका कारण चीन विकासशील देशहरूमाँझ सबैभन्दा ठूलो ऋणदाता बनेको छ ।

अमेरिकाले स्वास्थ्य र मानवीय राहतमा ठूलो ध्यान केन्द्रित गर्दै आएको थियो । यसविपरीत चीनले ठूलास्तरका पूर्वाधार, ऊर्जा र खानी परियोजनामा प्राथमिकता दिएको छ ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) यस दृष्टिकोणको एक उत्कृष्ट उदाहरण हो । जसले सिधै पैसा दिनुको सट्टा पूर्वाधार विकासमा लगानी गरी देशहरूको अर्थतन्त्र बढाउन मद्दत गर्छ ।

चीनले यस दृष्टिकोणलाई ग्लोबल साउथसँगको सहकार्य भन्छ । जसको उद्देश्य त्यहाँका देशहरूबीच स्रोत र ज्ञान बाँडफाँट गर्नु हो । चीनले आफ्नो सहायता मोडेलमा आफूलाई पश्चिमा देशहरूबाट अलग राख्दै आएको छ । यसैकारण पश्चिमा देशहरूले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न वैदेशिक सहायता प्रयोग गरेको आरोप लगाउँछ, चीन ।

आलोचकहरूको तर्क छ– चीनको सहायताले प्रायः मानव अधिकारका मुद्दाहरू बेवास्ता गर्छ । जबकि, अमेरिकाले कुनै देशलाई सहयोग गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा देशको मानव अधिकार रेकर्डलाई महत्त्वपूर्ण कारकको रूपमा लिन्छ ।

उदाहरणका लागि युक्रेनमा आक्रमण गरेकामा पश्चिमा देशहरूले दण्डस्वरूप रुसलाई प्रतिबन्ध लगाइरहेका छन्, तर विकासका लागि उसले अझै पनि चीनबाट धेरै पैसा पाइरहेको छ ।

त्यसैगरी, श्रीलंकाको हिंसात्मक गृहयुद्धको समयमा अमेरिकाले सहायता बन्द गरेको थियो । तर, चीनले त्यहाँ आफ्नो लगानी जारी राख्यो ।

के चीन अमेरिकालाई प्रतिस्थापन गर्न तयार छ ?
धेरै विज्ञहरू विश्वास गर्छन्, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को भूमिकालाई पूर्णरूपमा प्रतिस्थापन गर्न चीन सक्षम हुने छैन ।

“चीनले उही विधिहरू प्रयोग गरेर पश्चिमा देशहरूलाई प्रतिस्थापन गर्न सक्षम हुने छैन । यो विषयमा चिनियाँ र पश्चिमी सरकारहरूको विचार र दृष्टिकोण धेरै फरक छ,” एड डाटाकी नीति विश्लेषण निर्देशक सामन्था कस्टरको भनाइ छ ।

यसबाहेक ‘लजिस्टिक्स’ अर्को ठूलो चुनौती हो । अमेरिकाले सहायता प्रवाह निम्ति विशाल सञ्जाल निर्माण गर्न दशकौँ बिताएको छ । विश्वभरका गैरसरकारी संस्था, सरकार र स्थानीय समुदायसँग काम गरेको छ ।

चीनसँग यस्तो पूर्वाधारको अभाव छ । “यस्तो सञ्जाल निर्माण गर्न बर्सौं वा दशक लाग्छ,” स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका डा. जिंगडोङ युआनले भने ।

अर्को चुनौती पनि छ, त्यो हो, ‘पैसा ।’ सन् २०१६ मा चीनले आफ्नो बलियो अर्थतन्त्रका कारण सहायतामा ठूलो रकम खर्च गरेको थियो । उक्त वर्ष चीनको यस्तो खर्च १२५ अर्ब डलर पुगेको थियो । 

तर, त्यसबेलादेखि चीनको सहायता खर्च घटेको छ र सन् २०२१ मा २००८ को स्तरमा फर्किएको छ । यो आंशिकरूपमा चीनको अर्थतन्त्रमा आएको मन्दीको कारणले हो ।

घरेलु आर्थिक संकटका कारण चीनका धेरै मानिसहरू कठिन समयबाट गुज्रिरहेको बेला अन्य देशहरूलाई मद्दत गर्न किन बढी खर्च गर्नुपर्‍यो भनेर आफ्ना जनतालाई बुझाउन चीनलाई गाह्रो हुन सक्छ । “यतिखेर यस किसिमका खर्च गर्न घरेलु कुनै दबाब छैन,” जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक डेबोरा ब्राउटिगमले भनिन् ।

विश्वव्यापी सहायतामा चीन र अमेरिकाको संलग्नता सजिलो अवस्थामा छैन, जहाँ एउटाले फिर्ता लिँदा अर्कोले तुरुन्तै आफ्नो समर्थन बढाउँछ । हालैका घटनाहरूले के देखाउँछ भने चीनले निकट भविष्यमा आफ्नो मानवीय सहयोग धेरै बढाउने छैन ।

भ्रष्टाचारजन्य गतिविधिका कारण सन् २०२३ मा यूएसएआईडीले इथियोपियालाई खाद्य सहायता प्रदान गर्न बन्द गरेको थियो । उक्त समय चीनले इथियोपियामा आफ्नो खाद्य सहायता बढाएन । तर, पूर्वाधार परियोजनाहरूमार्फत इथियोपियासँग चीनको मजबुत सम्बन्ध राख्यो ।

“कदम अगाडि बढाउन चीनले धेरै अवसरहरू पाएको छ । तर, यो प्रायः भाषणमा मात्र सीमित छ । जब जमिनमा परियोजनाहरूको कुरा आउँछ, चीनले वास्तवमा कहिल्यै कुनै ठूलो कदम चालेको छैन,” लेइडेन विश्वविद्यालयका सहप्राध्यापक साल्भाडोर सान्टिनो रिगिलले भने ।

चीनको रणनीति के हो ?
यूएसएआईडीले छाडेको मानवीय सहायताको शून्यता भर्न चीनले नसके पनि दीर्घकालीन रणनीतिहरूमार्फत विश्वभर आफ्नो प्रभाव विस्तार गर्न भने जारी राखेको छ ।

यूएसएआईडीले चीनको बढ्दो प्रभाव पहिचान गरेको थियो । चिनियाँ प्रभावको प्रतिरोधमा ध्यान केन्द्रित गर्न एक विशेष टोली गठन गरेको थियो ।

यसैकारण यूएसएआईडीका पूर्ववरिष्ठ सल्लाहकार फ्रान्सिस्को बेन्कोस्मेले सहायता कटौती गर्दा दीर्घकालीन परिणाम हुन सक्ने चेतावनी दिएका थिए । 

यूएसएआईडीमार्फत प्रवाहित सहायता रोकिँदा यसले सम्पूर्ण प्रणालीमा बाधा पुर्‍याएको बुझाइ बेन्कोस्मेको छ । चीनले नेपाल र कम्बोडियाजस्ता साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न सुरु गरिसकेको उनको भनाइ छ । “यो कुनै बत्तीको स्विच होइन, जुन तपाईं अन र अफ गर्न सक्नुहुन्छ,” उनले भने ।

उनको चिन्ता अमेरिकाभर महसुस भइरहेको छ । विश्वभरका धेरै मानिसहरू निर्भर रहेका महत्त्वपूर्ण सहायता अचानक रोकिँदा चीनलाई फाइदा भइरहेको विज्ञहरूको धारणा छ । 

यसले चीनलाई आफ्नो ‘चीन कुनै ऐरे गैरे साझेदार नभई विश्वको मनपर्ने साझेदार हो’ भन्ने भनाइलाई अझ बढी मजबुत बनाउने अवसर प्रदान गरेको छ । 

“चीनले पहिले नै केही नगरी यसको फाइदा उठाएको छ । केही नगरी चीन आफ्नो सकारात्मक छवि बनाउन सफल भएको छ । यो केवल अमेरिकाको विश्वसनीयतामाथि प्रश्न उठाएर निर्माण भएको हो,” एडडेटाकी सामन्थाले भनिन् ।

विगत २० वर्षमा पूर्वाधार निर्माणमा चीनको ठूलो लगानीले ग्लोबल साउथका धेरै देशहरूको मन जितेको छ । चीनले आफूलाई कुनै पनि साझेदार देशको निर्णयमा हस्तक्षेप नगर्ने साझेदारको रूपमा प्रस्तुत गरेको छ । यससँगै चीनले धेरै देशहरूलाई आफ्नो विकास मोडेल सफलतापूर्वक बेचेको छ ।

चीनले अफ्रिकामा रंगशालाहरू र ल्याटिन अमेरिकाका प्रमुख बन्दरगाहहरू द्रुत गतिमा निर्माण गरेको छ । यस्ता कार्यमार्फत चीनले प्रमुख विकास परियोजनाहरूका लागि आफूलाई एक महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्न खोजेको छ ।

चीनले अन्य देशहरूलाई आर्थिक सहायता प्रदान गर्दा एउटा महत्त्वपूर्ण सर्त राख्छ । त्यो हो– ‘एक चीन नीति ।’ सहायता लिने देशले चीनको ‘एक चीन’ नीतिलाई समर्थन गर्नुपर्छ, जसको अर्थ ताइवानमाथि चीनको दाबीलाई मान्यता दिनु हो ।

हालै गरिएको एक सर्वेक्षण अनुसार, ७० देशले चीनको यो नीतिलाई समर्थन गरेका छन् । यीमध्ये धेरैजसो देशहरू ग्लोबल साउथमा पर्छन् ।

चीनको आर्थिक सहयोगले यी देशहरूको गठबन्धन परिवर्तन गर्न भूमिका खेलेको विश्वास विज्ञहरूको छ, जसले गर्दा उनीहरूले आफ्नो समर्थन ताइवानबाट चीनतिर सारेका छन् ।

प्रोफेसर ब्रुतिगम भन्छन्, “चिनियाँ नेताहरूले लामो समयदेखि चाहेको बहुध्रुवीय संसार अब वास्तविकता बन्दै छ र ट्रम्प प्रशासनले यस प्रक्रियालाई अझ तीव्र बनाइरहेको छ ।”

यूएसएआईडी सहायता निलम्बनपछि चीन विश्वको अग्रणी सहायता राष्ट्रको रूपमा अमेरिकालाई प्रतिस्थापन गर्न गम्भीरतापूर्वक विचार गर्न धेरै वर्ष लाग्न सक्छ । आफ्नो स्थिर र दीर्घकालीन रणनीतिले चीनलाई केही फाइदा लिन भने मद्दत गरिरहेको छ । (बीबीसीबाट भावानुवाद)

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्