
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर बढाउने निर्णयको जवाफ दिँदै चीनले अमेरिकालाई ‘कुनै पनि प्रकारको युद्ध’का लागि तयार रहेको चेतावनी दिएको छ ।
ट्रम्पले सबै चिनियाँ सामानमा कर बढाएका छन्, यसले विश्वका दुई शीर्ष अर्थतन्त्रहरूबीच ‘व्यापार युद्ध’को जोखिम बढेको छ ।
चीनले जवाफस्वरुप अमेरिकी कृषि उत्पादनमा १०–१५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकास्थित चिनियाँ दूतावासले मंगलबार सामाजिक सञ्जालमा एक पोस्टमा लेखेको छ, “चाहे त्यो करको युद्ध होस् वा व्यापार युद्ध होस् या अन्य कुनै युद्ध । यदि, अमेरिका युद्ध चाहन्छ भने हामी यसको अन्त्यसम्म लड्न तयार छौँ ।”
ट्रम्प राष्ट्रपति बनेपछि चीनको तर्फबाट आएको यो सबैभन्दा कडा वक्तव्य हो । यो त्यस्तो समयमा आएको छ, जब चिनियाँ नेताहरू राष्ट्रिय जनकांग्रेसको वार्षिक सत्रका लागि बेइजिङमा भेला भएका छन् ।
चीनको चेतावनी
चिनियाँ प्रधानमन्त्री ली केकियाङले बुधबार चीनले यसवर्ष आफ्नो रक्षा खर्च ७.२ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका थिए । उनले भने, “विश्वभर तीव्र गतिमा यस्ता परिवर्तनहरू भइरहेका छन्, जो एक शताब्दीमा कहिल्यै देखिएको थिएन ।”
यद्यपि, रक्षा बजेटमा भएको यो वृद्धि अपेक्षाकृत छ र गत वर्षको घोषणासँग मेल खान्छ ।
बेइजिङका नेताहरू चिनियाँ जनतालाई अमेरिकासँग व्यापार युद्धको खतरा बाबजुद पनि देशको अर्थतन्त्र बढ्नसक्छ भन्ने सन्देश पठाउन खोजिरहेका छन् । यसमा उनीहरू विश्वस्त छन् ।
अमेरिकाको तुलनामा आफ्नो छवि स्थिर र शान्तिपूर्ण देशको रूपमा प्रस्तुत गर्न चीन चाहिरहेको छ ।
बीबीसी संवाददाता लौरा बिकरका अनुसार, चीनले ट्रम्पको निर्णयसँगै क्यानडा र मेक्सिको जस्ता अमेरिकी सहयोगीहरूमा पर्नसक्ने प्रभावलाई आफ्नो फाइदामा परिणत गर्ने आशा गर्न सक्छ । तर, चीन आफ्ना वक्तव्यवाजीलाई एक हदभन्दा बढाउन चाहँदैन । किन भने ऊ आफ्ना सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन ।
चीनले पहिले पनि युद्धका लागि तयार रहेको बताइसकेको छ । गतवर्ष अक्टोबरमा राष्ट्रपति सी चिनफिङले ताइवान वरिपरि सैन्य अभ्यासको क्रममा सेनालाई युद्धका लागि तयार रहन आग्रह गरेका थिए ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले एक दिनअघि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उदृत गर्दै अमेरिकाले फेन्टानिल औषधि तस्करीका लागि चीनलाई अनावश्यक रूपमा दोषारोपण गरिरहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “चिनियाँ उत्पादनहरूको आयातमा अमेरिकी शुल्क बढाउन फेन्टानिल मुद्दा एउटा कमजोर बहाना हो ।”
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, “हामी धम्कीबाट डराउने छैनौँ । धम्कीले हामीमा कुनै प्रभाव पार्दैन । दबाब, जबरजस्ती वा धम्की चीनसँग व्यवाहार गर्ने सही तरिका होइन ।”
अमेरिकी जवाफ
चीनको कडा प्रतिक्रियाबारे अमेरिकी रक्षामन्त्री पिट हेगसेटले फक्स न्यूजको कार्यक्रममा भने, “हामी तयार छौँ । शान्ति चाहनेहरूले युद्धका लागि पनि तयार हुनुपर्छ ।”
यसैकारण अमेरिकाले आफ्नो सेनालाई बलियो बनाइरहेको र प्रतिरोध क्षमता पुनस्र्थापित गरिरहेको उनको भनाइ छ ।
“हामी एउटा खतरनाक संसारमा बाँचिरहेका छौँ, जहाँ धेरै फरक विचारधारा भएका शक्तिशाली र अगाडि बढिरहेका देशहरू छन्,” अमेरिकी रक्षामन्त्री हेगसेटले भनेका छन्, “तिनीहरू द्रूत गतिमा आफ्नो रक्षा खर्च बढाउँदैछन् । आफ्नो प्रविधि अपग्रेड गर्दैछन् । तिनीहरू अमेरिकालाई प्रतिस्थापन गर्न चाहन्छन् ।”
हेगसेटका अनुसार सैन्य शक्ति कायम राख्नु तनावबाट बच्ने मुख्य तरिका हो । उनी थप्छन्, “यदि, हामी चीन वा अन्य देशहरूसँग युद्ध रोक्न चाहन्छौँ भने हामी शक्तिशाली हुनुपर्छ । यसले शान्ति ल्याउनेछ ।”
उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राम्रो सम्बन्ध रहेको भन्दै चीनसँग युद्ध नचाहेको बताएका छन् ।
रक्षामन्त्रीको हैसियतमा आफूले अमेरिका तयार रहेको बताउनुपर्ने बताएका छन् । रक्षा खर्च, क्षमता, हतियार र स्थिति कायम राख्नुपर्ने उनले प्रष्ट पारेका छन् ।
अमेरिका–चीन सम्बन्ध
अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयको सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यलाई ठूलो मात्रामा सेयर गरिएको छ । बेइजिङ विदेश र आर्थिक मामिलामा वाशिङ्टनको सबैभन्दा ठूलो खतरा हो भनी ट्रम्पको मन्त्रिपरिषद्मा रहेका चीन विरोधी व्यक्तिहरूले यसलाई प्रमाणको रुपमा पेस गर्न सक्ने बताइएको छ ।
चिनियाँ अधिकारीहरूले ट्रम्पको शासनकालमा अमेरिका–चीन सम्बन्ध सुधार हुने आशा गरेका थिए । ट्रम्पले आफ्नो शपथग्रहण समारोहमा सी चिनफिङलाई निम्तो पनि पठाएका थिए । डोनाल्ड ट्रम्पले दुई नेताबीच फोनमा ‘राम्रो कुराकानी’ भएको पनि बताएका थिए ।
सी चिनफिङले घरेलुस्तरमा घट्दो उपभोग, सम्पत्ति संकट र बेरोजगारी जस्ता चुनौती सामना गरिरहेका छन् ।
रक्षा बजेट
चीनको रक्षा बजेट २४५ अर्ब डलर छ, जुन विश्वको दोस्रो ठूलो रक्षा बजेट हो । तर, यो अमेरिकाको भन्दा सानो छ ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, बेइजिङले आफ्नो जीडीपीको १.६ प्रतिशत सेनामा खर्च गर्छ, जुन अमेरिका र रुसको तुलनामा धेरै कम हो ।
विश्लेषकहरू चीनले सार्वजनिक गरेको रक्षा बजेटमा विश्वास गर्दैनन् । चीनले जति खर्च गर्छ त्योभन्दा कम आँकडा बाहिर देखाइरहेको उनीहरूको दाबी छ । चीनको रक्षा बजेट अझै पनि अमेरिकाको भन्दा धेरै सानो छ ।
अमेरिकाले हरेक वर्ष आफ्नो रक्षा बजेटमा ८०० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्छ । चीनको रक्षा बजेट अमेरिकी रक्षा बजेटको एक तिहाइ हो ।
अमेरिकाको रक्षा बजेट ८८६ अर्ब डलर छ र यसले आफ्नो जीडीपीको ३ प्रतिशत यसमा खर्च गर्छ । तर, अमेरिकापछि चीन विश्वमा सेनामा सबैभन्दा धेरै खर्च गर्ने देश हो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, चीनले २०५० सम्ममा विश्वस्तरीय सेना बन्ने लक्ष्य राखेको छ । पछिल्लो समयमा चीनले आफ्नो सेनाको आधुनिकीकरणमा बढी जोड दिएको छ ।
अमेरिकाले सन् २०२३ मा चीनको आणविक हतियारको आधुनिकीकरणलाई लिएर चेतावनी दिएको थियो । त्यसपछि अमेरिकाले अनुमान गरेको थियो, चीनसँग ५०० भन्दा बढी आणविक हतियारहरू छन् । यी आणविक हतियारमध्ये ३५० वटा अन्तर्राष्ट्रिय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) भएको अमेरिकी अनुमान छ ।
अमेरिकी प्रतिवेदनमा २०३० सम्ममा चीनसँग एक हजारवटा आणविक हतियार हुने उल्लेख छ । अमेरिका र रुसले आफूहरूसँग पाँच हजारभन्दा बढी आणविक हतियार भएको दाबी गर्छन् । चीनको ‘सैन्य रकेट फोर्स’बारे पनि विवाद छ । यो युनिटले आफैँ आणविक हतियारहरू ह्यान्डल गर्छ ।
अमेरिकी सेनाको शक्ति
ग्लोबल फायर पावरका अनुसार, २०२५ को सैन्य शक्तिको वरीयतामा अमेरिका पहिलो स्थानमा छ ।
अमेरिकासँग कुल १३ हजार ४३ विमान छन्, जसमा १७९० वटा लडाकु विमान, ८८९ वटा अट्याक टाइप, ९१८ वटा ट्रान्सपोर्ट टाइप, दुई हजार ६४७ वटा ट्रेनर, ६०५ वटा ट्यांकर फ्लीट र पाँच हजार ८४३ हेलिकोप्टर छन् ।
अमेरिकी नौसेनामा ११ विमानवाहक पोत, नौ हेलिकोप्टरवाहक, ८१ डिस्ट्रोयर र ७० पनडुब्बीहरू छन् । अमेरिकी नौसेनाको कुल क्षमता लगभग ४१ लाख टन छ ।
अमेरिकी वायुसेनाको संख्या सात लाख एक हजार ३१९ र सेनाको संख्या लगभग १४ लाख छ । अमेरिकी नौसेनाको संख्या ६ लाख ६७ हजार छ ।
चीनको सैन्य शक्ति
ग्लोबल फायर पावरका अनुसार २०२५ को सैन्य शक्तिको वरीयतामा चीन तेस्रो स्थानमा छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)को संख्या २५ लाख ४५ हजार छ । चिनियाँ नौसेनाको तीन लाख ८० हजार छ । वायुसेनाका संख्या लगभग चार लाख छन् ।
पीएलएसको वायुसेनासँग एक हजार २१२ लडाकु विमान, ३७१ अट्याक टाइप, २८९ ट्रम्पस्पोर्ट टाइप, ४०२ ट्रेनर, १० ट्यांक् फ्लीट र ९१३ वटा हेलिकोप्टरसहित कुल तीन हजार ३०९ वटा विमानहरू छन् ।
हालैका वर्षहरूमा चीनले आफ्नो नौ सेनाको विस्तार र आधुनिकीकरणमा धेरै ध्यान दिएको छ । हाल पीएलए नौसेनासँग तीनवटा विमानवाहक पोत, चार हेलिकोप्टरवाहक, ५० डिस्ट्रोयर, ४७ फ्रिगेट्स, ७२ कार्भेट्स र ६१ पनडुब्बीहरू छन् । पीएलए नौसेनाको कुल क्षमता २८.६ लाख टन छ ।
(बीबीसीबाट भावानुवाद)