जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुर निलम्बनमा परेका छन् ।
विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिस्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा. महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताए ।
प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाएको प्रतिवेदनका आधारमा दुवैजना अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ ।
मंगलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।रासस