
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपराह्न करिब ४ बजे स्पेनको सहर सेभिया पुग्दै छन् । सेभियामा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी शनिबार स्पेनतर्फ प्रस्थान गरेका थिए ।
सेभियामा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेता तथा समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो सान्जेजसँग भेटवार्ता गर्नेछन् । ओली र सान्चेजको भेटवार्तापछि दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय बैठक बस्नेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार, आइतबार नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुनेछन् । त्यहीँ उनको भेट स्पेनका नरेशसँग हुनेछ ।
असार १६ गते (सोमबार) दिउँसो १ बजे प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
सोमबार अपराह्न प्रधानमन्त्री ओलीले तीनवटा द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । उक्त समयमा प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय बैठक बस्नेछ ।
त्यसपछि प्रधानमन्त्री ओली पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । सोमबार अपराह्न नै प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघ महासचिव अन्तोनियो गुटरेसबीच भेटवार्ता गर्ने कार्यक्रम छ ।