
काठमाडौं । सरकारले सबै सरकारी निकायका वेबसाइटलाई एउटै डिजाइनमा बनाउने काम अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार सबै वेबसाइट एउटै डिजाइनमा एकै ठाउँबाट व्यवस्थापन गर्न लागिएको हो ।
यसका लागि मन्त्रालयले पहिले नै सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ बनाएको थियो । सोहीअनुसार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली बनाएको छ ।
‘एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोगमा ल्याउने’ भनेर गत असोज ७ गते नै सचिव बैठकले निर्णय गरेको थियो । बैठकले ६ महिनाभित्र यो काम गरिसक्न भनेको थियो ।
सोहीअनुसार एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)मा रहेका वेबसाइट विभागमा सार्न केन्द्रले पत्राचार गरेको छ ।
केन्द्रले सञ्चालनमा राखेको सी–प्यानल वेब होस्ट म्यानेजरको लाइसेन्सको अवधि २०८२ को असार मसान्तसम्म मात्रै छ ।
त्यसअघि नै केन्द्रबाट व्यवस्थापन भइरहेका सबै सरकारी वेबसाइट विभागको सेन्ट्रलाइज्ड वेब पोर्टल (जीआईडब्ल्यूएमएस)मा स्थानान्तरण गर्न सम्पूर्ण सरकारी निकायलाई केन्द्रले पत्राचार गरेको हो ।
आईडीएमसीका सूचना अधिकारी अशोक रानाले केन्द्रबाट व्यवस्थापन भइरहेका वेबसाइट अब विभागबाटै व्यवस्थापन हुने बताए । “सर्भर यहाँ डाटा सेन्टरमै रहन्छ, वेबसाइटको व्यवस्थापन विभागबाट हुने भएको हो । करिब चार हजार वेबसाइट छन् विस्तारै विभागमा सारिँदै छन्,” केन्द्रका सूचना अधिकारी रानाले भने ।
सूचना प्रविधि विभागका निर्देशक लोकराज शर्माले मन्त्रालयको निर्देशिकाअनुसार एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीबाट सबै निकायका वेबसाइट सञ्चालन हुने बताएका छन् ।
“छुट्टाछुट्टै किसिमले वेबसाइट बनाउँदा एसएसल बढी चाहिने, फरक–फरक डिजाइन हुन र व्यवस्थापनमा कठिनाइ हुने हुन्छ,” विभागका निर्देशक शर्माले भने ।
सरकारको निर्णयअनुसार बनेको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीबाट सबै निकायले एउटै डिजाइनमा सहजै वेबसाइट बनाउनसक्ने र एकै ठाउँबाट एउटै एसएसएल सर्टिफिकेटले काम गर्ने उनको भनाइ छ ।
“एउटै ठाउँबाट वेबसाइट व्यवस्थापन हुँदा सजिलो हुन्छ यो सरकारले नै गरेको निर्णय हो । हाम्रो सिस्टमबाट हरेक निकायले ड्र्याग एन्ड ड्रप गरेर चाहिएअनुसार वेबसाइट बनाउन सक्छन्, युजरलाई निश्चित पहुँच दिन सक्छन्,” उनले भने ।
विभिन्न सरकारी निकायका वेबसाइटहरू बेलाबेला डाउन हुने गर्छन् । एकै ठाउँबाट एउटै डिजाइनमा आधारित भएर राम्रो तरिकाले व्यवस्थापन भएमा यो समस्या नआउन सक्छ ।
सरकारी निकायहरूले एकीकृत डाटा व्यवस्थापन केन्द्र वा अन्त आफैँले व्यवस्थापन गरिरहेका वेबसाइट बिस्तारै विभागमा स्थानान्तरण भएको निर्देशक शर्माले बताएका छन् ।