
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले सरकारले अध्यादेश ल्याउन कांग्रेससँग छलफल गरे पनि संसद्मा लैजाँदा पार्टीहरूबाट असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन ०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी पनि गरे ।
उनले पछिल्लो समय कांग्रेस चलायमान बनिरहेको पनि बताए । अहिलेको अवस्थामा ५५ विभाग निर्माण गरेर ७७ वटै जिल्लामा निरन्तररूपमा कार्यक्रम भइरहेको उनको भनाइ छ ।
कांग्रेसको महाधिवेशनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा विश्वकर्माले तोकिएको समयमै महाधिवेश हुने बताए । अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरू अब नहुने उनको दाबी छ ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीसहित अन्य वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरीमात्रै भएको बताए ।