site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलाको पहिरनमा हिँड्थे धोबीखोलामा मृत भेटिएका राई, यसरी खुल्यो रहस्य

काठमाडौं । बिहीबार चाबहिल धोबीखोला करिडोरको शौचालयभित्र एउटा शंकास्पद शव फेला पर्‍यो ।  महिलाको पहिरन लगाएको व्यक्तिको शव फेला परेपछि प्रहरीलाई लागेको थियो–कुनै महिलाको हत्या गरेर शव फालिएको होला ।

तर, प्रहरीले शवको मुचुल्का गर्दा भने महिला नभइ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति रहेको अनुमान गर्‍यो । प्रहरीले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठायो ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको जस्तो देखिए पछि प्रहरीले अनुसन्धान भने सुरु गरिसकेको थियो ।  प्रहरीले घटनास्थलको सीसीटीभी फुटेजका आधारमा शंकास्पद व्यक्तिमाथि सोधपुछ तीब्र पार्‍यो ।  प्रहरीले मृतक ओखलढुंगाका ५० वर्षीय अडवीर राई रहेको पहिचान खुलायो ।

उनले प्रयोग गर्ने मोबाइल नम्बरसमेत पत्ता लगायो । प्रहरीले राईको हत्याबारे अनुसन्धान गर्न अन्य यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिलाई सोधपुछ समेत गरेको थियो । शुक्रबार भने जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले राईको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङका युवा विराट ठकुरी छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।  उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार ठकुरी चक्रपथ रुट चल्ने सार्वजनिक बसका सहचालक हुन् ।

उनी लामो समयदेखि बसको सहचालकको रुपमा काम गर्दैै आएको खुलेको छ । राईको हत्या आफैँले गरेर शौचालय भित्र फालेको बयान प्रहरीलाई दिएका थिए ।

...अनि खुल्यो मृतक पुरुष भएको रहस्य

प्रहरीले मृतक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको रहेको अनुमान गरेका राईको मोबाइल नम्बरको आधारमासमेत अनुसन्धान गरेको थियो ।  सोही आधारमा उनको नम्बरसित धेरैपल्ट सम्पर्क देखिएका नम्बरहरुको आधारमा प्रहरीले सोधपुछ गर्‍यो ।

जसमध्ये एकजना युवाले त प्रहरीले मृतकको भनेर पत्ता लगाएको नम्बर नै आफ्नो बुबाको रहेको जानकारी दिए ।  ती युवा ओखलढुंगा नै थिए । प्रहरीले आशंका गरिएका मृतक पुरुष नै रहेको खुलेपछि प्रहरी नै चकित परेको छ ।

मृतक आफ्नो बुबा भनेर जानकारी गराउने युवालाई ओखलढुंगाबाट काठमाडौं बोलाएको छ । ती युवाले मृतक राई आफ्नै बुबा रहेको प्रमाणित गर्ने अन्य कागजात समेत देखाएपछि प्रहरीले उनकै जाहेरीका आधामा पक्राउ परेका ठकुरीमाथिको अनुसन्धान अघि बढेको जनाएको छ ।

मृतक राई केहीसमेत अघिमात्रै ओखलढुंगा पुगेर फर्किएको समेत खुलेको छ ।  प्रहरीको अनुसन्धानका क्रममा राईका तीनजना सन्तान र श्रीमतीसमेत ओखलढुंगामै रहेको खुलाएको छ ।  तर, राई आफूभने काठमाडौं आउँदा महिलाको लुगा लगाउने र फरक पहिचान भएका समूदायकाहरुसँगै बस्ने र हिँड्ने गरेको खुलेको हो ।

अनुुसन्धानमा खटिएका एक अधिकारीका अनुसार मृतक राई फरक पहिचानको देखिएर राति राति अवैध धन्दाका लागि हिँड्ने गरेकोसमेत अनुसन्धानमा खुलेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

ती अधिकारी भन्छन्,‘‘ मृतक राईको बारेमा अन्य यौनिक तथा लैंगिक अल्पंसख्यक समुदायका व्यक्तिसित सोधपुछ गर्दा उनी विभिन्न आर्थिक लाभका लागि त्यसरी हिँड्ने गरेको बुझिएको छ ।”

प्रहरी अनुसन्धानका क्रममा शिवरात्रिको राति करिब ११ बजे हत्या भएको देखिएको छ । उनले शिवरात्रीको दिन बसका सहचालक ठकुरीलाई गाँजा बिक्री गरेको र बिक्री गरिएको गाँजा बराबरको रकमबारे विवाद हुँदा टाउकोमा ढुंगाले प्रहार गरेर हत्या गरेको खुलेको हो ।

पक्राउ परेका ठकुरीले प्रहरीलाई बयानमा भनेका छन्,‘‘मैले पाँचसय रुपैयाँको गाँजा किनेको थिएँ । तर, उनले पाँच हजार रुपैयाँ माग्दै मेरो पछि पछि आएर मेरो गाडी फुटाल्ने भन्दै अन्य व्याक्तिलाई ल्याउन खोजेपछि ढुंगाले प्रहार गरेको हुँ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro