
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षमा पुगेको छ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले सरकारप्रति जनताको निराशा बढेको बताए ।
“सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी नारामा मात्र सीमित रहेको देखिन्छ । सरकारप्रति जनतामा नैराश्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,” उनले प्रतिवेदनमा भनेका छन् ।
यादवले सरकार असफल र असक्षम सावित भइसकेको पनि बताएका छन् । “संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाइएको छ ।
सरकारले पूर्वाग्रही ढंगले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण काम गरिरहेको यावदको आरोप छ ।
“केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरू दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो । भविष्यमा ठूला दलहरू मात्र हुने, साना दलहरूलाई समाप्त पार्ने नीति लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत मात्र नभई संविधानमा उल्लेखित बहुदलीय शासन प्रणालीको पनि विपरीत रहेको छ,” प्रतिवेदनमा भनिएको छ ।
जसपा नेपालले ओली सरकारलाई समर्थन दिएको थियो । तर, अध्यादेशका कारण समर्थन फिर्ता लिने तयारीमा पुग्न लागेको नेताहरू बताउँछन् ।
हेर्नुहोस् पूर्णपाठ