
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबारको वार्ता चर्को विवादमा टुंगियो ।
खनिज सम्झौताका लागि जेलेन्स्की अमेरिकाको ओभल अफिस पुगेका थिए । ट्रम्पले जेलेन्स्कीमाथि लाखौँ मानिसको जीवनसँग खेलबाड गरेको आरोप लगाउँदै उनले शान्ति नचाहेको बताए । जेलेन्स्कीले तेस्रो विश्वयुद्धको जोखिम निम्त्याएको ट्रम्पको आरोप थियो ।
युक्रेनले रुससँग युद्ध जित्न नसक्ने स्पष्ट पार्दै ट्रम्पले सम्भावित युद्धविरामका लागि युक्रेन अलिकति झुक्नुपर्ने बताएका थिए । दुईबीचको वाक्युद्ध यति बढ्यो कि ओभल अफिसको अपमान गरेको भन्दै जेलेन्स्कीलाई चर्को स्वरमा नबोल्न भनियो । जेलेन्स्कीले यस्तै रवैया कायम राखे भने (युद्धविराम सम्झौता) गर्न गाह्रो हुने ट्रम्पको चेतावनी थियो ।
डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको बहसबाट रुस निकै खुसी देखिएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ‘ह्वाइट हाउसमा भएको यो नाराबाजीको खेलमा धन्न ट्रम्पले जेलेन्स्कीमाथि हात उठाएनन्’ भन्दै प्रतिक्रिया दिएको ‘मस्को टाइम्स’ले उल्लेख गरेको छ । जेलेन्स्कीका लागि अपमानजनक भाषा प्रयोग गर्दै उनले ट्रम्प र भान्सले धैर्यताको जादू देखाएर आफूलाई संयम राखेको बताइन् ।
पूर्वरुसी राष्ट्रपति र पुटिनका सहयोगी दिमित्री मेदवेदेवले पनि जेलेन्स्कीका लागि अपमानजनक शब्द प्रयोग गरे । मेदभेदेव हाल रुसको सुरक्षा परिषद्का उपप्रमुख छन्। १८ फेब्रुअरीमा साउदी अरबमा रुस र अमेरिकाबीच भएको वार्तामा उनी प्रमुख वार्ताकार थिए।
रुसको प्रमुख मिडिया संगठन आरटीले धेरै विदेशी मामिलाका विशेषज्ञहरूलाई उद्धृत गर्दै युक्रेनमा जेलेन्स्कीको शासनको काउन्टडाउन सुरु भएको उल्लेख गरेको छ । बीबीसी