
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलको आक्रमण रोकिएमा इरान कूटनीतिक प्रक्रियामा सहभागी हुनेबारे विचार गर्न तयार रहेको बताएका छन् ।
विदेशमन्त्री अराघचीले जेनेभामा बेलायत, जर्मनी, फ्रान्स र युरोपेली युनियन (ईयू)का प्रतिनिधिहरूसँगको भेटपछि यस्तो बताएको बीबीसीले जनाएको छ ।
उनले आत्मरक्षाको वैध अधिकार प्रयोग गर्न इरान प्रतिबद्ध रहेको पनि बताएका छनु ।
अराघचीले तीन युरोपेली देश र ईयूसँगको वार्तालाई निरन्तरता दिन इरान इच्छुक रहेको बताए । उनले आगामी दिनमा अर्को बैठक गर्न आफूहरू तयार रहेको जनाए ।
यद्यपि, इजरायलको आक्रमणको निन्दा नगरेकोमा उनले ईयूको आलोचना गरे । इरानी सञ्चारमाध्यमका अनुसार अराघचीले इजरायलले आफ्नो अपराध तत्काल रोक्नुपर्ने र आक्रमण जारी रहेसम्म इरानले कुनै पनि पक्षसँग वार्ता नगर्ने अडान दोहोर्याए ।
विदेशमन्त्री अराघचीले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण रहेको र त्यो अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को सुपरीवेक्षणमा सञ्चालन भइरहेको जानकारी दिएका छन् ।
आईएईएले इजरायलको हालैको आक्रमणपछि इरानका आणविक स्थलहरूको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । आईएईएका महानिर्देशक राफेल ग्रोसीले युद्ध रोक्न र इरानका आणविक रियाक्टरहरूमा आक्रमण नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । बीबीसी