-1740790052.jpg)
बजारमा धनियाँ त्यसै बिक्थ्यो
किसानले किन
कल्ली बनाई बनाई धनियाँ बेचेका ?
किन पराल भिजाई भिजाई कल्ली बाँधेका ?
गम्दै छ एउटा कवि
खोज्दै छ एक कल्ली धनियाँमा कविता
कल्लीको धनियाँ
घरी सुन हुन्छ
घरी पराल हुन्छ
र, खर्पनमा चढी बजार पुग्छ
धनियाँ सुन हुँदा कल्ली दुब्लाउँछ
सुन सुनौलो परालले बेरिन्छ
धनियाँ पराल हुँदा कल्ली मोटाउँछ
पराल परालैले बेरिन्छ
याद गरेकै छौँ हामीले
धनियाँको बोटमा/कल्लीमा
गन्ध पनि/स्वाद पनि
माटो पनि/पसिना पनि
गाली पनि/खुसी पनि
बजारमा एक कल्ली धनियाँ किन्न पाउँदा
खुसी हुन्छ मोहर माइला
एकै कल्लीले भान्सा रंगीइहाल्छ
धनियाँको मुठा फुकाउँदा
झर्को मान्छे सुवर्णा
एक मुठा धनियाँमा पाँच/दश कल्ली
प्रत्येक कल्लीमा परालको बेष्ठन
फुकाउनै झन्झट
केलाउनै सकस
ऊ मनमनै गाली गर्छे
कल्ली बनाउने जाँगरलाई
मोहर माइलालाई झैँ
पारखी भान्सेलाई झैँ
मलाई’नि मन पर्छ धनियाँ
धनियाँको पात
धनियाँको गन्ध
कल्ली बनाउन तल्लीन किसान
कल्ली बनाउने उनको तन्मयता
बास्नादार धनियाँ
काव्यपंक्तिजस्ता धनियाँका कल्ली
जीवनदायी कविताभन्दा
कम स्वादिला छन् र ?