site stats
बाह्रखरी :: Baahrakhari
खेल
ब्रान्ड लजिकलाई जरिवाना र तीन महिना रोक, क्यानलाई निर्देशनमात्रै
फाइल तस्बिर ।

काठमाडौं । गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपालमा प्रतिबन्धित बेटिङ साइटका सारोगेट कम्पनीको प्रचार गरेकोमा प्रतियोगिताको रणनीतिक साझेदार ब्रान्ड डिजिटल लजिक र टीसीएम स्पोर्ट्स एन्ड मार्केटिङ प्रालिलाई विज्ञापन बोर्डले जरिवानासँगै तीन महिना रोक लगाएको छ ।

बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत स्टार स्पोर्ट्समा वानएक्सब्याट, वुल्फत्रिपलसेभेन, डाफान्युजजस्ता विज्ञापन राखिएको ब्रान्ड लजिक र टीसीएमलाई समान १० हजार जरिवाना तिराउने निर्णयबारे जनाएको हो । 

यस्तै, यी दुवै कम्पनीलाई तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिनसमेत रोक लगाई बोर्डमा सूचीकरण नगर्ने जनाइएको छ । बोर्डले कात्तिक २० गतेसम्म यी दुवै एजेन्सीबाट कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न समेत अनुरोध गरेको छ । 

नेपालमा प्रतिबन्धित जुवा कम्पनीको प्रचारमा नरम बनेको बोर्डले आयोजक क्यानमाथि झनै लचकता अपनाएको छ । बोर्डले क्यानको हकमा भने विज्ञापन ऐन २०७६ तथा अन्य प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्