काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा मुख्य कलाकारको ‘गेटअप’ पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमसँग मिलेको भन्दै अदालतमा मुद्दा पर्यो ।
उच्च अदालत पाटनमा आलमका पक्षबाट उक्त सिनेमाका मुख्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बिनाइजाजत आफ्नोजस्तै मुखाकृति र ‘गेटअप’ गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
अदालतले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले निर्णय नगर्दासम्म आलमसँग मिल्ने उक्त पात्रको प्रचारप्रसार नगर्न र गरिएको प्रचार सामग्री पनि युट्युब र अनलाइनबाट हटाउन अन्तरिम आदेश दिएको थियो ।
सेन्सरले केही सिन हटाउन भने पनि आलमजस्तै देखिने चरित्रमा आपत्ति जनाएन । चलचित्रको प्रचार केही प्रभावित भए पनि ‘लाज शरणम्’ पूर्वनिर्धारित मिति फागुन १४ मा नै रिलिज भयो ।
‘लाज शरणम्’मा आलमजस्तै देखिने चरित्र नेता नभएर व्यापारीको हो । भारतीय व्यापारी जो नेपाल आएर व्यापार गर्छन् । त्यसैले यो चलचित्र सेन्सरबाट पास भएको थियो ।
मुद्दा ‘लाज शरणम्’ले व्यहोरे पनि आलमले गरेजस्तो शंकाअनुसारको कथा भने बुधबार नै रिलिज भएको अर्को चलचित्र ‘फेरि रेशम फिलिली’मा छ ।
इटा भट्टाको सेटअप र आफूले भनेको नमान्नेलाई त्यहाँ जिउँदै जलाइदिने भन्दै धम्की दिने चरित्र र कथा ‘फेरि रेशम फिलिली’मा छ । जुन चरित्र नीर शाहले निभाएका छन् ।
‘फेरि रेशम फिलिली’ निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ, कामेश्वर चौरासीया र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् ।
‘लाज शरणम्’मा सिताराम कट्टेलसँगै विजय बराल, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।