site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१३औँ फाइनल खेल्दै नेपाल, जित्ला पहिलो उपाधि ?

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बुधबार (आज) घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा बलियो टोली म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाली महिला टिमले पहिलो अन्तर्राष्ट्रिय खेलयता खेल्न लागेको यो १३औँ फाइनल हो । यसअघि नेपालले १२ फाइनल खेलिसकेको भए पनि हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन । 

“जसले मैदानमा बढी मेहनत गर्छ, अनुशासित भएर खेल्छ । एक टिमको रूपमा प्रतिस्पर्धा गर्छ, त्यही टिमले उपाधि जित्ने हो । हामी आफ्नोतर्फ शतप्रतिशत दिनेछौँ । टिमलाई नै उपाधि जित्नुपर्छ भन्ने भोक छ । प्रशिक्षकको रणनीतिअनुसार अन्तिमसम्म खेल्न सक्यौँ भने नतिजा राम्रो हुन्छ,” फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालीको उपाधि सम्भावनाबारे कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भनिन् ।

Anjila-subba-1740480665.jpg
यस्तो छ १२ फाइनल यात्रा
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।

पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३८ वर्षमा कुल १२ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, सधैँ उपविजेता ।  

नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप, एकपटक नादेज्दा कप र एक पटक वाफ महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ । १२ फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेशसँग दुईपटक हार बेहोर्दा म्यानमार, ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।

सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्‍यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।

त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार बेहोर्‍यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्‍यो ।

Woman-foodball-team-1739800770.jpg
सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्‍यो । यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हार बेहोर्‍यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।

सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहोर्‍यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन । फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो । यस्तै, घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनल १२औँ । 

के छ प्रशिक्षकको प्रतिक्रिया 
नेपाली टिमले खेलेको १२ फाइनलमा प्रतिस्पर्धा गर्दा प्रशिक्षक थिए, राजेन्द्र तामाङ । गएको वर्षका फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपको निम्ति मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका तामाङ हालसम्म नेपाली टिममा निरन्तर छन् । उनको प्रशिक्षणमा नेपाली टिमले वाफ र साफ महिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रतिस्पर्धा गरे पनि दुवैमा पराजय बेहोरेको थियो । एक वर्षमा दुई फाइनल खेलमा बेहोरेको हारबाट निराश तामाङले मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमसँग उपाधि जित्नुको विकल्प नभएको बताए ।

Rajendra-tamang-1739720447.jpg
“हामीलाई उपाधि जित्नुको कुनै विकल्प छैन । धेरै पटक उपाधि निजक पुगेर पनि निराश हुनु परेको छ । जसरी पनि ट्रफी जित्नु पर्छ भावनाका साथ मैदान उत्रिने छौँ । हामीलाई घरेलु मैदानमा फेरि एकपटक मौका आएको छ । यस पटक भने चुक्नु हुँदैन । म्यानमार बलियो टोली हो । तर जित्न सक्छौँ भन्ने विश्वास छ,” फाइनलअघि तामाङले भने ।

woman-foodball-team-1740319664.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro