
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार (फागुन १२) दुईजनालाई सार्वजनिक गर्यो । ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका ललितपुुरका ३३ वर्षीय सुधीर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारीलाई सार्वजनिक गरिएको हो ।
उनीहरू दुवैजनामाथि ब्युरोको टोलीले लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाएको छ । सुधीरलाई गएको बिहीबार ललितपुरबाट ट्रामाडोलसहित पक्राउ गरिएको थियो । उनीमाथि अनुसन्धान गर्दै जाँदा साइमनको संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी एवं एसपी नारायण अधिकारीले जानकारी दिए ।
सुधीर र साइमनले लागुऔषध ट्रामाडोल राख्न गोदाम भाडामा लिएका थिए । ब्युरोको टोलीले उनीहरूको गोदाममै छापा मारेर पाँच लाख ६४ हजार १०० क्याप्सुल बरामद गरेको छ । ब्युरोको टोलीले एकसाथ यति धेरै मात्रामा ट्रामाडोल बरामद गरेको यो नै पहिलोपल्ट भएको डीएसपी अधिकारीले बताए ।
प्रहरीका अनुसार, उनीहरूले भारतबाट तस्करी गरेर ल्याएको ट्रामाडोल काठमाडौंलाई आधार बनाएर बिक्री–वितरण गर्दै आएका थिए । सुधीर र साइमनले टोखा नगरपालिका–४ स्थित एउटा घरमा ट्रामाडोल राख्न गोदाम भाडामा लिएका थिए ।
फार्मेसी सञ्चालक हुन् सुधीर
सुधीरका साथबाट प्रहरीले ३० हजार क्याप्सुल बरामद गरेको थियो । थप अनुसन्धान गर्दै जाँदा प्रहरी साइमनको गोदामसम्म पुगेको थियो । साइमनको गोदामबाट ब्युरोको टोलीले पाँच लाख ३४ हजार १०० क्याप्सुल बरामद गर्यो ।
काठमाडौंको चन्डोलमा सुधीरको आफ्नै फार्मेसी समेत रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । फार्मेसीबाट उनले ट्रामाडोल बिक्री गर्ने गरेका थिए । सुधीरले लामो समयदेखि ट्रामाडोलको कारोबार गर्दै आएको खुलेको डीएसपी अधिकारीले बताए ।
साइमन भने लागुऔषध कारोबारी भएको प्रहरीले जनाएको छ । उनी पर्सा हुँदै काठमाडौंलाई आधार बनाएर लागुऔषध तस्करीमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा थाहा भएको छ । ट्रामाडोलबाहेक अरू लागुऔषध कारोबारमा समेत उनीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।
सरकारले चिकित्सकको सल्लाहबिना ट्रामाडोलको बिक्री–वितरणमा रोक लगाएको छ । ट्रामाडोललाई लागुऔषधका रूपमा सूचीकृत गरिएको छ ।
कोकिन तस्करी
गएको साउनमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलको एउटा होटेलबाट मलेसियाकी ४७ वर्षीया बथुमलाई भादिभालूलाई पक्राउ गरेको थियो । उनका साथबाट पाँच किलो ८२० ग्राम लागुऔषध कोकिन बरामद गरिएको थियो ।
उक्त कोकिनको नेपाली मूल्य २० करोड ३७ लाख रुपैयाँ पर्ने काठमाडौं प्रहरीले जनाएको थियो । उनले ६ वटा स्कुल ब्यागभित्र ‘प्याक’ गरेर कोकिन ल्याएकी थिइन् ।
विभिन्न मुलुक हुँदै काठमाडौं भित्र्याइएको खैरो हेरोइनदेखि कोकिनसम्म प्रहरीले बरामद गर्दै आएको छ । गएको आर्थिक वर्ष २०८०/२०८१ मा मात्र ब्युरोले आठ किलो र काठमाडौं प्रहरीको टोलीले ६ किलो कोकिन बरामद गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीबाटै सूचना र बरामद
लागुऔषध कारोबार नियन्त्रण संसारभर चुनौती बन्दै गएको छ । दर्जनौँ ‘लेयर’ खडा गरेर र अन्तरदेशीय अपराध भएका कारण लागुऔषधको मुख्य कारोबारीसम्म पुग्न प्रहरीलाई कठिन हुन्छ । खैरो हेरोइन र कोकिन तस्करीका भरिया मात्र पक्राउ पर्छन् ।
अनेक देशका विमानस्थल सजिलै पार गर्दै ती भरिया काठमाडौंसम्म आइपुग्छन् । तस्कर भरियाले विभिन्न देशका विमानस्थलको सुरक्षा जाँच कसरी पास गर्छन् भन्ने प्रश्नको जवाफ अनुत्तरित छ ।
प्रहरी स्रोतका अनुसार, तस्करीबारेको सूचना अरू देशका प्रहरीले नै ब्युरोलाई उपलब्ध गराउँदै आएका छन् । उनीहरूले आफ्नो मुलुकमा पक्राउ गर्दा सुरक्षा र देशको इज्जतसँग घटना जोडिने हुन्छ । त्यसैले उनीहरूले पक्राउ नगरी नेपाल प्रहरीलाई सूचना दिने गरेका हुन् ।
एक प्रहरी अधिकारी भन्छन्, ‘‘किलोका किलो ल्याएर संसारकै सुरक्षित भनिने दुबई, थाइल्यान्डका विमानस्थल हुँदै कोकिन नेपाल भित्रिनुमा रहस्यमय छ । ती देशका प्रहरी आफ्नो देशमा पक्राउ नै गर्न चाहँदैनन्, बरु नेपालमै पक्राउ परून् भनी छाडेको देखिन्छ – जसले नेपालको छविलाई असर गरेको छ ।”
प्रहरीका अनुसार, लागुऔषध कोकिन नेपाल हुँदै भारत पुर्याइन्छ । अरू लागुऔषध भारत हुँदै स्थलमार्गबाट नेपाल भित्र्याइने गरिन्छ ।
ट्रामाडोल भने फार्मेसी सञ्चालकले समेत सजिलै भारत हुँदै नेपाल ल्याउने गरेका छन् । ट्रामाडोल कुनै बिरामीलाई चिकित्सकले औषधिका रूपमा समेत प्रयोग गर्न अनुमति दिने गरेका छन् ।