site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा कोसी अध्यक्ष तिमिल्सिनाको सदस्यता खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोसी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनाको साधारणसहितको सदस्यता खारेज गरेको छ । रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फिर्ता बोलाउन भन्दै पत्र लेखेपछि यसअघि उनी निलम्बित भएका थिए । 

पछिल्लोपटक सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै रास्वपा केन्द्रीय सचिवालयले सोमबार साधारण सदस्यबाट समेत निष्कासन गरेको एक सदस्यले जानकारी दिए । तर, तिमिल्सिना बाबुको मृत्युमा किरिया बसेको बेला पार्टीले त्यसको निष्कासनको कठोर निर्णय लिएको ती सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार, तिमल्सिनाका बाबुको मृत्युको भोलि १३ दिन हुँदै छ । 

Argakhachi Cement Island Ad

"पार्टीमा अनुशासनको प्रश्न उठेपछि कारबाही हुने एउटा प्रक्रिया भयो । तर, बाबुको किरिया बारेर कोरामा बसेका बेला कारबाही गर्ने रास्वपाको निर्णयले यो पार्टीमा मानवीयता समाप्त भएको सन्देश दिएको छ," ती सदस्यले बाह्रखरीसँग भने, "पार्टीको सदस्य वा कारबाही गर्नुपर्ने व्यक्ति कुन अवस्थामा गुज्रिएको छ भन्ने जानकारी नराख्नु र कारबाहीको डण्डा चलाउनु संवैधानिक हिनताको पराकाष्टा हो ।"

तिमिल्सिनाले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । 

त्यसबेला पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले उनीमाथि अनुसन्धान माग भएको भन्दै त्यसकै लागि मात्र भनेर निलम्बन गरिएको पत्र पठाएका थिए ।  २०८१ माघ ४ गते त्यसरी पत्र पठाएको रास्वपाले केन्द्रीय सचिवालयबाट सोमबार साधारण सदस्य समेत नरहने गरी उनलाई कारबाही गरेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २२:५७
प्रतिक्रिया दिनुहोस्