site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभामा सांसदले भने– गृहमन्त्रीले राजीनामा दिनुपर्छ
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका सांसदले ताप्लेजुङको पाथीभरा मन्दिर (मुकुम्लुङ) क्षेत्रको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार कोसी प्रदेशसभा बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद विद्या चाम्लिङले पाथीभरा क्षेत्रको पछिल्लो घटनाक्रमले प्रदेश नै आक्रान्त भएको बताइन् । “दिनानुदिन मात्र होइन, रातमा पनि आन्दोलन भइरहेको छ,” उनले भनिन्, “ताप्लेजुङको आन्दोलन वार्ता गरेर समाधान गर्नुपर्छ ।”

Argakhachi Cement Island Ad

एकीकृत समाजवादीकी अर्की सांसद खिनुलङ्वा लिम्बूले फुङलिङमा लाठीचार्ज, कुटपिट, हवाईफायर र अश्रुग्यास हान्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, “घरमा सुतेकाहरूलाई समेत राज्यशक्ति प्रयोग गरेर धरपकड गरिएको छ । निषेधाज्ञा जारी गरिएको छ । २५० जनालाई पक्राउ गरिएको छ । दर्जनौँ बेपत्ता, सञ्चारकर्मीलाई कुटपिट गर्ने, सञ्चार सामग्री खोस्ने काम गरिएको छ ।”

उनले राज्यपक्षबाट मुकुम्लुङ समर्थकमाथि बर्बर ढंगले दमन गरिएको बताइन् । “नागरिकप्रति जिम्मेवार भई शान्ति सुरक्षा कायम गराउनुपर्छ, नकि राज्यशक्तिको दुरुपयोग हुनुपर्छ,” उनले भनिन्, “गृहमन्त्रीले राजीनामा दिनुपर्छ । क्रूर दमन रोकिनुपर्छ ।”

नेपाली कांग्रेसका सांसद प्रदीपकुमार सुनुवारले ताप्लेजुङमा ‘नो केबलकार’ पक्षधले गरेको कार्यक्रमका क्रममा घाइते भएकाहरूलाई संघ र प्रदेश सरकारले उपचारको प्रबन्ध गर्नुपर्ने माग गरे । “धार्मिक सहिष्णुता खलल गर्ने काम भएको छ । प्रदेशका सांसदहरूलाई निषेध गर्ने भन्ने सुन्नमा आएको छ,” उनले भने, “प्रदेशले पनि वार्ता समिति बनाएको थियो । वार्ता कहाँ पुगेको छ, प्रदेश सरकारको धारणा के हो ? मन्त्रीस्तरीय वार्ता समिति बनाएर संघीय सरकारले समाधानमा चासो दिनुपर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा)का सांसद सविना बजगाईंले ताप्लेजुङमा निषेधाज्ञाले समस्या समाधान हुन्छ ? भन्ने प्रश्न गरिन् । उनले सरकारले समस्या समाधानमा चासो दिनुपर्ने माग गरिन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्