
काठमाडौं । आजका दिनमा हाम्रो समाजमा उथलपुथल मच्चाउने एउटा ठूलो कारण बनेको छ, नयाँ पुस्ताको मानसिकता र व्यवहार ।
यो नयाँ पुस्ता, जसलाई जेन–जी (जनरेसन जी) भनिन्छ – उनीहरूको संसार पक्कै पनि पुराना पुस्ताभन्दा फरक छ । वाइफाइको सिग्नल जानेबित्तिकै आत्तिने यो पुस्ता आफ्नै स्व्याग (भावभंगी) अनि सिग्मा (व्यक्तिगत स्वतन्त्रता)मा हुन्छ ।
त्यसैले पनि होला, यो पुस्ता न आफ्नो वर्तमानसँग ‘सिरियस’ देखिन्छ न त भविष्यलाई नै लिएर । झन् परम्परागत उत्सव, पर्व र सांस्कृतिक मूल्य त उनीहरूका लागि ‘कालो अक्षर ... बराबर’जस्तै हुँदै गएको छ ।
यो पिँढीको जीवनमा आफ्नो संस्कृति, परम्परा र पर्वहरूको महत्त्व हराउँदै गएको देखिन्छ । यहाँसम्म कि आफूले कुन पर्व, चाडबाड किन मनाइराखेका छौँ भन्ने हेक्का समेत यो पुस्तामा कमै हुने गरेको पाइन्छ ।
यो पुस्ताका लागि यस्ता उत्सव फेसबुक स्टोरी, इन्स्टाग्राम रिल्स र स्न्यापच्याट स्ट्रिक्समा परिणत हुँदै गएको पाइन्छ । मानौँ, यो पुस्ता यिनै सबै कुराको वरपर घट्ट घुमेझैँ घुमिरहेका छन् ।
जहाँ पहिलेका मानिस चाडपर्वका बखत पारिवारिक जम्काभेटमा रमाउने गर्थे, अनि फोटो केवल ती पल स्मरणका लागि खिच्ने गर्थे । तर, जेन–जी पुस्ताको यी विषयमा आफ्नै धारणा छ ।
उनीहरू फोटो त खिचाउँछन्, तर स्मरणका लागि नभएर ‘लाइक’, ‘भ्युज’ बटुल्न, ‘भाइरल’ हुन, ‘कुल’ हुन, टिकटक र इन्स्ट्राका ‘ट्रेन्ड फलो’ गर्न मात्र ।
जेन–जी पुस्ता आफ्नो परिचय पनि पूरा दिन चाहँदैन । आफ्नो परिचयसँग खासै मतलब छैन । यस्तै जीवनशैलीमा रमाउने एक प्रतिनिधि पात्र हुन्, रीता । रीता काठमाडौंको एउटा निजी कलेजमा अध्ययनरत छिन् ।
उनी एक यस्तो किशोरी पात्र हुन्, जसको संसार एउटा ‘स्क्रिन’मा मात्र सीमित छ । उनी हरेक ती उत्सवलाई आफ्नो फोनको स्क्रिनमा खोज्ने गर्छिन् र उही कुरामा मस्त रहन्छिन् ।
पुरानो पुस्ताको स्क्रिन भनेकै टीभी मात्रै हुन्थ्यो । तर, अहिलेको पुस्ता उक्त भित्तामा अडिएको टीभीमा ध्यान दिँदैन ।
गएको दसैँको टीका लगाउने तयारी हुँदै थियो । रीताले खासै चासो देखाइनन् । उनी आफ्नै तालमा एक कुनामा साथीहरूलाई ‘ह्याप्पी दसँै’को ‘स्टिकर’हरू पठाइरहेकी थिइन् । जब टीका लगाउन सकियो, तब रीतालाई स्टोरीमा फोटो राख्न हतार भयो ।
उनले पारिवारिक भेलालाई महत्त्व दिइनन् । घरको आँगनमा बसेर, ‘क्याप्सन’ राख्न एउटा सुन्दर तस्बिर खिच्न महत्त्व दिइन् । परिवारको रमाइलो माहोललाई बिर्सेर उनी केवल स्न्यापच्याट स्ट्रिक र इन्स्टाग्राम, रिल्समा मात्र रमाइरहेकी थिइन् ।
जेन–जीका लागि आत्मसम्मानको परिभाषा के हो ?
इन्स्ट्राग्राममा गरिएको पोस्टको लाइक र फेसबुक स्टोरीको भ्युज नै जेन–जी पुस्ताका लागि आत्मसम्मानको परिभाषा बन्दै गएको पाइन्छ । उनीहरूको आत्मसम्मान र पहिचान अब ‘लाइक’ र ‘कमेन्ट’ले निर्धारण गर्दै छ ।
स्टोरीमा कसैले लाइक नगरी सिन मात्र गरेर छाडिदिए यो पुस्ता आफ्नो आत्मसम्मान नै धरापमा परेको जÞस्तो अनुभव गर्ने गर्छ । रीता दिनभर इन्स्टाग्राममा फोटो पोस्ट गर्छिन् । उनी भन्छिन्, “मुख्य उद्देश्य भनेकै साथीहरूबाट लाइक र कमेन्ट प्राप्त गर्नु हो ।”
टाइमलाइनमा कुनै राम्रो फोटो राख्न उनी रातभर मिहिनेत गर्छिन् । उनी त्यो फोटोमा अनेकथरीका ‘फिल्टर’ र ‘एफेक्ट’ लगाउँछिन् । फोटोको मूल्यको निर्धारण त्यसमा आउने लाइक र कमेन्ट्सले गर्ने उनी बताउँछिन् ।
रीताजस्तै धेरै किशोरकिशोरी सामाजिक सञ्जालमा आफ्ना तस्बिरलाई आत्मसम्मानका रूपमा ‘फिड’मा ‘अपलोड’ गरिरहेका छन् । उनीहरूको वास्तविक आत्मसम्मान अब ‘फिजिकल स्पेस’मा नभएर ‘डिजिटल स्पेस’मा स्थानान्तरण भइरहेको छ ।
कुल र ट्रेन्डी चाह
जेन–जीका लागि मिसन भनेकै कुल र ट्रेन्डी देखिनु भनेजस्तै भएको छ । उत्सवका पलका ‘फोटोज’लाई इन्स्टाग्राम र फेसबुकमा ‘हाइलाइट’ गर्नु नै जेन–जीको मुख्य ‘मिसन’ भएको देखिन्छ ।
‘लोडिङ’, वाइफाइ र ‘ब्ल्यांक’ जेन–जी
जेन–जीलाई एकैछिन वाइफाइ लोड मात्र हुँदा स्वास नै अड्किने अवस्था सिर्जना हुन्छ । दिमाग नै ‘ब्ल्यांक’ र ‘लोड’ हुने गर्छ । जेन–जीका लागि वाइफाइ नै सबैभन्दा अमूल्य वस्तु बन्दै गएको छ ।
रीता भन्छिन्, “वाइफाइबिना मेरो जीवन नै ठप्प र अन्धकारमा पुग्छ । संसार चल्न बन्द भएको जस्तै हुन्छ । हामी नयाँ पुस्ताले वाइफाइबिनाको संसारको परिकल्पना नै गर्न सक्दैनौँ ।”
च्याट, स्टोरी र स्टिकर्समा सीमित !
पुराना पुस्ता, जो उत्सवलाई परम्परासँग जोडेर मनाउँथे । नयाँ पिँढीले उत्सवलाई च्याट, स्टोरी र स्टिकरको माध्यमबाट व्यक्त गर्न थालिसकेका छन् । हरेक खुसीको कारण अब च्याट र स्टोरी बन्ने भएको छ । गहिरो ढंगले सोच्ने हो भने यो कहालीलाग्दो देखिन्छ ।
यो पुस्ताको जीवन डिजिटल लाइक, कमेन्ट र ‘पपुल्यारिटी’को खेलमा परिणत हुँदै गएको छ ।
जेन–जीको जीवन र उद्देश्य
भविष्यबारे जेन–जीलाई मतलब हुँदैन । फिल्टरका साथ तत्कालको फोटो ‘पर्फेक्ट’ हुनुपर्छ भन्ने यो जेनरेसनको ध्येय हुन पुगेको छ । आजका किशोरकिशोरीको जीवनको उद्देश्यमा एउटा ठूलो खालीपन देखिन्छ ।
भविष्यबारेमा निश्चित विचार र योजना त कमै देखिन्छ, एउटा फोटोलाई ‘पर्फेक्ट’ बनाउन यो पुस्ता बिहानदेखि बेलुकैसम्म लागिपरेको छ । कुल देखिएको फोटोसँगै रीताले फिल्टर र क्याप्सन चट्ट मिलाएर पोस्ट गर्ने विषयलाई आफ्नो सबैभन्दा ठूलो उद्देश्य मान्छिन् ।
जेन–जीका लागि वर्तमानको परिभाषा यस्तो छ कि उनीहरू जीवनलाई बुझ्ने प्रयासभन्दा पनि आफ्ना तस्बिर र फिल्टरलाई कुल र पर्फेक्ट बनाउन के कस्तो ‘एप’ र ‘टुल्स’ प्रयोग गर्न सकिन्छ भन्नेमा मस्त छन् ।
पुराना सांस्कृतिक महत्त्व र पारिवारिक मूल्यको सम्झनामा अब केवल ‘फिल्टर’ छ । जेन–जीका लागि उत्सवको परिभाषा दिनदिनै डिजिटल संसारमा सीमित हुँदै गएको छ । यसले भविष्यमा चाडपर्व डिजिटल फिल्टरमा सीमित हुने खतरा छ ।
जेन–जी (सन् १९९७–२०१२) टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा अल्मलिने पुस्ता हो । उनीहरूको खुसी लाइक्स, कमेन्ट्समा सीमित छ । फोनको ब्याट्री डाउन हुनु उनीहरूका निम्ति चिन्ताको विषय हो ।
त्यसभन्दा अघि मिलेनियल्स (१९८१–१९९६) – जसलाई ‘जेन–वाई’ पनि भन्ने गरिन्छ, फोन र डिजिटल दुनियाँको जादु देख्ने यो पहिलो पुस्ता हो – जसलाई ‘वाइफाइ स्लो’ हुनु समस्या लाग्थ्यो ।
‘जेन अल्फा’ (२०१३–हालसम्म) । जेन अल्फा सबैभन्दा नयाँ पुस्ता हो, जसको पहिलो शब्द ‘सिरी’ वा ‘अलेक्सा’ हुनेछ । यो पुस्ता जन्मदेखि नै स्मार्टफोन, रोबोट र ‘भर्चुअल रियालिटी’को साथमा हुर्किरहेको छ ।
डिजिटल दुनियाँको चक्रब्यूहमा जेन–जी पुस्ता पर्नुको कारण के हो ?
जेन जी डिजिटल प्रविधिको युगमा हुर्केको पुस्ता हो । र, स्मार्टफोन र इन्टरनेटजस्ता डिजिटल दुनियाँको चक्रब्यूहमा फस्दै गएको छ । जेन जी पुस्ता मिलेनियल्सभन्दा फरक सोचका हुन् । योभन्दा अझ बढी उथलपुथल मच्चाउने अबको पुस्ता जेन अल्फा हुने कतिपयको धारणा छ ।