site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
मेनस्ट्रिममा न्यु मिडिया : प्लेटफर्म फेरियो, शैली फेरिएन

काठमाडौं । एक दशकयता नेपाली पत्रकारिताजगत् आर्थिक संकट सामना गर्दै छ । आर्थिक संकटको सामना गर्न नसकेपछि केही प्रिन्ट फर्मका पत्रिका बन्द भए । प्रकाशन भइरहेका केही पत्रिका सीमित साधनस्रोतबीच थोरै संख्यामा मात्रै बिक्री–वितरण हुँदै छन् ।

सोसल मिडिया, इन्टरनेट र डिजिटल मिडियाले लेगेसी मिडिया (प्रिन्ट)को आर्थिक रूप परिवर्तन गरिदिएको अग्रज पत्रकार तथा सम्पादक कुन्द दीक्षित बताउँछन् । लेगेसी मिडिया विज्ञापन र बिक्री–वितरणबाट आउने पैसाले चल्ने, तर त्यही सोसल मिडिया, इन्टरनेट र डिजिटल मिडियाले खोसेपछि छापा पत्रकारिता संकटमा पुगेको उनी सुनाउँछन् ।

“आम्दानीको स्रोत नभएपछि पत्रिका चलाउन समस्या थियो । कोभिडले प्रिन्टले भोगिरहेको आर्थिक संकटलाई थप तीव्र बनाइदियो,” कुन्द भन्छन्, “जुन गतिमा मोबाइल फोन र इन्टरनेट फैलिरहेको छ, यसले लेगेसी मिडियाको भविष्य लामो देखिँदैन ।”

Dabur Nepal
NIC Asia

प्रिन्टको विज्ञापन र बिक्री घटेपछि पत्रकारिता डिजिटल मिडियातर्फ उन्मुख भयो । फलतः डिजिटल न्युज पोर्टलको संख्या उकालो लाग्यो ।

पछिल्लो दशकमा डिजिटल मिडियाको संख्या बढ्यो । तर, ‘बिजनेस मोडल’मा ठूलो परिवर्तन नआएको उनको जिकिर छ ।

लेगेसी मिडियाभन्दा खासै धेरै भिन्नता डिजिटल मिडियाको पनि नरहेको उनी बताउँछन् । डिजिटल मिडिया पनि बिजनेस मोडलको हिसाबले लेगेसी मिडिया नै भएको उनको तर्क छ ।

“डिजिटल मिडिया पनि विज्ञापनकै भरमा चलिरहेको छ । सब्सक्रिप्सन मोडल नेपालमा चलेकै छैनन् । जसले ‘पे वाल’को प्रयास गरे, त्यो पनि सफल भएको देखिन्न,” कुन्द भन्छन्, “त्यसैले बिजनेस मोडल लेगेसी मोडल नै हो । डिजिटल पोर्टल भन्दैमा नयाँ मोडल भन्न मिल्दैन । जबसम्म न्युयोर्क टाइम्सको जस्तो पाठकबाट आम्दानी आउँदैन, अर्थात् रिडरबेस रेभिन्युबाट न्युज पोर्टल चल्दैनन्, त्यो बेलासम्म मिडिया चलाउन कठिन हुन्छ ।”

धेरै सञ्चारमाध्यम ननमिडिया रेभिन्युबाट आएको आम्दानीका भरमा चलिरहेको कुन्दको बुझाइ छ । मिडियाबाहेक अरू पनि बिजनेस हुने र त्यहाँबाट आएको आम्दानीले सञ्चारमाध्यम चलिरहेको उनी टिप्पणी गर्छन् ।

“सञ्चारमाध्यम भएकै कारण ती व्यापारीको भाउ बढ्छ । त्यसैले लसमा भए पनि चलाइरहेको पाइन्छ । अधिकांश मिडिया यसैगरी चलिरहेका छन्,” उनी प्रस्ट पार्छन् ।

डिजिटल र लेगेसी दुवै मिडियाले काम गर्ने तरिकामा तत्काल परिवर्तन नगरे भविष्य संकटमा रहेको उनको आकलन छ । पत्रकारसँग ‘कन्टेन’ रहे पनि त्यसलाई पाठकस्रोता र दर्शकमा पुर्‍याउने आइडिया नरहेको उनको भनाइ छ ।

“हामी पुराना पत्रकार लेखे मात्र पुग्छ भन्छौँ । आकर्षक तस्बिर पनि राख्दैनौँ । भिडियो त हाम्रो प्राथमिकतामै पर्दैन । अब मल्टिमिडियामा नगई हुँदैन । मल्टिमिडिया पनि मोबाइल फोनमैत्री हुनुपर्छ,” उनी अगाडि थप्छन्, “धेरै पाठक, स्रोता र दर्शकले मोबाइमार्फत नै पढ्नेहेर्ने भएकाले त्यसमा मोबाइल फोनमैत्री कन्टेन बनाउनुपर्छ ।”

लामो कन्टेन पढ्ने र हेर्ने धैर्य पाठकमा नरहेको तथ्य अबको पत्रकारिताले नजरअन्दाज गर्न नहुनेमा उनी जोड दिन्छन् । दुई मिनेटको कन्टेन पनि लामो भयो भन्न थालेको यथार्थमा पत्रकार र सञ्चारमाध्यम दुवैको ध्यानकेन्द्रित हुनुपर्ने उनी बताउँछन् ।

जे भन्न खोजेको हो त्यसलाई आकर्षक रूपमा छोटोमा भिजुअलसहित देखाउनुको विकल्प अब नरहेको उनको धारणा छ । यसका लागि पत्रकारले काम गर्ने शैली बदल्नुपर्नेमा उनको जोड छ ।

पत्रकारिताको पृष्ठभूमि भए पनि काम गर्ने शैलीमा परिवर्तन नहुँदा पछिल्लो समय युट्युबरले आकर्षक तरिकाले भिडियो अपलोड गर्दा उनीहरू नै पत्रकार भएको कुन्दको भनाइ छ ।

समयानुसार काम गर्ने शैलीमा बदलाव ल्याउन नसक्दा पत्रकारितामा स्नातकोत्तर र दर्जनौँ तालिम लिएका पत्रकार पछि परिरहेको उनको निष्कर्ष छ । “पत्रकार हुन फराकिलो ज्ञान चाहिन्छ । मूल्यांकन गर्ने क्षमता हुनुपर्छ । पत्रकार आफैँमा समाजशास्त्री पनि हो । तर, यो क्षमता नभएको व्यक्तिले सतही कन्टेन बनाएर युट्युबमा हालेर दुई दिनमा १० लाख भ्युज बटुलेर लेगेसी मिडियामा दर्शक लिइदियो,” उनी भन्छन् ।

गैरपत्रकारले उत्पादन गरेको कन्टेनले बजार लिइरहेको उनी बताउँछन् । नागरिक पत्रकारिता अथवा घटना भएको स्थानका व्यक्तिसँग सहकार्य गरेर पत्रकारिता गरिनुपर्नेमा मिडियाले त्यसो गर्न नसकेको उनको अनुभव छ ।

अनुभवी पत्रकार र युवा युट्युबर अथवा कन्टेन क्रिएटर मिलेर सबै रिडरलाई हुने गरी बलियो सामग्री दिनुपर्ने उनको धारणा छ । यसो भयो भने कन्टेन सन्तुलित हुने र धेरै पाठक र दर्शकमा पुग्ने उनको भनाइ छ ।

नेपालमा मात्र होइन, विश्वभर नै प्रिन्ट बन्द भएर डिजिटल पोर्टलमा रूपान्तरण भइरहेको उनी बताउँछन् । “नेपाल र भारतमा मात्र होइन, विश्वभर नै यस्तै भइरहको छ । हाम्रै हिमाल पत्रिका बन्द भयो,” पत्रकार तथा सम्पादक कुन्द भन्छन्, “यो भन्दैमा छापा माध्यम गइसक्यो भन्ने होइन । भारतमै पनि डिजिटल मिडिया फस्टाएको छ । तर, प्रिन्ट अस्ताइसकेको पनि छैन ।”

आर्थिक वृद्धि राम्रो भइसकेको देशमा विज्ञापन आइरहेकाले केही प्रिन्ट मिडिया पनि चलिरहेको उनी सुनाउँछन् । यद्यपि, मूलधारको प्रिन्ट मिडिया अब लामो समय नजाने कुन्दको दाबी छ । “यही अवस्था रहे प्रिन्ट मिडियाको सूर्य अस्ताउन करिब पाँच वर्ष लाग्ला । योबीचमा हामीले केही गर्नुपर्छ,” उनी भन्छन् ।

स्पेसिफिक प्रिन्टको भने भविष्य रहेको उनी बताउँछन् । आर्थिक, खेलकुद, वातावरणीय पत्रिका भने राम्रो तस्बिर र छपाइस्तर गुणस्तरीय भए चल्ने पत्रकार तथा सम्पादक कुन्द टिप्पणी गर्छन् । 

प्रेस काउन्सिल नेपालको तथ्यांकानुसार हाल नेपालमा चार हजार ८७९ अनलाइन सञ्चालनमा छन् । नयाँ अनलाइन थपिने क्रम पनि तीव्र छ । मासिक ३० देखि ३५ अनलाइन दर्ता हुने गरेका छन् ।

यद्यपि, पछिल्लो समय दर्ता हुनेक्रम केही कम भएको प्रेस काउन्सिल नेपालका सूचना अधिकारी तथा आचारसंहिता अनुगमन विभाग प्रमुख रामशरण बोहरा बताउँछन् ।

“केही समयअघिसम्म मासिक औसतमा ५०–६० वटा अनलाइन दर्ता हुन्थे । हाल केही घटेको हो,” उनले भने । काउन्सिलले हरेक १५/१५ दिनमा ‘ओरियन्टेसन’सहित दर्ता प्रमाणपत्र दिँदै आएको छ ।

सूचना तथा प्रसारण विभागको तथ्यांकानुसार नेपालमा हालसम्म दर्ता हुने पत्रपत्रिकाको संख्या सात हजार ९५३ छ । यो ०७९ माघ मसान्तसम्म दर्ता हुने पत्रपत्रिकाको संख्या हो ।

विभागका प्रवक्ता तथा निर्देशक भरत गौतम यी सबै पत्रपत्रिका प्रकाशन भइरहेका छन् अथवा छैनन् भन्ने यकिन भन्न नसकिने बताउँछन् । “कति पत्रिका प्रकाशन भइरहेका छन्, कति बन्द भए भन्ने आफैँमा अध्ययनको विषय हो,” उनी भन्छन्, “तर, बजेट र मेनपावर अभावका कारण हामीले अध्ययन गर्न सकेका छैनौँ ।”

यो अध्ययनको जिम्मा प्रदेशलाई दिने तयारी भइरहेको उनले जानकारी दिए । पछिल्लो समय रिडर डिजिटल न्युज पोर्टलतर्फ सिफ्ट भएकाले धेरै पत्रिका बन्द भइसकेका हुन सक्ने उनको भनाइ छ ।

आर्थिक मन्दी भएको र डिजिटलतर्फ धेरैको आकर्षण रहेकाले कतिपय पत्रपत्रिका बन्द भइसकेको हुन सक्छन् । तर, अध्ययन नगरी भन्न नसकिने गौतम स्पष्ट पार्छन् ।

कतिपय पत्रिका भने लोककल्याणकारी विज्ञापनकै लागि प्रकाशन भइरहेको विज्ञापन बोर्डले जनाएको छ । बोर्डले गरेको अध्ययनमा ७० प्रतिशत पत्रिकाका प्रकाशकले लोककल्याणकारी विज्ञापनका लागि पत्रिका निकालिरहेको देखिन्छ ।

यसले पनि छापा पत्रकारिता कमजोर भएको निष्कर्ष निकाल्न सकिन्छ । सरकारले पत्रपत्रिका, रेडियो र टेलिभिजनका लागि लोककल्याणकारी विज्ञापन दिँदै आएको छ ।

बोर्डको तथ्यांकानुसार २०७९/०८० मा २८ करोड रुपैयाँ लोककल्याणकारी विज्ञापनका लागि गएको थियो ।

प्रविधिको विकासले पछिल्लो दशक पत्रकारितामा सबैभन्दा ठूलो परिवर्तन भएको पत्रकार तथा सम्पादक राजेन्द्र दाहाल बताउँछन् । मिडिया प्रविधिले मारेको फड्कोको असर पत्रकारितामा पनि परेको उनको निष्कर्ष छ ।

परम्परागत माध्यमका रूपमा सुरुमा छापा पत्रकारिता रहेकामा त्यसपछि रेडियो, एफएम, टेलिभिजन हुँदै अनलाइन, युट्युब र सोसल मिडियामा आइपुगेको दाहाल बताउँछन् ।

पछिल्लो समय सूचना विस्तारको खाँचो अनलाइन, युट्युब र सोसल मिडियाले पूरा गरेको उनी सुनाउँछन् । “प्रविधिले फड्को मार्दा त्यसको राम्रो परिणाम, हिजोको तुलनामा किफायती भए । आर्थिक हिसाबले किफायती भए र पहुँचका हिसाबले सहज भयो,” उनी भन्छन्, “कम लगानीमै पढ्न र हेर्न सकिने भयो । सबैले अफोर्ट गर्न सक्ने भए ।”

एन्ड्रोइड फोनमै आउने भएपछि सूचनाको विस्तार फैलिएको उनी बताउँछन् । उनी यसलाई सूचना वितरणका क्षेत्रमा प्रविधिमा आएको क्रान्ति भन्छन् ।

पत्रकारिताको सूचना प्राप्ति किफायतीसँगै विस्तार भए पनि यसको स्थापित मूल्य–मान्यता भने कमजोर भएको पत्रकार तथा सम्पादक राजेन्द्र बताउँछन् । पठनपाठन, चिन्तन र सही पत्रकारिताको अभ्यास कम भएको उनको भनाइ छ ।

पत्रकारिताको पठनपाठन, चिन्तन र सही पत्रकारिताको अभ्यासबाट गुज्रिएर पत्रकार स्थापित हुनुपर्नेमा जोसुकै व्यक्ति सूचना प्रवाहमा समाहित भइरहेको उनको बुझाइ छ । “पत्रकारिताका मूल्य र मान्यताको जानकारीबिना जो पनि पत्रकारितमा हामफाल्ने भए, यसको परिणाम परम्परागत मूल्य–मान्यता भत्किए । तर, नयाँ मूल्य–मान्यता आजका दिनसम्म विकास भएनन्,” उनी अगाडि थप्छन्, “यसको असर हाम्रा स्थापित मूल्य–मान्यता बेवास्ता भए । परिणामः यसको बेस्सरी प्रयोग भयो । थाहा नपाई पत्रकारिता गर्दा दुरुपयोग भयो ।”

पत्रकारिताले आफ्ना स्थापित मूल्य–मान्यता र सिद्धान्त भुलेर अगाडि बढ्दा राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रले त्यो महत्त्व गुमाएको राजेन्द्रको अनुभव छ ।

राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले बाटो बिराउँदा प्रेसले घचघच्याउने गरेको स्मरण गर्दै उनी भन्छन्, “समाजलाई बचाउन र सही बाटो देखाउने भूमिकामा थियो । तर, आज प्रेसले त्यो स्थान र भूमिका गुमाएको छ ।”

आज पत्रकारितालाई व्यापार, व्यवसाय र राजनीतिले डोर्‍याएको छ । नेपाली पत्रकारिता व्यवसाय, राजनीति, समाज, बौद्धिकतालाई विश्वास दिलाउन सक्ने अवस्थामा नरहेको पत्रकार तथा सम्पादक राजेन्द्रको विश्लेषण छ । नेपाली पत्रकारिताले विश्वसनीयता र आफ्नो प्रभाव गुमाएको उनको निष्कर्ष छ ।

समस्या १० वर्षभन्दा अगाडि पनि रहेको तर पछिल्लो दशक नेपाली पत्रकारिताले थप विश्वसनीयता गुमाएको उनी बताउँछन् । १० वर्षअगाडिजत्तिको विश्वसनीय र प्रभावशाली प्रेस नरहेको उनको भनाइ छ ।

पत्रकारिताको पठनपाठन, प्रशिक्षण र अनुसन्धान शून्य प्रायः रहेको भन्न दाहाल हिचकिचाउँदैनन् । केही वर्षअगाडिसम्म परिपक्व पत्रकारका बनाउन अघिल्लो पुस्ताले नयाँ आउनेलाई मेन्टरिङ र ग्रुमिङ गर्ने चलन थियो । अब त्यस्तो नरहेको र त्यही नै दुर्भाग्य भएको उनी बताउँछन् ।

सीमित सञ्चारमाध्यम भएको समयमा प्रेस इन्स्टिच्युट, मिडिया प्वाइन्टजस्ता संस्थाले प्रशिक्षण दिएर बजारमा पत्रकार आपूर्ति गर्ने गरेको उनी स्मरण गर्छन् । उनी अब त मिडियाको संख्या बढे पनि प्रशिक्षण दिने संस्था बन्द भएको उनी बताउँछन् । 

यस्तै अवस्थाले बढावा पाउँदै गए जिम्मेवार पत्रकारिता नरहने उनको निष्कर्ष छ । समाज, राजनीति र व्यवसायले पत्रकारितालाई डोर्‍याउन सुरु गरिसकाले यो क्रम थप बढ्ने पत्रकार तथा सम्पादक राजेन्द्र बताउँछन् ।

उपयोग गर्न चाहिने भएकाले गहनाका रूपमा पत्रकारिता रहिरहने तर यो राजनीति र व्यापारीको प्रत्यक्ष नियन्त्रणमा रहने उनी टिप्पणी गर्छन् । “यो खेलौनाको रूपमा बचिरहन्छ, तर समाजलाई योगदान दिन सक्दैन । आर्थिक हिसाबले सम्पन्न होलान्,” उनी अगाडि भन्छन्, “तर, समाजलाई दिनुपर्ने कुरा दिन सक्दैन । अन्ततः पत्रकारिता कमजोर हुँदा समाज घाटामा पर्छ ।” 

जिम्मेवारी वहन गर्नु नपर्ने, सजिलै आर्जन गर्न सकिने पेसामा पत्रकारिता परिणत हुँदै जाने खतरा देख्छन्, उनी ।

पुराना सञ्चारमाध्यम प्रविधिको विकास र विस्तारसँगै असान्दर्भिक हुँदै जानु र नयाँ माध्यम आउँदै जानु स्वाभाविक भएको उनको भनाइ छ । तर, विषयवस्तु कसरी उत्पादन भइरहेका छन्, त्यो महत्त्वपूर्ण भएकामा उनको जोड छ । यहीँ नै कमजोरी भइरहेको उनको निष्कर्ष छ ।

राम्रो कन्टेन उत्पादन गर्न कति मिडिया हाउसले लगानी गरिरहेका छन् ? पत्रकार तथा सम्पादक राजेन्द्रको प्रश्न छ ।

“हिजो एउटा प्राइभेट ब्रोडसिटले पनि देशभर रिपोर्टर राख्थ्यो । कम्तीमा ५०–५५ जिल्लामा रिपोर्टर हुन्थे,” उनी भन्छन्, “आजका डिजिटल मिडियाले काठमाडौंबाहिर कति रिपोर्टर राख्छन् ? एउटा प्रदेश एकजनाले हेर्ने गरी पनि रिपोर्टर राख्न सकेका छैनन् ।” 

अनलाइन पोर्टलका रिपोर्टर त्यही अनलाइनमा मात्रै काम गरेर बाँच्न सक्छन् कि सक्दैनन् भन्ने गम्भीर प्रश्न रहेको उनको भनाइ छ । चार–पाँचवटा अनलाइन पोर्टलबाहेक अधिकांशले कपिपेस्ट गरेर काम चलाइरहेको उनको टिप्पणी छ ।

माध्यम आफैँमा समस्या नभएर कन्टेन कस्तो छ भन्ने कुराले अर्थ राख्ने राजेन्द्र बताउँछन् । पहिला कागजमा पढ्ने समाचार अब मोबाइल र कम्प्युटरको स्क्रिनमा पढ्नलाई समस्या नरहेको भन्दै उनी अगाडि थप्छन्, “कागजको पानामा समाचार उत्पादन गर्नेले विधि, प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने तर डिजिटलमा काम गर्नेले केही गर्नै नपर्ने, कपिपेस्ट गरे पुग्ने ? यसरी पत्रकारिता हुँदैन ।”

छापा पत्रकारिता सकिएको दिन नेपाली पत्रकारिता झनै दयनीय अवस्थामा पुग्ने सम्भावना रहेको राजेन्द्र बताउँछन् । छापा माध्यमका पाठक र केही पत्रकारलाई अनलाइनले आफूतर्फ ताने पनि आफ्नै स्रोतबाट समाचार उत्पादन गर्नतर्फ धेरैले लगानी नगरेको उनको टिप्पणी छ ।

कोभिड–१९ भन्दा अगाडि नेपाली विज्ञापनको बजार वार्षिक करिब १५ अर्ब रुपैयाँ थियो । त्यसपछि करिब ५० प्रतिशतले घटेको विज्ञापन बोर्डको तथ्यांकमा उल्लेख छ ।

बोर्डको तथ्यांकानुसार, कोरोनाअगडि नेपालमा विज्ञापनको बजार १३ अर्ब २३ करोड १९ लाख रुपैयाँ रहेकामा हाल ५० प्रतिशतसम्म घटेको छ ।

यो विज्ञापन बजारको करिब ५० प्रतिशत हिस्सा वाग्मती प्रदेशले ओगटेको बोर्डले जनाएको छ । कुल विज्ञापन बजारको ७१ प्रतिशत हिस्सा प्रिन्टमा जाने गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

“पछिल्लो समय डिजिटल मिडियातर्फ धेरैको आकर्षण छ । त्यसैले विज्ञापन पनि त्यहीअनुसार सिफ्ट भएको हुनुपर्छ,” विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं भन्छन्, “तर, यसको अध्ययन गर्न सकिएको छैन । दुई वर्षदेखि यो अध्ययनका लागि बोर्डले बजेट छुट्ट्याएर पनि अध्ययन गर्न सकेको छैन । सञ्चारमाध्यम र विज्ञापनदाता दुवैले सूचना नदिँदा यो अध्ययन हुन नसकेको हो ।”

परम्परागत माध्यम र डिजिटल मध्यममा चर्को प्रतिस्पर्धा हुँदा पछिल्लो समय वार्षिक ठूलो परिमाणममा विज्ञापन अनलाइन न्युज पोर्टलमा गइरहेको उनको भनाइ छ । “एकातिर परम्परागत मिडियामा प्रतिस्पर्धा हुनु र महँगो पनि भएकाले विज्ञापनदाता डिजिटल मिडियामा गएका छन् । अर्को पक्ष, परम्परागत मिडिया र डिजिटल मिडियाबीच नै प्रतिस्पर्धा हुँदा पनि विज्ञापन डिजिटल मिडियामा आएको छ,” उनी अगाडि थप्छन्, “अर्को कारण, डिजिटल मिडिया सस्तो हुँदा पनि यतातर्फ विज्ञापन गइरहेको छ ।”

डिजिटल मिडियामा लक्षित समूह पहिचान गर्न सकिने र तथ्यांक लिन सजिलो भएकाले टार्गेट ग्रुपमा पुग्न पनि डिजिटल मिडियामा विज्ञापन क्रमशः बढिरहेको उनको भनाइ छ ।

डिजिटल मिडियाभन्दा पनि सोसल मिडियामा ठूलो परिमाणमा विज्ञापन गइरहेको बोर्ड अध्यक्ष हुमागाईं बताउँछन् । यद्यपि, फरेन करेन्सी बाहिर पठाउन भने सरकारले रोकेको छ । पाँच हजारभन्दा बढी फरेन करेन्सी रोक्नुपरे नियामक निकाय (नेपाल राष्ट्र बैंक)को अनुमति लिनुपर्छ ।

“विज्ञापनको हकमा भने नियामक निकाय विज्ञापन बोर्ड हो । हामीले कुनै विधि नबनाई सोसल मिडियामा विज्ञान दिन दिँदैनौँ भनेर रोकिदिएका छौँ,” बोर्डका अध्यक्ष हुमागाईं भन्छन्, “यसका कारण एफडीआई लिएर आएका कतिपय कम्पनी बन्द भइसकेका छन् । आधिकारिक च्यानलबाट पैसा पठाउन नसकेपछि यस्ता कम्पनी बन्द भएका हुन् ।”

सोसल मिडियामा विज्ञापन गर्न नदिँदा अर्बौं रुपैयाँ बाहिरिनबाट रोकिएको उनको दाबी छ । सोसल मिडियाको विज्ञापन रोकिँदा यसको फाइदा डिजिटल मिडियामा पुग्ने उनी बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro