काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धादिङ-चितवन क्षेत्रका पाँच रेस्टुरेन्ट, रिसोर्ट तथा स्टोर्सलाई ५० हजारदेखि दुईलाख १० हजारसम्म जरिवानासहित कारबाही गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनका क्रममा ती व्यवसायी कारबाहीमा परेका हुन् । विभागले गएको माघ ३० देखि फागुन ३ गतेसम्म सो क्षेत्रमा अनुगमन गरेको थियो ।
सो क्रममा ३० वटा होटेल तथा रेस्टुरेन्ट, ५ वटा मिठाई पसल, ५ वटा किराना पसल तथा खाद्य बजारको निरीक्षण गरिएको विभागले जनाएको छ ।
धादिङको रोराङ गाउँपालिकास्थित सिटी स्टोर्समा उपभोग्य मिति समाप्त भएको सिन्थेटिक भिनेगार, कृत्रिम रङलगायत भेटिएपछि सो स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सोही क्षेत्रको हिल टप रेस्टुरेन्टले पनि उपभोग्य मिति सकिएको मसला प्रयोग गरेको पाइएपछि विभागले ५० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो ।
धादिङ क्षेत्रको परिचित त्रिशूली रिभर साइड रिसोर्ट पनि विभागको कारबाहीमा परेको छ । लेबलिङ नभएका घिउ तथा ब्रेड प्रयोग गरेको पाइएपछि विभागले सो रिसोर्टलाई ५० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको छ ।
यस्तै, भरतपुरको दासढुंगास्थित अशोका रिसोर्ट प्रालिमा उपभोग्य मिति सकिएको मसला तथा पेय पदार्थ प्रयोग भएको पाइएपछि विभागले एकलाख रुपैयाँ जरिवाना गरेको छ ।
सोही क्षेत्रको मनकामना दर्शन प्रालि नामक रेस्टुरेन्टमा म्याद गुज्रिएको प्रशोधित दूध प्रयोग गरेको पाइएपछि दुई लाख १० हजार जरिवाना गरिएको छ ।
विभागले मोबाइल भ्यानमार्फत सो क्षेत्रका फलफूल तथा तरकारीको पनि अनुगमन गरेको थियो । सो क्रममा तरकारी र फलफूल भने मापदण्डबमोजिम नै पाइएको विभागले जनाएको छ ।