
काठमाडौं । आहा रारा पोखरा गोल्डकप । यो नेपालको मोफसलमा आयोजना हुने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यो प्रतिष्ठा कमाउन आयोजक सहारा फुटबल क्लबले पार गरेको संघर्षका थुम्काहरू थुप्रै छन् ।
नेपाली फुटबलले बर्सेनि मोफसलबाट थुप्रै प्रतियोगिताहरू पाउँछ । यीमध्ये केही प्रतियोगिता त यस्ता छन्, जुन आयोजना भएको अर्को वर्षदेखि नामसमेत नामेट हुने गरी हराएर जान्छन् । मानौँ, मोफसलमा आयोजना हुने प्रतियोगिताहरूको मुख्य समस्या नै निरन्तरताको हो । तर, यीमध्ये कास्कीको पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकप भने अपवादमा पर्छ । पछिल्लो अढाई दशकयता बर्सेनि आयोजना हुँदै आएको यस प्रतियोगिताको आफ्नै इतिहास छ, गर्विलो यात्रा पनि ।
“मोफसलको सबैभन्दा उदाहरणीय प्रतियोगितामा पर्छ– आहा रारा पोखरा गोल्डकप । यसको निरन्तरताको सिको नेपाली लिगले गर्न सक्नुपर्छ,” प्रतियोगिताको पहिलो संस्करणदेखि नै आहा रारालाई नजिकबाट नियालिरहेका सञ्जीव मिश्रले बाह्रखरीसँग भने । नेपाली फुटबल विश्लेषकका रूपमा परिचित उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रतियोगिता निर्देशकसमेत हुन् ।
विसं ०५८ सालमा पहिलो संस्करण आयोजना हुँदा ‘आहा रारा पोखरा गोल्डकप’ नाम जुरेकै थिएन । त्यसैकारण पहिलो संस्करणको नाम थियो– क्याराभान गोल्डकप । त्यसको अर्को वर्ष यस प्रतियोगिताको नाम फेरियो र बन्यो ‘आहा गोल्डकप’ ।
विसं ०६८मा आहाको पछाडि रारा पनि थपियो । त्यसयता ०८१ सालसम्म आइपुग्दा यो निरन्तर चलिरहेको छ । यही निरन्तरतालाई विशेषता बनाएको यस प्रतियोगिताले गएको शनिबारमात्रै २४औँ संस्करणको फाइनल खेल सफलतापूर्वक आयोजना गरेको छ । जहाँ नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि उचाल्यो ।
प्रतियोगिताको गर्व गर्न लायक इतिहास रहे पनि आहा रारा पोखरा गोल्डकपप्रति दर्शकको माया भने घट्दै गएको छ । त्यसैगरी जसरी पोखराको सिरानमा रहेको माछापुच्छ्रे हिमालको हिउँँ घट्दै छ ।
माछापुच्छ्रे अनि पोखरेली फुटबल
जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार नेपालको वार्षिक औसत तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस छ । र, यो वृद्धिदर आगामी एक दशकमा १.२ देखि ४.२ डिग्री सेल्सियससम्म बढ्ने अनुमान महाशाखाको छ ।
यसको प्रत्यक्ष असर नेपालको मौसम प्रणालीमा परेको छ । जसको परिणाम हिमालयन क्षेत्रको हिउँँ निरन्तर घट्दो छ । यसको ज्वलन्त उदाहरणमा पर्छ– माछापुच्छ्रे हिमाल । दशकअघिसम्म हिउँले ढकमक्क सेताम्मे हुने यो हिमाल अहिले ठिंग कालो पहाडमा मात्रै सीमित छ ।
शनिबारको फाइनलमा अधबैँशे उमेरका देखिने पोखराका स्थानीय गोविन्द बराल आफ्ना छोरा आकृष्ट बरालसँगै रंगशालामा उपस्थित थिए । छोरालाई भविष्यमा फुटबलर बनाउने लक्ष्य बोकेका गोविन्दले विगतमा सेताम्मे माछापुच्छ्रेको छायामा बसेर आहा रारा हेरेको यसरी सम्झिए– “हामी स–सानो छँदा यहाँ यही खेल हेर्न कति मान्छे जम्मा हुन्थे । यस्तो प्यारापिटको सुविधा कहाँ पाउनु त्यतिबेला । चिसो भुइँमा बसेर फाइनल हेरियो । अहिले त त्यो माहोल नै हरायो । हिउँले सेताम्मे बनेको माछापुच्छ्रेको छायामा बसेर फुटबल हेर्नुको मज्जा नै बेग्लै थियो ।”
तर, पछिल्लो समय माछापुच्छ्रेको हिउँ र पोखरेली फुटबलको माहोल दुवै घट्दै गएकोमा उनी विस्मित छन् । मैदानको सामान्य प्यारापिटतर्फ बसेका उनले खिन्न भावमा भने– “अहिले त पोखरामा न फुटबल माहोल छ न त माछापुच्छ्रेमा हिउँँ नै । समर्थक नहुँदा पोखरा रंगशाला खाली बन्दा हिउँ नहुँदा माछापुच्छ्रे कालापत्थर बनेको छ ।”
आहा राराको पछिल्लो १० संस्करण नछुटाई हेरेका छन्, हरिबहादुर भुजेलले । पोखरा जिरोकिलोका उनी शनिबार भएको फाइनलमा पनि आफ्नो काखेछोरी शिरीषासँगै उपस्थित थिए । छोरीलाई सँगै फुटबल हेर्न ल्याउनुको पछाडि हरिबहादुरको विशेष सपना छ– एक दिन छोरीलाई राष्ट्रिय स्तरको खेलाडी बनाउने । उनी पनि मोफसलकै प्रतिष्ठित प्रतियोगितामा वर्षैपिच्छे समर्थक घट्दा चिन्तित देखिन्छन् ।
“पहिलेको हेरी अहिले धेरै परिवर्तन आएको छ । समर्थकहरूका निम्ति बस्ने प्यारापिट भर्खरैमात्र बनेको हो । केही वर्षअघिसम्म यस्तो थिएन । अहिले प्यारापिट भए पनि समर्थकको उपस्थिति भने निकै कम देखिन्छ । यसमा ठ्याक्कै यही कारण हो भनेर त भन्न सक्दिनँ, तर, यसबारे सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । म आफूले भने पछिल्लो १० वर्षे अवधिमा कम्तीमा फाइनल खेल छुटाएको छैन ।”
आहा राराको खेल हेर्न मैदानमा उपस्थित न्यून दर्शकप्रति प्रतियोगिता निर्देशक मिश्रको धारणा पनि बराल र भुजेलको जस्तै छ । तर, उनी पोखराको फुटबल माहोललाई माछापुच्छ्रेसँग तुलना गर्न हिचकिचाउँछन् ।
“आहा रारा गोल्डकपको पहिलो जति चर्चा हुन्थ्यो, त्यस्तो छैन नै । अहिले आयोजक सहारा क्लबलाई नै अर्को सहारा आवश्यक परेजस्तो देखिन्छ । समर्थकमा पनि प्रतियोगिताप्रति खास चासो देखिँदैन,” बाह्रखरीसँगको कुराकानीमा उनले भने, “फुटबलप्रतिको लगावमा कमी आए पनि ठ्याक्कै माछापुच्छ्रेको हिउँँ हराएजसरी माहोल हराएको भन्न अलि मिल्दैन जस्तो लाग्छ । अहिले फुटबलमा समर्थक अरु खेलमा सरेजस्तो देखिन्छ । आहा रारामा समर्थकलाई पहिलेजस्तै मैदानमा ल्याउन आयोजकले अलि रचनात्मक ढंगले सोच्न आवश्यक छ ।”