
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले अन्तरमन्त्रालय समन्वयको कानुन खाँचो देखिएको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले बबरमहलमा नै पानीको पाइप फुटेर विकासको मोडेलको असफलता देखिएको बताइन् ।
“चार दिनअघि सिंहदरबारको दक्षिण ढोकानजिक बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत मात्र भएन । मुलुककै प्रशासनिक केन्द्रको मुटुको यस्तो घटना हुनु केबल एउटा पाइप फुट्ने विषय मात्र होइन, हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभावको ज्वलन्त उदाहरण हो,” गौतमले भनिन् ।
उनले एक अर्कासँग समन्वय नगर्दा विकासको ढाँचा धराशायी बन्न पुगेको टिप्पणी गरिन् । “तीन तहका सरकारबीच समन्वयका लागि अन्तरसरकार समन्वय ऐन २०७७ छ । तर, अन्तरमन्त्रालय समन्वयको कानुनको खाँचो देखियो । अब यस्तो लापरबाही कहिल्यै नहुने कडा कानुनी दायरासहितको प्रभावकारी संरचना निर्माण प्रणाली आवश्यक छ । दोषारोपण गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्छ,” उनले भनिन् ।