site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘धीमहि’ले बनाएको गर्भविम्ब

पेसाले ग्राफिक्स डिजाइनरका रूपमा काम गरिरहेका जयराम तिमल्सिनाले धेरै साहित्यिक कृतिलाई पुस्तकककार स्वरूप दिए । सुन्दर आवरणका लागि उचित सल्लाह र चित्र बनाए । साहित्यमा औधी रुचि राख्ने उनले अन्ततः एक उपन्यास रचना गरे, ‘धीमहि’ ।

धीमहि अर्थात् ध्यान, बुद्धि । पूर्वीय दर्शनजगत्मा धीको अर्थ कुनै वस्तुबारे सोच्नु वा ध्यान गर्नु हुन्छ । उपन्यासकारको लामो समयको इच्छाशक्तिबाट निर्मित ‘धीमहि’ले गायत्री मन्त्रमा प्रचलित शब्दलाई आत्मसात् गरेको छ ।

कलाकारको धर्म नै रचना गर्नु हो भन्ने मान्यतालाई उपन्यासले सारमा खिचेको छ । नौवटा शीर्षकमा सम्पूर्ण विषयवस्तु केन्द्रित यस उपन्यासमा आरोह, अनुप्रस्थ, अनुयोग, कमप, संयोग, तृष्णा, महासत्त्व, आत्मक र इतिअंश शीर्षकमा आख्यानको विस्तार गरिएको छ ।

नेपाली उपन्यासको दार्शनिक धारमा साहित्यकार तिमल्सिनाको यो पहिलो उपन्यास हो । पहिलो कृतिमार्फत नै उपन्यासकारले जीवनदर्शनप्रतिको गहन चिन्तन प्रस्तुत गरेका देखिन्छन् ।

पुस्तकको आवरण गायत्री मन्त्रलाई सम्झाउने शीर्षक र ऋषिको तेस्रो आँखा खुला रहेको देखाइएको छ । चेतनाको आँखा खुलेपछि बाहिरीजगत् हेर्न वास्तविक आँखाको आवश्यकता पर्दैन भन्ने सार त्यसमा प्रस्तुत भएको पाइन्छ ।

पूर्वीय दर्शनको विशाल क्षेत्रलाई समेट्दै उपन्यासभित्रको दर्शनले समेट्ने जीवन, सम्बन्ध, मृत्यु, अस्तित्व सत्य/असत्यलगायत विविध विषय उपन्यासमा समेटिएको छ ।

उपन्यासमा म पात्र अर्थात् विवेक, कलेजका सहपाठी पात्र दीपेन्द्र र सुयोग तथा आफ्ना घरपरिवारका श्रीमती, छोरी र अपराध अनुसन्धानमा कार्य गर्ने पुष्कर बस्नेतको मित्रताको प्रसंगलाई लिएर उपन्यासको आधारभूमि निर्माण गरिएको छ ।

जीवनलाई यात्रासँग जोडेर स्वच्छन्द विचरणमा रमाउने म पात्रले एक्काइस दिनको भ्रमणपछि आफ्नै घर फर्कंदा गरेका नवीन अनभूति र त्यसैका बीचमा घटेका सहपाठी मित्रको अनायासैको आत्महत्याको घटनामार्फत जीवन–मृत्यु दर्शनकोे विचार प्रस्तुत गरेका छन् ।

उपन्यासले बोकेको मृत्यु दर्शनलाई म अर्थात् विवेक पात्रमार्फत यसरी प्रस्तुत गरिएको छ–
कलासाहित्य पेजमा दीपेन्द्रको समाचार छापिएछ–आत्ममुक्तिको बाटोमा एक कलाकार शीर्षकमा त्यहीँ पुगेर आँखा रोकिए । बाँचुञ्जेल दीपेन्द्रलाई नसम्झे पनि मरेपछि समाचार छापेर पत्रपत्रिकाले आफ्नो धर्म पूरा गरेका थिए सायद । मेरा लागि भुल्न खोजेको विषय फेरि आँखा अगाडि आएर पोखियो (पृ. २४) ।

तिमल्सिनाले धीमहिमार्फत मनोगत विचार, ययावरीयपन, अनायासै भोग्ने मृत्युका साथै प्रत्येक मानिसले भोग्ने आत्मद्वन्द्व व्यवस्थापनका विकल्पहरूको खोजी गर्दै नयाँ विमर्शका लागि प्रशस्तै ठाउँहरू रहेको छ भन्ने कुरालाई प्रस्तुत गर्न खोजेका छन् ।

आत्मद्वन्द्वका आयाम र परिणामहरूले उपन्यासकारमा मिहीन र कलात्मक तवरले प्रस्तुत गर्दै मानवको चञ्चलता र अस्थिरपनलाई धीमहि अर्थात् ध्यानकै माध्यमबाट मात्र स्थिर हुन सकिन्छ भन्ने निचोड प्रस्तुत गरिएको छ ।

उपन्यासका माध्यमबाट जयरामले आफ्नो अनौठो शैली र समृद्ध शब्दकला प्रस्तुत गरेका छन्, जसले पाठकको मनमा गहिरो छाप छोड्नेछ भन्ने देखिन्छ । जीवनलाई सकारात्मक दृष्टिबाट अघि बढाउनुपर्ने भावनात्मक विचार र शब्दहरूको सरल प्रयोगबाट रचना गरिएको यस उपन्यासका गहन सत्य तथा विचारहरूले दार्शनिक मार्ग निर्माण गर्नेछन् भन्ने आशा राख्न सकिन्छ ।

बुनोटका हिसाबले छोटोमिठो वाक्यमा सरल, सुबोध्य भाषामा रचना गरिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro