
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या दैनिक बढेसँगै रेमिट्यान्स आयमा पनि वृद्धि भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत र व्यक्तिगत गरी दुई लाख ३० हजार ४३९ ले अन्तिम श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति एक लाख ६२ हजार ६२८ ले लिएका छन् ।
तर, पछिल्लो ६ महिनाको रेमिट्यान्स आयलाई हेर्दा साउनको तुलनामा भदौमा कम भित्रिएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । भदौमा भने साउनको तुलनामा रेमिट्यान्स आय करिब ८ प्रतिशतले खुम्चिएको देखिन्छ । असोजमा भने रेमिट्यान्स आय १४.२३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा असोज, मंसिर र पुसमा रेमिट्यान्स आय अघिल्लो महिनाको रेमिट्यान्स आयको तुलनामा वृद्धि भएको छ ।
नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड नै रेमिट्यान्स भएकाले अझै यो चक्र केही वर्षसम्म चल्ने रेमिट्यान्स क्षेत्रका जानकार तथा आईएमई डिजिटल सोलुसनका अध्यक्ष कृष्ण शर्मा बताउँछन् । “हाल वार्षिक चार/पाँच लाख मानिस विदेश गइरहेका छन्,” शर्माले भने, “कोभिडको समयमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या घट्यो र रेमिट्यान्स आयमा पनि कमी आयो । हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ ।”
२०७६ सालदेखि २०७८ को बीचमा रेमिट्यान्स आप्रवाह निकै घटेको उनी बताउँछन् । २०७९ को साउनबाट रेमिट्यान्स आयमा वृद्धि भइरहेको उनको भनाइ छ । यसरी रेमिट्यान्स घटेपछि वस्तु आयातमा प्रतिबन्ध लगाउनु परेको पनि उनी बताउँछन् । “विदेशी विनिमय सञ्चिति वृद्धि रेमिट्यान्स, पर्यटन, नियातबाट हुन्छ । सेवा व्यवसायबाट हुन्छ । नेपालमा कृषि उत्पादन कम फस्टाउन सकेको छैन । औद्योगिक विकास राम्रोसँग भएको छैन । आन्तरिक रोजगारीको सृजना पनि भएको छैन,” उनले बाह्रखरीसित भने, “तर, मुलुक विप्रेषणकै कारण विस्तारै चलिराखेको छ । नेपालको अहिलेको अवस्था हेर्दा केही दशकसम्म विप्रेषणले धानिरहने हामी अनुमान गर्न सक्छौँ ।”
राष्ट्र बैंकका अनुसार भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा एक खर्ब ४४ अर्ब १७ करोड, कात्तिकमा एक खर्ब १४ अर्ब ३२ करोड, मंसिरमा एक खर्ब १८ अर्ब ८० करोड र पुसमा एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
पछिल्लो ६ महिनामध्ये सबैभन्दा बढी असोजमा मात्र झन्डै डेढ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो महिना नेपालीहरूले मनाउने ठूलो पर्व दसैँका लागि विदेशमा भएका नेपालीहरूले रेमिट्यान्स बढी पठाएको देखिन्छ ।