
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति ५० प्रतिशत सकिएको छ । गत कात्तिक २३ गतेबाट सुरू भएको स्तरोन्नतिको कार्य ५० प्रतिशत सकिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति ८ घण्टा विमानस्थल बन्द गरी समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत काम भइरहेको छ ।
१५ अर्ब रुपैयाँ लागतको परियोजना कात्तिक २३ देखि माघ १८ सम्म १० घण्टा बन्द गरी काम सुरु भएको थियो । माघ १९ देखि स्तरोन्नति दुई घण्टा कम गरी काम भइरहेको छ ।
‘समानान्तर ट्याक्सी वे’ को काम करिब ५० प्रतिशत, ‘ह्याङ्गर एरिया डेभलपमेन्ट’ को काम करिब ४० प्रतिशत र ‘इन्टरनेशल एप्रोन’ को काम करिब ६० प्रतिशत गरी औसतमा ५० प्रतिशत सकिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कात्तिक २३ देखि चैत १८ सम्म १० घण्टा बन्द गरेर निर्माण गर्ने कार्यतालिका छ । तर, विमानस्थलमा अत्यधिक चाप तथा चौतर्फी दबाबले दुई घण्टा समयावधि घटाइएको हो ।
प्राधिकरणले बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गर्दै स्तरोन्नतिको काम गरिरहेको छ । यसअघि माघ १८ सम्म बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द हुन्थ्यो ।
“फ्रेबुवरी १ बाट दुई घण्टा समय घटाइएको हो । समय घटाएपनि निर्धारित मितिमै सक्ने योजनामा छौं,” उनले भने, “समय घटाएपछि केही असर त पक्कै छ । तर, निर्धारित समयमै काम सक्ने तयारीमा छौं ।”
कात्तिक २३ गतेदेखि सुरू भएको स्तरोन्नतिको काम करिब तीन महिनापछि ८ घण्टामा झर्ने भरेको थियो । माघ १९ देखि राति ११ देखि बिहान ७ बजेसम्म मात्रै स्तरोन्नतिको काम भइरहेको श्रेष्ठले बताए ।
“स्तरोन्नतिको समय ८ घण्टा भएपनि विमानहरू डिले हुँदा ७ घण्टा मात्रै काम गर्ने समय मिलेको छ,” उनले भने ।
प्राधिकरणले गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलमा ३० प्रतिशत उडानका लागि विमान कम्पनीहरूलाई सर्कुलर गर्यो । तर स्वदेशीसहित ५ कम्पनीमात्रै गएका थिए ।
काठमाडौंमा उडान गर्ने केही विमान कम्पनीहरू भैरहवातर्फ गए । तर, अधिकांशले उडान कटौती गरे । विमान कम्पनीहरूले उडान कटौती गरेपछि प्राधिकरणले तीन महिनापछि समयवधि २ घण्टा कम ग¥यो ।
आरएनपीएआर प्रणाली जडानपछि भैरहवामा चहलपहल
भिजिविलिटीको समस्या देखाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित गरेको थियो । त्यसको समाधानका लागि प्राधिकरणले आरएनपीएआर प्रणाली जडान गर्यो । आरएनपीएआर प्रणाली जडानपछि भैरहवामा पुनः चहलपहल सुरू भएको छ ।
जाडो मौसममा उडान र अवतरणको समस्या भएपछि भैरहवामा माघ १० देखि आरएनपीएआर प्रविधिबाट उडान–अवतरण सुरू भएको थियो । रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली जडानपछि ८०० मिटर भिजिविलिटीमा समेत उडान–अवतरण गर्न मिल्छ ।
यसले केही समय स्थगित गरेको विमान कम्पनीहरूले पुनः उडान गरिरहेका विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । क्यानले जनवरी २३ (माघ १०) देखि आरएनपीएआर प्रणालीको सुरूवात गरेको थियो ।
क्यानका सूचना अधिकारी ज्ञानेद्र भूलका अनुसार आरएनपीआर प्रणालीले ८०० मिटर भिजिविलिटीमा काम गर्नेछ । यसले जहाज उडान–अवतरणमा सहजता थपेको छ । जाडो महिनामा प्रतिकूल मौसमका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज होल्डमा बस्नुपर्ने वा डाइभर्ट हुनुपर्ने बाध्यता अन्त्य भएको छ ।
यसअघि भैरहवा विमानस्थलमा भीओआरडीएमई प्रणाली थियो । उक्त प्रविधिमा उडान–अवतरण गर्न न्यूनतम भिजिबिलिटी १८०० मिटर आवश्यक पर्छ । आरएनपीएआर प्रणाली जडानपछि भिजिविलिटीका कारणले स्थगित विमान कम्पनीहरूले उडान सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक तिवारीले जनाए ।
भैरहवाबाट जजिरा, फ्लाई दुवई, थाई एयर एशिया र नेपाल वायु सेवा निगमले उडान गरिरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने डोमेस्टिक र चार्टडबाहेक अन्य उडान हुन सकेका छैनन् । विमानस्थलमा अन्तर्राष्ट्रिय विमान उडान अवतरण गर्न कुनै असहजता नरहेको विमानस्थल जनाएको छ ।
क्यानले सबै कम्पनीले भैरहवा वा पोखरा जाने विश्वाससहित स्तरोन्नतिका कार्य सुरू गरेको थियो । तर, तीन आधा दर्जन विमान कम्पनी पनि नगएपछि स्तरोन्नतिका कामलाई तीव्रता दिएको छ । क्यानले चैत १८ को समयसीमा अन्तिम मान्दै तीव्र गतिमा निर्माण कार्य गरिरहेको श्रेष्ठ बताउँछन् ।
विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । यसरी अधिकांश कम्पनी काठमाडौं छाडेर नगएपछि क्यानलाई समय घटाउन दबाब परेको थियो ।