![यी आधारमा थपिँदै छन् सरकारी प्रतिष्ठानमा पीजीको सिट संख्या](https://12khari.top/uploads/posts/chikitsa-shiksha-aayog-1726103438.png)
काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी प्रतिष्ठानहरूमा चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको सिट संख्या थप्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको १७औँ बैठकले सबै सरकारी प्रतिष्ठान/कलेजहरूमा पीजीको सिट थप्ने निर्णय गरेको हो ।
कुन प्रतिष्ठानमा के आधारमा थपिन्छन् सिट ?
आयोगले हाल पीजीका एमडी/एमएस/एमडीएस कार्यक्रममा सिट संख्या थपेर पढाउने भएको हो । हाल पीजी तह पढाउने सरकारी प्रतिष्ठान/कलेज १६ र निजी मेडिकल कलेज २६ वटा छन् ।
आयोगले तिनमा शैक्षिक सत्र ०८१/०८२ का निम्ति एक हजार ८१५ वटा सिट निर्धारण गरेको छ । जसमध्ये निजीमा एक हजार २० र सरकारीमा ७९५ सिट प्रदान गरिएको थियो ।
अब भने आयोगले सरकारीमा २०९ सिट थप गर्ने भएको हो । पीजी अध्ययनका निम्ति करिब १० हजार विद्यार्थी पर्खाइमा रहे पनि सीमित संख्यामा सिट छुट्याइँदा ठूलो संख्यामा विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।
नेपालमा सिट नहुँदा चिकित्सक जनशक्ति विदेशिन बाध्य भएको भन्दै सरोकारवालाहरूले पटक–पटक सिट संख्या थप्न सरकारलाई दबाब दिँदै आएका थिए ।
क्षमता र मागका आधारमा सिट संख्या थपिने आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए । “संघ र प्रदेशमा माग संख्या र अध्यापन क्षमताका आधामा सिट संख्या थप्ने निर्णय गरिएको हो, कुन प्रतिष्ठानलाई कति दिने भन्ने निक्र्योल भैसकेको छ,” उनले बाह्रखरीसित भने ।
प्रतिष्ठानहरूमा थपिने सिट संख्याबारे अन्तिम माइन्युटिङ नभइसकेकाले हाल सार्वजनिक नगरिएको उनले बताए । साथै, मेडिकल कलेजहरूमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या थप गर्नेबारे पनि छलफल अघि बढाएको छ । यसबारे अन्तिम निर्णय हुन भने बाँकी छ । हाल विदेशी विद्यार्थीका निम्ति कुल सिटको १० प्रतिशत छुट्याइएको छ ।