![निजामतीमा सूचना प्रविधि सेवा थपियो, संसद् र स्वास्थ्य सेवाबारे बहस](https://12khari.top/uploads/posts/rajbebasta-samiti-1739358848.jpg)
काठमाडौं । संघीय निजामती सेवामा सूचना प्रविधि सेवा समूह थप भएको छ । राज्यव्यवस्था तथा सुशासनको समितिको बुधबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावित दफा ५ पारित गरेको हो ।
जसमा नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा छन् । त्यस्तै, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल सूचना प्रविधि सेवा गरी ११ सेवा समूह छन् ।
हाल निजामती सेवामा १० वटा मात्रै सेवा छन्, सूचना प्रविधि सेवा समावेश छैन । सोही सेवा थप गर्नुपर्ने प्रस्ताव सरकारले ल्याएको हो ।
आजको बैठकमा संसद् र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने विषयमा लामो बहस भयो । सांसदहरूले यी दुई सेवालाई पनि निजामतीभित्रै राख्नुपर्ने मत राखेका थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतम र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलका प्रतिनिधिले दुवै विशिष्टकृत सेवा रहेकोले छुट्टै ऐनअन्तर्गत राखिएको बताए ।
पहिले छुट्याउनुपर्नाको कारण अध्ययन नगरी यसलाई राख्न नसकिने उनीहरूको भनाइ थियो । संसद् र स्वास्थ्य सेवाका विषयमा पछि छलफल गर्ने गरी समितिले सर्वसम्मत रूपमा दफा ५ पास भएको छ ।
आजको बैठकमा एउटा मात्रै दफामाथि पारित भयो । विधेयकमाथि छलफल ढिलाइ भएको भन्दै विवादित विषयमा उपसमिति बनाएर जान पनि सांसदहरूले सुझाएका छन् ।