site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कारबाहीका भागीदार अतिक्रमणकारीलाई नै जग्गा दिन भूमि अध्यादेश 

सरकारद्वारा जारी अध्यादेशले देश तताएको छ । संसद् अधिवेशन सुरु हुनुभन्दा केही दिनअघि जारी अध्यादेशमध्ये सबैभन्दा बढी विवादित भूमिसम्बन्धी अध्यादेश देखिन्छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको बण्डलभित्र भूमिसम्बन्धी प्रावधान राख्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले अरू अध्यादेश तुरून्तै जारी गर्नु र भूमिसम्बन्धी अध्यादेश केही दिन रोक्नुले विवादित भएको स्पष्ट पार्छ । त्यसकारण भूमिसम्बन्धी अध्यादेशमा विवादित दफा धेरै छन् र नियत पनि खराब देखिन्छ ।

यसअघि सार्वजनिक जग्गा, राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्र, वन–बुट्यान क्षेत्रका जग्गा बिक्री वितरण बाँडफाँड कानुनतः रोक थियो । अध्यादेशले खोलेको छ । यसको असर के हुन्छ भने केही वर्षदेखि राष्ट्रिय निकुन्जभित्र बसोबास गरिरहेका व्यक्तिलाई दिने भनिएको छ ।

Dabur Nepal

सार्वजनिक जग्गामा हाट बजारदेखि गौचर, घाटलगायतका ठाउँमा सार्वजनिक जग्गाहरू छन् । सरकारले आरक्ष र मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेलाई समेत सजिलै जग्गा प्राप्त हुने व्यवस्था अध्यादेशमार्फत गरिदिएको छ । 

अध्यादेशमा ‘अव्यवस्थित बसोबास गर्ने’ शब्द राखिएको छ । अव्यवस्थित बसोबास भन्नाले कस्तो हो ? अनि वर्गीकरण कसरी गर्ने ? यसमा सुकम्बासी र दलित भन्ने त बुझिन्छ । अन्य अव्यवस्थित बसोबास भनेको वास्तवमा अतिक्रमणकारी हुन् । जग्गाको अतिक्रमण गरेर संरचना बनाउनेहरू धेरै छन् । त्यसकारण अतिक्रमणकारीहरूलाई पनि हुनेगरी सरकारले अध्यादेशमार्फत खोलिदिएको छ । 

अर्को भनेको हदबन्दीअन्र्तगत घरजग्गा व्यवसाय गर्ने कम्पनीलाई हदबन्दी छूटको व्यवस्था गरेको छ । घरजग्गा व्यवसाय गर्न अनुमति लिएका कम्पनीले घर तथा अपार्टमेन्ट निर्माणमा हदबन्दीको व्यवस्था हटाएको छ । 

अपार्टमेन्टम तथा घर जग्गा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा धितो राख्न पाउने र मन्त्रालय वा कार्यालयको अनुमति लिई राख्न पाउने प्रावधान अध्यादेशमा छ । 

विशेषगरी घरजग्गा व्यवसायी कम्पनीलाई छूट गरेको छ । त्यसमा हदबन्दी छूटसम्बन्धी विशेष व्यवस्थामा घरजग्गा व्यवसाय गरेर अनुमति लिएका कम्पनीले अपार्टमेन्टलगायतका संरचनाहरू बनाउने कम्पनीलाई छूटको व्यवस्था गरेको छ । हदबन्दीभन्दा बढीको जग्गा खोल्नुमा आर्थिक चलखेल भएको देखिन्छ । 

यसअघि पनि गिरिबन्धुमा चलखेल हुँदा सर्वोच्चले रोकिदिएको थियो । जग्गाका विषयमा गिरिबन्धुमा सर्वोच्चको फैसला नै पर्याप्त छ । त्यसलाई कार्यान्वयन गर्ने मात्रै हो । कांग्रेस महामन्त्री गगन थापा पनि अर्कै गठबन्धनको सरकार हुँदा सर्वोच्चको फैसला कार्यान्वयन गरेमात्र हुने बताउन हुन्थ्यो ।

सरकारले ल्याएको अध्यादेशले वनको क्षेत्रफल घट्नेछ । सार्वजनिक जग्गा मिचिने भयो । आरक्षभित्रका जग्गाहरू पनि वितरण गर्ने कार्य बढ्ने देखिन्छ । 

यसमा सबैभन्दा अर्को महत्वपूर्ण कुरा के हुने भयो भने राजमार्गको छेउ, मध्यवर्तीभित्र जग्गा अतिक्रमण गरेर बसेकाहरू ठूलो मुआब्जाका हकदार हुने भए । पहिला अतिक्रमण पनि गरे । केही वर्ष बिताइसकेपछि मालिक पनि हुने भए अध्यादेश ल्याएर राज्यले लालपुर्जा पनि दिनेभयो । 

सरकारले वृक्षारोपणका नारा अब बन्द गरे हुन्छ । वृक्षरोपणका नाममा अन्तर्राष्ट्रिय निकायबाट सहयोग लिने र ठग्नेलगायतका कामहरू भइरहेको छ, त्यो बन्द गरे हुन्छ । 

किनभने वन–बुट्यान, सार्वजनिक जग्गा भोगमा दिएपछि वृक्षारोपण कहाँ गर्ने ? वन क्षेत्र समाप्त गर्ने र वृक्षारोपणको नाटक पनि गर्ने ? यो एउटा दीर्घकालीन असर गर्ने अध्यादेश आएको छ । 

भोलि पूर्वाधारका संरचनाका किनारमा यस्ता बसोबास गर्नेहरू सबैलाई मुआब्जा दिनुपर्नेछ । निजी मात्रै होइन सरकारले बनाउने संरचनाहरूमा पनि निकै मूल्यवृद्धि हुने देखिन्छ । सरकारी जग्गा नरहेपछि जग्गा किनेर बनाउनुपर्दा संरचनाको लागत बढ्ने नै भयो ।

यसकारण निजी क्षेत्र र सरकारलाई नै पर्ने भार बढ्ने भयो । अर्को कुरा जग्गा दिएर गरिबी निवारण गर्न सकिँदैन । सकिँदैन भन्ने अनुभव त राजा महेन्द्रको पालादेखि अहिलेसम्मको अवस्थाले देखाउँछ । दोस्रो बाँझो जग्गा बढ्दै छ । पहाड पुरै खाली हुँदै छ । सहरी क्षेत्र र विदेशमा बसोबास बढिरहेको छ । कृषियोग्य जमिनहरू खाली बसिरहेको छ । त्यसको व्यवस्थापनतर्फ सरकारले केही सोचेको छैन । 

भूमि वितरण गरेर मात्रै गरिबी निवारण हुँदैन । यसअघि सरकारले गरिबी निवारण कोष स्थापना गरेको थियो । यसमा अर्बौ रूपैयाँ अपचलन र भ्रष्टाचार भएको छ । त्यो कोष कता हरायो र के गर्‍यो थाहा छैन । 

सरकारले ११ लाख भूमिहीनलाई जग्गा वितरण गर्ने भनर दलिल पेस गरिरहेको छ । त्यसको आधार के हो ? ११ लाख भूमिहीन छ भन्ने आँकडा कहाँबाट आयो ? दलितहरूले त पाएकै छैनन् । पाएका छन् कसैले भन्छ भने त्यो शब्दको दुरूपयोपग मात्रै हो । 

सुकुम्बासीहरूले त्यो जग्गा प्रयोग गरेका छैनन् । प्रयोग गर्नेहरू निकै कम छन् । वनका जग्गा र बुट्यान फाँडेर बसेकाहरू जो छन् उनीहरू एक ठाउँमा घर भएको र अर्को ठाउँ ओगटेर बसेका हुन् । ती भूमिहिनहरू हुँदै होइनन् ती त ठगहरू हुन् । सरकारले गलत आँकडा दिइरहेको छ । १० लाख ११ लाख भूमिहीन छ भने ती कहाँ छन्, सरकारले त्यसको आँकडा देखाओस् । कुन जिल्लामा कति छ, सरकारलाई त्यो आँकडा देखाउन म चुनौती दिन्छु । 

अव्यवस्थित बसोबास भनिएको छ । अव्यवस्थित बसोबास भनेर आरक्षभित्र सार्वजनिक जग्गा ओगटेर जो बसिरहेका छन् । अर्को भाषामा अतिक्रमणकारी लागि यो अध्यादेश ल्याइएको हो ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनावटी आयोग बनाउँदै पद बाँड्दै हुनुहुन्छ । कार्यकर्ता पाल्ने पोस्ने, रोजगारी दिन खोजिँदैछ । 

अर्को सबैभन्दा डरलाग्दो कुरा कृषियोग्य जमिनहरू दिँदा त्यसको मूल्यांकन गरेर २५ प्रतिशत सम्बन्धित व्यक्तिले बुझाउनुपर्ने व्यवस्था थियो । चार वटा वर्गीकरणमा ७० प्रतिशतसम्म राजस्व तिर्नुपर्ने व्यवस्था थियो । नयाँ अध्यादेशमा त्यो प्रावधान हटाइएको छ । यसका कार्यविधि वा निर्देशिकाअनुसार गर्ने भनिएको छ । 

यसमा हाम्रो तथ्यगत बुझाइ के छ भने यसलाई १० प्रतिशतमा झार्ने, मूल्यांकन गरेर त्यसको १० प्रतिशत मात्रै राजस्व बु्झाए हुन्छ भन्ने भित्रभित्र चलखेल भइरहेको छ । 

त्यसकारण यो अध्यादेश निकै डरलाग्दो र देशलाई दीर्घकालीन असर, वन अतिक्रमण बढाउने देखिन्छ । वन वा सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बसे भोलि त आफ्नो नाममा दर्ता भइहाल्छ नि भन्ने कुरा देखाउँछ । बाटो किनारमा रहेका र बाटो बढाउँदा त्यहाँका जग्गाधनीहरू ठूलो मुआब्जाका धनी हुने भए । यसमा सरकारी जमिन अतिक्रमण गर्नेहरूपनि त्यो लाभ लिने भइहाले । 

त्यसकारण सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन । 

यस्तै कालाबजारी ऐन २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्थामा मस्यौदा तयार हुँदा नै व्यापारीले फाइदा लिए । विशेषगरी सिमेन्ट उद्योगले त्यसको लाभ लिइसके । सरकार अझै बेहोस् छ । सिमेन्ट उद्योगको लागत बढेको हो कि ? अथवा अन्य केही कारण हो कि ?

सरकारले किन त्यसरी मूल्यवृद्धि भयो भनी सुइँको पाउन सकेको छैन । अथवा मिलिभगत धन्दा गरिँदैछ ? २० प्रतिशत हटाएको हुनाले त्यसको अझै ठूलो असर उपभोक्ता र बजारले भोग्न बाँकी नै छ । त्यसकारण यो दुईटा अध्यादेशको विषयमा बढी ‘रिजर्भेसन’ देखियो । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने, गरिबको उत्थान गर्ने भन्ने कुरा ‘निबन्ध’ मात्र हुन् । देशमा उद्योगका लागि वातावरण छैन । विदेशी लगानीसहित कोही आउनेवाला छैन । 

देशका उद्योगपतिहरूले पुँजी जति विदेशमा लग्दै उतै लगानी बढाउँदै छन् । पहिला आफ्नो लगानी नेपालमा ल्याउनुपर्छ । उनीहरूले स्वदेशमा लगानी गरे पो विदेशीलाई आर्कषित हुन्छन् । नेपाली व्यवसायी गएर विदेशमा लगानी गर्ने, यहाँभन्दा ११÷१२ गुणा बढी ट्याक्स तिर्दैछन् । अनि नेपाली उद्योगपति नै विदेशमा लगानी गरिरहेका छन् भने यहाँ को लगानी गर्न आउँछ ?

भूमिसम्बन्धी अध्यादेश र कालाबजारीसम्बन्धी अध्यादेश त ‘इफेक्टिभ’ भइहाल्यो । जिल्लास्तरीय आयोगहरू बनिसकेको छ । तिनले ७७ जिल्लाहरूमा आफ्नो धन्दा पानी सुरू गरिहाल्छन् । 

अध्यादेश पारित गर्ने मामलामा राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल (जसपा)को संख्या निर्णायक शक्तिको रूपमा देखिएको छ । जसपा अध्ययनकै क्रममा छ । बाहिर ‘बार्गेनिङ’ गर्‍यो भन्ने कुरा आइरहेको छ । वार्गेनिङ त सत्ताले गरिरहेको होला, यसमा सहयोग गरिदिनुहोस् र त्यो गरौंला भन्दै । 

अध्यादेशार्फत मधेशवादी दलहरूको गठबन्धनको टुक्रिने भन्ने कुरा आइरहेको छ । त्यसमा सत्यता छैन । यो आठ दलमा धेरै त सरकार र संसदमा हुनुहुन्छ । निश्चित विषयमा हामीले सहकार्य गर्छौ भनेका छौं । सरकारबाट हटाऊ वा सरकारमा जाऊ भन्ने गठबन्धनको आशय होइन । यो कसैको सरकारविरूद्ध लक्षित पनि होइन । पार्टी वा समुदायविरूद्ध लक्षित पनि होइन । जहाँ बसे पनि केही विषयमा हामीसँगै काम गरौं भनेर मात्रै हो । 

अध्यादेशका कुराले मधेशवादी दलहरूको गठबन्धन फट्छ भन्ने जुन प्रचार गर्न खोजिएको छ, त्यसमा सत्यता छैन । उपेन्द्रजी सरकारमा जानुभयो भने गठबन्धनलाई असर पार्छ भन्ने कुरा होइन । सरकारमा त छँदैछन् नि अरू पार्टीहरू पनि । सरकारमा को रहने र को नरहने कुरा गठबन्धनले निर्णय गर्दैन । यसमा सम्बन्धित पार्टीहरूले स्वःनिर्णय लिने हो ।

(पूर्वमन्त्री त्रिपाठीसँग बाह्रखरीका कमल धितालले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro