site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई महिना प्रलोभनमा पारेर पाटनबाट बालकको अपहरण, भारत पुर्‍याएर बेच्ने योजना
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार (माघ २५) राति एक भियतनामी युवकलाई पक्राउ गर्‍यो । कार्यालयको ललितपुरको टोलीले २३ वर्षीय माई हाङ किन्हालुनलाई कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले एक चार वर्षीय बालकलाई अपहरण गरेर बन्धक बनाएका थिए । ललितपुरको पाटनबाट बिहीबार (माघ २४) उनले सरिता तामाङका चार वर्षीय छोरालाई अपहरण गरेका थिए । अपहरण गरेर कलंकी पुर्‍याएको खुलेपछि उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका किन्हालुनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पाटन दरबार स्क्वायरमा भेटिएका ती बालकलाई उनले विभिन्न खानेकुरा किनेर खुवाएर प्रलोभनमा पारेपछि अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, गएको डिसेम्बर २५ (पुस १०) मा किन्हालुन क्रिसमस पर्व मनाउन पाटन पुगेका थिए । त्यहाँ पीडित बालक र उनका दाइसित भेट भएको थियो ।

किन्हालुनले त्यो दिन पीडित बालकका दाइसित परिचय गरे । बालकलाई आलुचिप्ससहित केही खानेकुरा पनि किनिदिए । किन्हालुन त्यसपछि पनि दिनहुँजसो पाटन पुग्ने गरेको खुलेको छ ।

सामान्य परिवारका ती बालक पाटन आसपास डुल्ने गर्थे । माघ २४ गते बेलुका करिब ८ः३० बजे भने पाटनबाट बालक अपहरणमा परेको सूचना प्रहरीले पायो । सोही सूचनापछि खटिएको प्रहरी टोलीले किन्हालुनलाई कलंकीस्थित इलाम मेची गेस्टहाउसमा बालक बन्धक बनाएर राखेको अवस्थामा पक्राउ गरेको हो ।

यसरी परे पक्राउ
प्रहरीले पाटन कृष्णमन्दिर क्षेत्रबाट बालक अपहरणमा परेको सूचना पाएको थियो । त्यसैले मन्दिर क्षेत्रको निगरानीका निम्ति राखिएका सीसीटीभी फुटेज प्रहरीले हेर्‍यो ।

कृष्णमन्दिरनजिकै ढालचा चोकबाट बालक र एक युवक शंकास्पद तरिकाले ट्याक्सीमा चढेको देखियो । तर, बालककी आमाले फुटेजमा देखिएका आफ्नै छोरा भए/नभएको यकिन गर्न सकिनन् । प्रहरीले भने उक्त ट्याक्सीबारे अनुसन्धान तीव्र पार्‍यो । इनड्राइभमार्फत ट्याक्सी ‘बुक’ गरिएको अनुसन्धानका क्रममा खुल्यो ।

तर, पाटनबाट गुडेको ट्याक्सी ललितपुरकै झम्सीखेलमा रोकिएको देखियो । त्यहाँबाट पुनः अर्को ट्याक्सी परिवर्तन गरिएको खुल्यो । सुरुमा चढेको ट्याक्सीमार्फत प्राप्त ‘क्लु’ले नै किन्हालुनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

अनुसन्धानमा संलग्न ती प्रहरीका अनुसार, किन्हालुन झम्सीखेलबाट सुन्धारास्थित गुरु होटेलमा पुगेर बसेको खुलेको थियो । गुरु होटेलबाट पनि उनीहरू शुक्रबार बिहानै बाहिरिइसकेका थिए । सुन्धाराबाट कलंकीको होटेलमा पुगेर बसेको खुलेपछि प्रहरी त्यहाँ पुगेको थियो । कलंकीबाट प्रहरीले किन्हालुन नियन्त्रणमा लिएर बालकलाई बन्धनमुक्त गरेको हो ।

उनी प्रहरीले पक्राउ गरेकै दिन (माघ २५) बिहान साढे १० बजे काठमाडौंबाट वीरगन्ज हुँदै भारत जाने योजनामा थिए । वीरगन्ज जान उनले बसका दुइटा टिकट समेत किनिसकेका खुलेको छ ।

नक्कली भारतीय आधार कार्ड फेला
पक्राउ परेका ती भियतनामी युवक किन्हालुनका साथबाट प्रहरीले नक्कली भारतीय आधार कार्ड फेला पारेको छ । प्रहरीले उनका साथबाट तीन मोबाइल, दुई हजार भियतनामी दोङ (रकम) र एकथान चक्कु समेत बरामद गरेको छ । उनी सन् २०२३ डिसेम्बर २७ मा पहिलोपटक नेपाल आएको अनुसन्धानका क्रममा खुलेको छ ।

पहिलोपल्ट नेपाल आउँदा उनी यहाँ ११ दिन बसेका थिए । त्यति बेला भियतनाम नफर्की उनी भारत गएका थिए । २०२४ अप्रिल २७ मा दोस्रोपटक उनी भारतको पञ्जाबबाट सडकमार्ग हुँदै नेपाल छिरे । त्यसयता उनी काठमाडौंका विभिन्न ठाउँमा बस्दै आएका थिए । योपल्ट बालकलाई समेत पञ्चाब लैजान खोजेको प्रहरीको बुझाइ छ ।

पछिल्लो समय उनी स्वयम्भू, कपन, बौद्धलगायत स्थानका गुम्बाहरूमा पुगेर लामा भाषा समेत पढिरहेका थिए । उनले बालकलाई भारत पुर्‍याएर मानव तस्करहरूलाई बिक्री गर्ने योजनामा बनाएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro