site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले बन्धक बनाएका थप तीन इजरायली स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टाइनी रिहा

जेरुसेलम/गाजा । सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरित थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी आफ्ना जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ । 

तीन इजरायली बन्धक ५६ वर्षीय ओहाद बेन अमी, ५२ वर्षीय एली शाराबी र ३४ वर्षीय या लेवीलाई रिहा गरिएको हो । शनिबार नै उनीहरूलाई परिवार र आफन्तको जिम्मा लगाइएको छ । 

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल–बलाह सहरको तोकिएको हस्तान्तरणस्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)को जिम्मा लगाएको थियो ।

कमजोर र थकित देखिएका तीनै बन्धकलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्न हमासले निर्देशन दिएको थियो । उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले उनीहरूलाई आईसीआरसीलाई सुम्पेको थियो ।

ती तीन बन्धकलाई मध्य गाजाबाट आईसीआरसीको टोलीले सीमामा तैनाथ इजरायली रक्षा बल (आईडीएफ)सामु पु¥याएको थियो ।

इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक–कैदी अदलाबदलीको यो पाँचौँ समूह हो ।

इजरायलले शनिबार नै जेलबाट थप १८३ प्यालेस्टाइनी कैदीलाई रिहा गरेको छ । गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टाइनी कैदीलाई रिहा गरेको हो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लबका प्रमुख अब्दुल्लाह अल–जाघारीका अनुसार, रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिका बसबाट रामल्लाह ल्याइएको छ । रिहा भएका प्यालेस्टाइनीलाई सहरको एउटा चोकमा ठूलो भीडले स्वागत गरेको टीभी फुटेजमा देखाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro