site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गरिबी

“सातसातजना छोराछोरी कसरी हुर्काएँ हुँला ? आफ्नो नाउँमा केही थिएन, ऐलानी जग्गामा सानो कटेरो हालेर बसेँ । मेलापात, घाँसदाउरा, दुःखसंघर्ष कति हो कति,” पुतलीले दुःख बिसाई ।

कमली र पुतली सानैदेखिका मिल्ने साथी । सँगै पढे, सँगै बढे । बिहेपछि उनीहरूको भेट भएको थिएन । लामो समयपछि संयोगले भेट भएको अवस्थामा दुवै दुःखसुख साट्दै थिए ।

पुतलीका कुरा सुनेपछि कमलीले उसको घाउमा मल्हम लगाउने प्रयास गरी, “घरका लोग्नेमानिसले स्वास्नीको दुःख नबुझेपछि आइमाईलाई बाँच्नै गाह्रो हुने !”

Dabur Nepal

“आफ्नो त लोग्ने भन्नु कि शत्रु, घरको केही मतलब राख्दैनथे । आफैँ कमाउने आफैँ रमाउने पाराका, दिउँसै झ्याप हुने । कानो गोरुलाई औँसी न पुर्ने भनेजस्तै । सम्झाएकै नलाग्ने । तिनको बानीले गर्दा होला, मलाई सबैले हेप्थे ।”

कमलीले जिज्ञासा राखी, “यसरी बिग्रेका लोग्नेलाई तैँले विदेश पठाइनस् ? पसिना बगाउनुपरेको भए चेत खुल्थ्यो नि !”

विगत सम्झिँदै उसले भनी, “छोराछोरी सानै थिए । घरमा ऋण लागेर हैरान । यसै ऋण उसै ऋण भन्ने लाग्यो । अनि, ऋण खोजेरै उनलाई कुवेत पठाएँ ।”

कमलीले भनी, “बुझक्की नै रहेछन् त, कमाइ पनि त पठाए होलान् !”

“लोग्नेसँगको बिछोड भए पनि केही वर्ष त खर्च सजिलै भयो । केटाकेटीले अलिअलि पढ्न पाए । तर, फर्किएपछि उही पुरानै चाला । सुध्रिएनन् । म के गरौँ ?”

पुतलीको व्यथा सुनेर कमलीको मन भारी भयो । शब्दले सम्झाउन उसले हरतरह प्रयास गरी ।

पुतलीले भनी, “ल, बिदा मागेँ । मलाई पनि अस्पताल पुग्नु छ । एउटा धनाढ्य मानिस मिर्गौला फेल भएर आईसीयूमा छ रे !”

उसले आत्तिएर सोधी, “के, किन ?”

मलिन भएर पुतलीले भनी, “मलाई बाँच्नका लागि दुइटा किड्नी किन चाहियो र ? एउटै भए पुगिहाल्छ नि !”

(गैँडाकोट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro