काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले दुई पुरस्कारको निर्णय गरेको छ ।
हालै बसेको प्रतिष्ठानको कार्यसमिति बैठकले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्खिमलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र नेपालगञ्ज निवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । यी दुई पुरस्कारकासाथ क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ नगद राशि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
साहित्यकार नन्द हाङ्खिमको सन् १९७२ मै ‘प्रेमालाप’ शीर्षकको मुक्तकसंग्रहका साथै विभिन्न विधामा डेढ दर्जन कृति प्रकाशित छ । त्यस्तै, साहित्यकार खगेन्द्र गिरी कोपिलाको ‘डुबे पनि डुब्दैन घाम’ (२०६२), ‘आफ्नै छाल आफ्नै किनारा’ (२०६५), ‘स्वीकृत रहर’ (२०७५), ‘कालध्वनी’ (२०८०) मुक्तककृतिलगायत डेढ दर्जनकृति प्रकाशित छ ।
दुवै स्रष्टाले मुक्तकको उन्नयनमा गरेको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका नाउँमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोनेद्वारा स्थापित यी दुवै पुरस्कारहरू प्रतिष्ठानको बाह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा प्रदान गरिने जनाइएको छ ।