site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको दाबी : अध्यादेशप्रति आमरूपमा सकारात्मक प्रतिक्रिया आएको छ 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०८४ को चुनावपछि मात्रै सरकार परिवर्तन हुने स्पष्ट पारेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

प्रधानमन्त्री ओलीले केहीले सरकार ढल्छ भन्दै पटक–पटक मिति तोक्ने काम गरेको भन्दै ०८४ को चुनावपछि मात्रै परिवर्तन हुने स्पष्ट पारेका हुन् । सहमतिअनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । 

ओलीले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको स्पष्ट पारे । उनले राष्ट्रिय राजनीति लोकतान्त्रिक मूलधारको एउटा ट्रयाकमा अगाडि बढे पनि केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टि जनाए । 

उनले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको धारणा राखे । उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए । 

प्रधानमन्त्री ओलीले नेपाल दुवै छिमेकी मुलुकसँग साँच्चैको सन्तुलित, मित्रतापूर्ण, आशंकारहित र पारस्परिक लाभका आधारमा सुदृढ गर्दै लाने र छिमेकीको विकासको लाभ लिने बताए । उनले नेपालले छिमेक सम्बन्धलाई विशेष प्राथमिकता दिने र अन्तर्राष्ट्रिय सम्बन्धलाई देखिने र सुनिने बनाउने पनि जनाए । 

“केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको छ । हामी शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रमा ध्यान दिएर काम गरिरहेका छौँ । हामीले सरकारका नेतृत्व गरिरहँदा असाधारणरुपमा काम गर्नुपर्दछ,’’ प्रधानमन्त्री ओलीले भने, “श्रीलंका र बंगलादेशका उदाहरणका कुरा गरे पनि नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।”

ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवाररूपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरूलाई आग्रह गर्दै अरूले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए । 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र विद्यमान कानुनमा गरिएको संशोधनको आवश्यकताबारे प्रकाश पारेका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro