साहित्य
तिज आउनु दुई महिनाअघिदेखि नै कलाकारलाई तिज लाग्छ । गीत गाउनमात्रै होइन, देशविदेशमा स्टेज कार्यक्रम महिनौंअघिदेखि हुन्छन् । तीन दिन मनाइने पर्व तीन महिना मनाइन्छ । महिलाको पर्व भनिए पनि पुरुष हावी हुन्छन् । गीत गाउनेदेखि ‘स्टेज शो’ गर्नेसम्म महिलाभन्दा पुरुष नै बढी हुन्छन् । कला, संस्कृति र परम्परा भनिए पनि तिजमा मायाँप्रेम मिसिँदै गयो । यतिसम्म त ठिकै हो, यौन पनि भित्रिन थाल्यो तिज गीतमा । तर, मिलन लामा यस्ता गायक हुन्, जो महिलाको पर्व भनेर तिज गीत गाउँदैनन् । तिज गीतका नाममा देखिएको विकृति र विसंगतिप्रति उनको चिन्ता छ । उनी भन्छन्, “यसले हामी र हाम्रो तिजलाई कहाँ पुर्याउँदैछ भन्ने प्रश्न उठ्न थालेको छ । लामासँग बाह्रखरीले गरेको कुुराकानीः
तपाईं तिजका गीत किन गाउनुहुन्न ?
मलाई नैतिकताले दिएन । अरुले गाउँछन् गाउँदैनन्, त्यो आफ्नो ठाउँमा होला । तर, लोकगीतलाई हामी परम्परा मान्छौं भने पुरुषले तिजका गीत नगाएको राम्रोजस्तो लाग्छ मलाई । राज्यले पुरुषले तिज मनाउनुपर्छ भनेको छैन । तिजका गीत गाउनुपर्छ पनि भनेको छैन । यदि राज्यले मान्यता दिएको हुन्थ्यो भने तिजमा पुरुषलाई पनि बिदा दिन्थ्यो होला । त्यही भएर मैले तिजका गीत नगाएको हुँ ।
राज्यले तिजका गीत पुरुषले गाउनु हुँदैन पनि त भनेको छैन नि ?
तिज गीत पुरुषले गाए भनेर मेरो विरोध होइन, असहमतिमात्रै हो । विरोध र असहमतिमा फरक छ । राज्य मौन छ यसमा । तर, सत्य के हो भने संस्कृति र परम्परा बस्न एक पुस्ता बित्नुपर्छ । तिज गीत पुरुषले गाउन थालेको एक पुस्ता बितेको छैन । त्यसैले यो परम्परा पनि बनिसकेको छैन । अर्को कुरा, राज्यले पनि मान्यता दिएको छैन । त्यसैले हामी कलाकार राज्यका असल नागरिक हुन खोजिरहँदा घाटा भए पनि मैले गाएको छैन । मलाई आर्थिक रूपमा नाफा नहोला, तर आत्मसम्मान र सन्तुष्टि यसमै छ मलाई ।
राज्यले पुरुषलाई पनि तिजमा बिदा दियो भने ?
त्यो अवस्थामा राज्यले तिज पर्व पुरुषको पनि हो भनेको ठहर्छ । त्यो परिस्थितिमा भने सायद पुरुषले पनि गीत गाउँदा फरक पर्दैन । म पनि गाउँछु होला ।
तिजका गीत पुरुष कलाकार किन गाउँछन् होला ?
स्टेज कार्यक्रम पाउने आश होला एउटा कारण । अर्कोचाहिँ चर्चाको लोभ ।
जसले तिजका गीत गाइरहनु भएको छ । उहाँहरुले गैरकानुनी काम गरिरहनु भएको हो त्यसो भए ?
गैरकानुनी नै हो म भन्दिनँ । तर, राज्यले मान्यता नदिएको भने पक्कै हो । यसमा भने दुईमत छैन ।
यसो भनिरहँदा मिलन लामाले तिजलाई उपेक्षा गर्यो भन्ने अर्थ लाउँदैनन् मान्छेले ?
त्यस्तो अर्थ पनि लगाउन मिल्छ होला । तर, त्यो भने होइन । लोकगीत भनेको संस्कृति र परम्परा हो । लोकगीतलाई परम्परा भन्ने हो भने तिजका गीत महिलाले गाउनुपर्छ भन्ने हो । त्यसलाई आधार बनाएर मैले यो कुरा गरिरहेको छु । तिहारमा भैलिनी महिलाले र देउसी पुरुषले भनिरहेको छ नि हैन र ? मालश्री पुरुषले गाउने हो नि हैन र ?
किन यस्तो भयो होला ?
संगीतका नाममा अलि धेरै व्यवसाय गर्यौं कि हामीले ? तिजका गीतहरु अलि बढी अश्लील पनि भए । तीजकै दिन पोइल जान पाम भन्नुपर्ने ? मायाँ लगाउन पाम भन्नुपर्ने ? फलानो ठाउँमा भेट्न आऊँ भन्नुपर्ने ? यी कुराहरू गर्ने दिन अरु छैनन् ? अरु नै गीतमा यी कुराहरु गर्न सकिन्छ नि । तिज गीत कि रत्यौली हो भनेर छुट्याउन गाह्रो पर्न थालिसक्यो । यो त सरासर गलत भइरहेको छ ।
संगीतमा मोटो रकम खर्चिएपछि लगानी खोज्नु गलत हो र ?
होइन । तर, गीत भनेको तिजका मात्रै त होइन । गीतका विधा त धेरै छन् । युट्युबको खेती गर्न यौनका कुरा तिजमा मिसाउन पाइँदैन । संस्कृतिलाई नै चुनौती दिन मिल्दैन । सबै कुरालाई पैसामा तुलना गर्न मिल्दैन । मलाई पनि तिजका गीत गाउन अफर नआउने हो र ? तर मलाई नैतिकताले दिँदैन, त्यसैले गाउँदिनँ । दसैँका गीत मैले धेरै गाएको छु, तिहारका गीत गाएको छु । यो पटक पनि देउसी गीत गाउँदैछु । तपाईं हामीले थोरै पछि हट्दा, थोरै सभ्य र सुसंस्कृत हुँदा राम्रो हुन्छ भने किन नगर्ने भन्नेमात्रै हो ।
तिजका गीत किन धेरै गाइएको होला ?
स्टेज कार्यक्रम र छोटो समयमा चर्चाको लोभ । तीज जम्मा तीन दिन मनाउने पर्व हो । तर, यहाँ दुई महिनाअघिदेखि मनाइन्छ । संस्कृतिभन्दा पनि गीतलाई व्यवसाय र व्यवसायीको आँखाले हेर्दा यस्तो भयो जस्तो लाग्छ ।
यो नयाँ संस्कारले हामीलाई कहाँ पुर्याउँदैछ ?
हाम्रो परम्परा मेटिँदैछ । लोक संस्कृतिको वास्तविक पहिचान हराउँदैछ । हामीलाई थाहा छ होला लोकगीत के हो भनेर, तिज के हो भनेर । तर, आउँदो पुस्ताले त हामीलाई हेरेर सिक्ने हो । त्यसलाई नै टिपेर अगाडि बढ्ने हो । अबको पुस्ताले के जानकारी लिने अहिलेका तिज गीतबाट ? तिजमा मायाप्रेम लगाउनुपर्ने रहेछ । तिज मायाप्रेम सुरु गर्ने दिन रहेछ । मायालु वा आफूले मन पराएको मान्छेसँग भेट्ने दिन रहेछ भन्ने सिक्ने भयो हाम्रो आउँदो पुस्ताले ।
तिज त यथार्थमा घर गएकी चेली वर्षमा एक पटक माइत आउने दिन होइन र ? घरका सबै दुःख–पिरहरू माइतीसँग साट्ने, भेटघाट गर्ने दिन हो तिज । यहीअनुसारका गीत गाइनुपर्छ ।
भनेपछि हाम्रो संस्कृति हराउने लक्षण हो यो ?
सबैले देखिरहेकै छन् । तिजका गीतमा यौनका कुरा हुन थाले । व्यवसायीको आँखाले हेरिन थाल्यो । रेडियो, टेलिभिजनहरुमा यस्तै गीत बजाइन्छ । हुन त महँगो मूल्यमा समय किनेर कार्यक्रम चलाउनेहरुले पनि पैसा उठाउनैपर्यो होला । तर, यो विकृतिलाई अन्त्य गर्नेबारे भन्ने सोच्नुपर्ने समय आइसक्यो ।
अब यो विकृतिको अन्त्य कसरी हुन सक्छ ?
सबैको उत्तिकै दायित्व छ । अहिलेका लोक र लोक दोहोरीभन्दा बरु पप गीत संकलन गरेर गाइन्छ । बन्द कोठाभित्र बसेर लोकगीत सिर्जना गर्न थालिएको छ । अमृत गुरुङ बरु गाउँ–गाउँ पुगेर संकलन गरेर फ्युजन गरेर गाइरहनु भएको छ । लोकगीतमा त्यो पनि भएको छैन ।
कलाकार, राज्य, सञ्चारमाध्यम कसको कमजोरी भयो ?
सबैको कमजोरी छ । यी तीनवटै पक्ष उत्तिकै दोषी छन् । हामी सबैभन्दा पहिला नेपाली हौं । हाम्रो आफ्नै पहिचान छ । त्यसलाई भुल्नु भएन । सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन हुन् । उनीहरुले टिपिकल लोकगीतका लागि कति समय छुट्याएका छन् ? कुन समयमा लोकगीत बज्छन् ? बिहान, बेलुका, दिउँसो कुनै न कुनै समय त बज्नुपर्यो नि । आफ्नो कला, साहित्यको संरक्षण गर्ने दायित्व उनीहरूको पनि हो ।
लोकगीतको संरक्षण र संवद्र्धनका लागि राज्यले के गर्नुपर्छ ?
लोकगीत संकलन गरेर, तयार पारेर पनि तिनले स्थान पाएनन् भने के अर्थ ? तिनले बज्न पाउनुपर्छ । त्यो अवस्था राज्यले सिर्जना गर्नुपर्छ । यस्ता श्रष्टालाई राज्यले सम्मान गर्नुपर्छ । दोसल्ला र प्रमाणपत्रले मात्रै हुँदैन । लगाएको लगानी पनि उठ्ने गरी नगदसहित सम्मान गर्नुपर्छ । कलाकारको पनि घर हुन्छ, परिवार हुन्छ भन्ने राज्यले सम्झनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३ १५:५८
प्रतिक्रिया दिनुहोस्