-1733199408.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका काम माघ १९ (फ्रेबवरी १) देखि दुईघण्टा घट्ने भएको छ । कात्तिक २३ गतेदेखि सुरू भएको स्तरोन्नतिका काम करिब तीन महिनापछि ८ घण्टामा झर्ने भएको हो ।
कामसँगै कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द छ ।
माघ १९ देखि राति ११ देखि बिहान ७ बजेसम्म मात्रै बन्द हुनेछ । दुई घण्टा समय घटाए पनि स्तरोन्नतिका काम समयमै सकिने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जनाए ।
“हामीले बिहान र बेलुका १/१ घण्टा गरी दुई घण्टा समय कम गरेका हौं । निर्माण अवधि नबढ्ने गरी समय घटाउन लागेका हौं,” उनले भने ।
कात्तिक २३ देखि १० घण्टा विमानस्थल बन्द हुँदा त्यसले डामेस्टिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत काम भइरहेको छ ।
क्यानले चैत १८ को समयसीमा अन्तिम मान्दै जनशक्ति थप गरेर समय दुई घण्टा घटाउने तयारीमा लागेको प्रवक्ता पाण्डेले जनाए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावन–मार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।
मुख्यविमानस्थल १० घण्टा बन्द गरेर उडान भैरहवा र पोखरातर्फ पठाए पनि विमान कम्पनीहरू जान मानेका छैनन् । काठमाडौंमा उडान गर्ने केही विमान कम्पनीहरू भैरहवातर्फ गए भने अधिकांशले उडान कटौती गरेका थिए । यसले नेपालमा आउने र नेपालबाट बाहिरिने यात्रुहरूले निकै महंगो टिकटको मारमा परेका थिए ।
स्तरोन्नतिको लागि क्यानले कात्तिक २३ गतेदेखि बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द गर्दा ३० प्रतिशत उडान कटौती भएको थियो ।
विमानस्थल बन्द गर्दा यसले उडान तालिका फेरबदल भएका कारण भाडादर उच्च छ । विमानको संख्या कम भएको बाहनामा अधिकांश गन्तव्यको भाडादर दोब्बर/तेब्बरसम्म पुगेको छ । उच्च भाडादर नियन्त्रण गर्न नसकेको र पर्यटकीय मौसममा विमानस्थल १० घण्टा बन्द गरेपछि सरकारको चौतर्फी विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले समय घटाउने विकल्प खोजेको थियो ।
नेपाल आउने पर्यटकीय सिजन तथा दसैँ–तिहारलगायतका चाडपर्व लगत्तै क्यानले स्तरोन्नति सुरू गरेपछि विमान कम्पनीहरूे उडान कटौती गरेका थिए ।
उडान कटौतीको बहाना बनाएर एयरलायन्स कम्पनीले भाडादर उच्च पारेपछि सरकारले ट्राभल एजेन्सीहरूको अग्रिम टिकट खरिद प्रणाली (टु बी अनाउन्स्ड–टीबीए) समेत खारेज गरेको थियो । तर पनि, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको भाडादरमा खासै कमी आएन ।
अन्य गन्तव्यको भाडादरमा केही कमी आएपनि गल्फ मुलुक उडान भाडादर उच्च रहेको ट्राभल एजेन्सीहरू बताउँछन् । यसअघि ४५ देखि ५० हजारमा पाइने टिकट ६० देखि ७० हजार परिरहेको उनीहरूको भनाइ छ ।
स्तरोन्नतिसँगै भैरहवा विमानस्थल समेत राम्रोसँग सञ्चालन गर्ने उद्देश्यले क्यानले ३० प्रतिशत उडान उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ जान ‘सर्कुलर’ गरेको थियो । तर, नेपाल वायुसेवा निगमसहित कतार एयरवेज, जजिरा, फ्लाई दवई, थाई एयर एशिया गरी ५ कम्पनीले केही समय उडान गरेपनि कतार एयरवेजले १५ दिनमा उडान बन्द गरेको थियो ।
बाँकी कम्पनीहरूले भिजिविलिटीको कारण देखाउँदै उडान स्थगित गरेका थिए । क्यानले ८०० मिटरमा पनि उडान र अवतरण गर्न मिल्ने आरएनपीएआर प्रविधि जडान गरेपछि निरन्तरता दिन थालेका छन् ।
भैरहवामा माघ १० देखि आरएनपीएआर प्रविधि सुरू भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली जडानपछि ९०० मिटर भिजिविलिटीमा समेत उडान/अवतरण गर्न सकिने छ ।
क्यानले जनवरी २३ (माघ १०) देखि आरएनपीएआर प्रणालीको सुरूवात गरेको छ । क्यानका सूचना अधिकारी भूलका अनुसार आरएनपीआर प्रणालीले ९०० मिटर भिजिविलिटीमा काम गर्नेछ । यसले जहाज उडान/अवतरणमा सहजता थप्नेछ ।
जाडो महिनामा प्रतिकुल मौसमका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज होल्डमा बस्नुपर्ने वा डाइभर्ट हुनुपर्ने बाध्यता अन्त्य भएको छ । यसअघि भैरहवा विमानस्थलमा भीओआरडीएमई प्रणाली थियो । उक्त प्रविधिमा उडान/अवतरण गर्न न्यूनतम भिजिबिलिटी १८०० मिटर आवश्यक पर्छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने डोमेस्टिक र चार्टडबाहेक अन्य उडान हुन सकेका छैनन् । विमानस्थलमा अन्तर्राष्ट्रिय विमान उडान अवतरण गर्न कुनै असहजता नरहेको विमानस्थल प्रवक्ता जसोदा सुवेदी बताउँछिन् ।
विमान कम्पनी भैरहवा वा पोखरा जाने विश्वाससहित स्तरोन्नतिको कार्य सुरू गरेको थियो । तर नगएपछि सकेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सक्न लागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । यसरी अधिकांश कम्पनी काठमाडौं छाडेर नगएपछि क्यानलाई समय घटाउन दबाब परेको थियो ।