नगर होस् वा घर सुरक्षित, सुविधाजनक र सुन्दर हुनुपर्छ । तर, प्रथमिकता भने सौन्दर्य र सुविधाभन्दा सुरक्षालाई दिनु बुद्धिमानी हुन्छ । काठमाडौंलगायत नेपालका सहरहरूमा भने सुरक्षालाई सबैभन्दा बढी उपेक्षा गरेको पाइन्छ ।
सहरी सुरक्षामा सबैभन्दा बढी जोखिम आगलागीको हुन्छ । पछिल्ला दशकहरूमा नदी वा खोलाका किनार मिचेर बसेको बस्तीमा बाढीको पनि जोखिम देखिएको छ तर आगलागीबाट असुरक्षा सम्भवतः काठमाडौंको मुख्य समस्या हो ।
नगरका पुराना बस्ती र बजारहरूमा ठूला दमकल पुग्नै सक्तैनन् । त्यसमाथि जथाभावी सवारी साधन पार्क गर्ने नराम्रो बानीले सडकलाई सधैँ थप साँगुरो बनाइएको हुन्छ । पछि बसाइएका अधिकांश अनियोजित बस्तीहरूमा सडक साँगुरो नै हुने भएकाले दमकलको पहुँच सहज हुँदैन ।
त्यसैले काठमाडौं महानगरपालिकालगायत उपत्यकाका स्थानीय सरकारहरूको प्राथमिकता आगलागी हुन नदिने र भइहालेमा नियन्त्रणका लागि हरसम्भव उपाय तयार अवस्थामा राख्नेमा हुनुपर्ने हो । विडम्बना, न दमकल पर्याप्त छन् न आगलागी भएका स्थानमा पुगेको दमकलमा नजिकै पानी भर्न नै सकिन्छ ।
नगरहरूमा सडकमा किनारमा सहज पहुँच हुनेगरी दमकलमा पानी भर्नका लागि चापाकलजस्तो ‘फायर हाइड्रेन्ट’ जडान गरिन्छ । काठमाडौं उपत्यकामा पर्याप्त नभए पनि सडकका छेउमा यस्ता ‘फायर हाइड्रेन्ट’ जडान गरिएका छन् । दुर्भाग्य, तिनमा पानीको स्रोत भने जोडिएको छैन ।
उपत्यकाका विभिन्न सडक छेउमा यी ‘फायर हाइड्रेन्ट’हरू काठमाडौंमा २०७७ मा मेलम्चीको पानी पहिलोपटक वितरण गर्नुभन्दा पहिले नै जडान गरिएका थिए । तर, पानी वितरण भएपछि भने ती जडान गरिएका ‘फायर हाइड्रेन्ट’हरूलाई सम्बन्धित निकाय र स्थानीय तहहरूले वास्तै गरेका छैनन् ।
सम्बन्धित निकायको हेलचेक्य्राइँका कारण सडक छेउमा ठड्याइएका कतिपय ‘फायर हाइड्रेन्ट’मा त फोहोर कोच्न थालिएको देखिन्छ । यसरी त पानीको स्रोतमा जोड्नुभन्दा पहिले नै ‘फायर हाइड्रेन्ट’ बन्द हुनसक्छ । यस्तै लामो समयसम्म प्रयोग र मर्मत नभएमा ‘फायर हाइड्रेन्ट’ जडान गर्न गरिएको करोडौं लगानी खेर जानेछ ।
आगलागी भएकै स्थानमा ‘फायर हाइड्रेन्ड’बाट दमकलमा तत्काल पानी भर्न सक्ने हुनाले धेरै छिटो आगो नियन्त्रण गर्न सकिन्छ । आगो निभाउने समय बचत हुँदा अपेक्षाकृत प्रभावकारीरूपमा जनधन र नगरको सुरक्षा हुन्छ ।
यसैले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले तत्काल जडान भएका जति ‘फायर हाइड्रेन्ड’ लाई पानी वितरणसँग जोड्न उच्च प्राथमिकता दिनुपर्छ । आवश्यक ठाउँहरूमा थप ‘फायर हाइड्रेन्ट’ जडान गर्न पनि ध्यान दिनुपर्छ तर प्राथमिकता भने जडान भइसकेकालाई पानीको स्रोतमा जोड्न दिनु बुद्धिमानी हुनेछ ।
यस्तै जडान भइसकेका ‘फायर हाइड्रेन्ट’हरूको नियमित मर्मतसम्भारमा पनि ध्यान दिनुपर्छ । जडान भइसकेका ‘फायर हाइड्रेन्ट’को उपेक्षा गर्नु आत्मघाती मूर्खता हो ।