नेपालीहरूले प्रकृतिको साथै पुर्खाको पौरखको पनि वरदान नै पाएका हुन् । तिनको महत्त्व बुझ्न र मर्यादा राख्न भने नेपालीहरू चुकेका छन् । विशेषगरी राज्यका विभिन्न निकायमा कार्यरत पदाधिकारीले तिनको संरक्षण र संवर्धनमा पर्याप्त ध्यान दिएको देखिएको छैन ।
प्राकृतिक सम्पदाको संरक्षणमा पछिल्ला दिनहरूमा राज्यले कानुनसम्म बनाएर चासो देखाएको छ भने मानव निर्मित भौतिक सम्पदाको संरक्षणप्रति ध्यानै दिइएको छैन । पुरातात्विक सम्पदाको संरक्षणमा केही ध्यान दिइए पनि त्यस कोटीमा नपर्ने सम्पदाहरूको नासमास हुन थालेको छ ।
सप्तरीको राजविराज सम्भवतः नेपालको पहिलो योजनाबद्ध सहर हो । नेपालमा लोकतान्त्रिक आन्दोलनसँगै राजविराज नगरको विकास सुरु भएको थियो । राजविराजमा भारतका विभिन्न सहरबाट झिकाइएका कालिगढहरूले दक्षिण भारतीयदेखि राजस्थानी र मुगल वास्तुशिल्प मिश्रित भव्य र सुन्दर भवनहरू बनाएका थिए ।
राजविराजको निर्माण सरकारी स्तरबाट भने भएको थिएन । स्थानीय व्यापारी समुदायले नै नगरको वैभव बढाउने गरी कलात्मक भवनहरू बनाएका थिए । यही कारणले हो कि पूर्वपश्चिम राजमार्गको निर्माणपछि व्यापारिक महत्त्व कम भएसँगै राजविराजको वैभव पनि क्रमशः खस्किन थाल्यो ।
तनहुँको बन्दिपुर बजारको पनि कथा लगभग यस्तै थियो । नारायणगढ व्यापार केन्द्र बन्न थालेसँगै बन्दिपुरको व्यापारिक स्थान खस्किन थाल्यो । सदरमुकाम सरेपछि बन्दिपुर प्रशासनिक केन्द्र पनि रहेन । झन् पृथ्वी राजमार्ग बनेपछि त अहिले ‘पहाडकी रानी’ कहलिने बन्दिपुरलाई ‘भुत्याहा बजार’ भन्न थालिएको थियो ।
राणाकालमै भक्तपुरे शैलीमा बनाइएका घरहरू थोत्रिएर भत्कने जोखिम देखेपछि व्यापार व्यवसायका लागि विशेषगरी काठमाडौं र नारायणगढ सरेका सचेत बन्दिपुरेहरूले २०३० को दशकमै बन्दिपुरको वैभव फर्काउने अभियान सुरु गरे । करिब चार दशकको प्रयासपछि बन्दिपुरको वैभव पुनः फर्केको छ ।
बन्दिपुर पुनर्जागरणको उदाहरण राजविराजका लागि अनुकरणीय हुनसक्छ । राजविराजका उद्यमी व्यवसायीले पुर्खाले बनाएका कलात्मक भवनहरूको सदुपयोग गरे भने पुरानो वैभव फर्कनेछ । राजविराजमात्र होइन धनकुटादेखि डोटीसम्मका पुराना पहाडी बजारहरूको पुनरुत्थानमा स्थानीयहरूले विशेष ध्यान दिएमा सबैको वैभव फर्कनेछ ।
स्थानीय तहका साथै विशेषगरी प्रदेश सरकारहरूले राजविराजजस्ता बजारहरूको वैभव फर्काउन योजनाबद्धरूपमा काम गर्नु आवश्यक छ । नयाँ सहरहरू बसाउनुभन्दा बनिसकेका यस्ता नगरहरूको संरक्षण र प्रवर्धनमा साधन स्रोत लगाउनु नेपालका लागि हितकर हुनेदेखिन्छ । बस्ती विकास गर्नुपरे पुराना बजारहरूको छेउछाउमा गरे नयाँ र पुराना दुवैलाई लाभ हुनेछ ।