site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीडीओको ‘ज्यान सुरक्षित छैन’ भनेपछि र इन्स्पेक्टरमाथि आक्रमणपश्चात् ताप्लेजुङमा तनाव
फाइल तस्बिर ।

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार (हिजो) अवस्था तनावपूर्ण बन्यो । केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

स्थानीय बलुडाँडामा झडप भएको थियो । झडपका क्रममा केही संख्यामा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । पाथीभरा क्षेत्रमा शनिबार दुईपटक झडप भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

“पहिलोपटकको झडप सामान्य नै थियो । दुवैतर्फ (प्रदर्शनकारी र प्रहरी) एक/दुईजना सामान्य घाइते भएको अवस्था थियो,” ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बाह्रखरीसित भनिन्, “स्थिति नियन्त्रणमा नै थियो ।”

Dabur Nepal

उनका अनुसार, पहिलोपटकको झडप दिउँसो करिब साढे ३ बजेतिर भएको थियो । त्यसक्रममा केही सेल अश्रुग्यास प्रहार गरिएको थियो । त्यो करिब मत्थर भइसकेको थियो । त्यसपछि गस्तीमा गएको टोली फर्कने क्रममा थियो ।

त्यति बेलै अर्थात् अपराह्न ३ः५७ बजे प्रदर्शनकारीमध्येका एकजनाले प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्मालाई फोन गरेर धम्की दिएको सहायक सीडीओ खड्काले बताइन् । “हाम्रो सीडीओ सरलाई फोन गरेर तँ सुरक्षित छैनस् भन्नुभयो, विभिन्न अश्लील गाली गरियो । ज्यान सुरक्षित नभएको भनेर फोन आयो,” उनले भनिन् ।

अर्कोतर्फ, बेलुका करिब ५ः५० बजे गस्तीबाट फर्किरहेको सुरक्षाकर्मीको टोलीमाथि प्रदर्शनकारीले एक्कासि आक्रमण गरेको उनले बताइन् । उक्त टोली प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा थियो । आक्रोशित प्रदर्शनकारीले इन्स्पेक्टरमाथि आक्रमण गरेपछि स्थिति गम्भीर बनेको उनले जानकारी दिइन् ।

“टोलीको कमान्ड गरिरहनुभएका इन्स्पेक्टरमाथि छुरा र ढुंगा प्रहार गरिएछ । त्यसपछि स्थिति गम्भीर बन्न गयो,” उनले भनिन्, “दोस्रो चरणको झडपमा प्रहरीबाट हवाईफायर भयो ।”

दोस्रोपटकको झडपका क्रममा स्थिति तनावपूर्ण बनेको थियो । हवाईफायरका क्रममा दुई प्रदर्शनकारीलाई गोली लागेको सहायक सीडीओ खड्काले बताइन् ।

उनीहरू दुईसहित प्रदर्शनकारीतर्फ शनिबार बेलुकासम्म चारजना घाइते भएका सूचना प्रशासनसँग थियो । प्रदर्शनकारीतर्फ थप केही व्यक्ति घाइते भएका अपुष्ट जानकारी पनि प्रशासनसँग छ ।

प्रदर्शनकारीतर्फका घाइते चारमध्ये एकजना फुङ्लिङस्थित ताप्लेजुङ जिल्ला अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् । गोली लागेका दुईसहित तीनजनालाई उपचारका निम्ति मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पठाइएको उनले जानकारी दिइन् ।

उनका अनुसार, प्रहरीतर्फ २० जना घाइते छन् । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । “इन्स्पेक्टर एकजनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै गरी २० प्रहरी घाइते हुनुहुन्छ,” उनले भनिन्, “उहाँहरू सबै जिल्ला अस्पतालमा भर्ना हुनुभएको छ । इन्स्पेक्टर अलि बढी घाइते हुनुहुन्छ ।”

प्रहरीले प्रदर्शनकारीका साथबाट तीनथान खुकुरी र एउटा गुलेली बरामद गरेको उनले जानकारी दिइन् । हालको अवस्था सामान्य रहेको उनले बताइन् ।

केबलकार निर्माणका निम्ति गएको मंगलबारदेखि त्यस स्थानमा जमिन सम्याउने कार्य थालिएको थियो । स्थानीय केही व्यक्तिले उक्त कार्यको विरोध गरिरहेका छन् । झडपपछि त्यो कार्य रोकिएको छ ।

“स्थिति अहिले सामान्य छ । काम के गर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ,” सहायक सीडीओ खड्काले भनिन्, “थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा प्रबन्ध गरिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro