निबन्ध र नियात्राका क्षेत्रमा चर्चित नाम हो, युवराज नयाँघरे । मदन पुरस्कार पाइसकेको निबन्धकृति ‘एक हातको ताली’सहित उनका १९ किताब प्रकाशित छन् । उनी आफूलाई अझै पनि प्रयोगशील लेखक मान्छन् । नयाँघरेको पछिल्लो प्रकाशित निबन्धकृति हो, ‘आगोको बीउ’ । यसै सन्दर्भमा नयाँघरेसित बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश :
‘आगोको बीउ’ नामक यो बीउ कहाँ फेला पार्नुभयो ?
म मेरा किताबको शीर्षक फरक राख्न रुचाउँछु । यस मामिलामा अलिक चुजी छु । कहिलेकाहीँ शीर्षक राख्न हप्तौँ बरालिन्छु । आर्यघाटदेखि अनेक ठाउँ पुग्छु । कहिलेकाहीँ केटाकेटीको आवाजबाट पनि शीर्षक आउँछ कि भनेर प्रसूतिगृहतिर पनि जान्छु । कहिलेकाहीँ एकलास जंगलमा एक्लै हिँड्छु, चराले पो शीर्षक जुराइदिन्छन् कि भनेर ।
यसपटक पनि शीर्षक राख्न मलाई साह्रै कठिन भयो । किनभने, धेरै वर्ष भएको थियो मेरो आत्मपरक निबन्ध नआएको । २०६५ सालमा ‘एक हातको ताली’ले मदन पुरस्कार पाएपछि मेरो अर्को निबन्ध आएकै थिएन । करिब एक वर्षअघि म अस्ट्रेलियामा ढुक्कले तीन महिना बसेँ । त्यसै बेला मैले यी निबन्धहरूमाथि काम गरेँ । शीर्षक राख्ने बेला यता आइसकेको थिएँ । यति गाह्रो भयो, भनिसाध्य छैन ।
पछि नयाँ संग्रहभित्रै एउटा यस्तो शब्द लुकेर बसेको रहेछ, जसले शीर्षकको स्वरूप पायो । नेपाली समाज त जहाँसुकै, जुनै विषय–सन्दर्भमा आगो लगाउन मात्र कुदिरहेको देखिन्छ, तर त्यसको समाधान कसैबाट मिलिरहेको छैन । निबन्धभित्रै देखेँ, आगोको बीउ सर्वत्र । अनि, यही शीर्षक उपयुक्त हुन्छ भनेर राखेँ । किनभने, यो प्रतीकात्मक छ, जसमा समाज पनि छ । अर्थनीति पनि छ, राजनीति पनि छ । वास्तवमा समग्र नेपाल अहिले आगोको बीउमय भएको छ । त्यसैले सांकेतिक रूपमा यसको नाम जुराएको हुँ ।
निबन्धले अनगिन्ती कुरा समेटेको छ त्यसो भए ?
सही भन्नुभयो, यसले धेरै कुरा समेटेको छ । तपाईं जता हेर्नुस् न, आगोको बीउ मात्र भेटिन्छ । आजको नेपाल हरेक हिसाबले बलिरहेको छ, जलिरहेको छ । हरेक मानिस मुखमा मुद्दा बोकेर हिँडिरहेको छ । अहिलेको समाजका मानिस धेरै उत्तेजित छन् । खै किन हो, आक्रामक छन् ! त्यो राजनीतिक कारणले पनि होला । मलाई लाग्छ, केही समयपछि थिग्रिन्छ पनि होला ।
यसरी समग्र नेपालको अवस्था, गन्जागोल, गाँठाहरू, अप्ठ्याराहरूलाई एउटा तटस्थ लेखकले सम्बोधन गरेको छ, यो निबन्धसंग्रहमार्फत । अहिलेको समयको ऐना हो भन्ने लाग्छ मलाई ।
‘एक हातको ताली’पछिको १५/१६ वर्ष कहाँ बरालिनुभयो ?
म यात्रामै बरालिएँ भन्नुपर्यो । कारण के भने – म डुलन्ते मान्छे, मलाई घुमिरहन मन पर्छ । दुनियाँ कुर्सीको लागि या लाभको लागि कुदिरहँदा म भने दुईजोर लुगा बोकेर हिमाल र तराई गरिरहेको हुन्छु । त्यही नै मन पराउँछु । मलाई समाज पढ्न मन लाग्छ । मलाई लोकसंस्कृति, जनजीवन पढ्न मन लाग्छ । मानिसको मन कहाँकहाँ फाटेको छ, त्यसको खोजी गर्न मन लाग्छ । नेपाली समाज कहाँ कति अस्तव्यस्त छ, भोग्नुपरेको द्वन्द्वले कहाँकहाँ केके असर गरेको छ भन्ने पढ्न र हेर्नै भनेर म यात्रामा हिँडेँ । यसरी यात्रामा गइसकेपछि हेरियोे, घुमियो र बुझियो अनि यात्रा निबन्ध लेखियो । त्यस अवधिमा स्वतः आत्मपरक निबन्ध लेखन कम भएर गयो ।
आत्मपरक निबन्धका लागि बढी मिहिनेत, बढी साधना र चिन्तन गर्नुपर्छ । त्यसका लागि समय पनि चाहिन्छ । यात्रा निबन्धका लागि थोरै समय भए पनि पुग्छ । त्यसैले यो अवधिमा बरालिएको नै हो । तथापि, त्यसरी बरालिँदाको समयको मूलवस्तु निबन्धमा ल्याउन त बाँकी नै छ । यो १५ वर्षको दौडाहाको ठोस वस्तु आउन बाँकी छ । भन्नुस् न, दही मथेर नौनी निकालिएको छ, तर निबन्धको घिउ बनाउनै बाँकी छ । सोच्दै छु कसरी दिऊँ भनेर । अबको समय त मेरो लेखन र चिन्तन नै त हो । अरू कता रमाउन सक्छु र ! म निबन्ध लेखनलाई कसरी नयाँ धारबाट प्रस्तुत गर्ने भन्ने विषयमा सोचिरहेको छु ।
यात्रामा जाँदा निबन्ध र नियात्राको बीउ कसरी छुट्ट्याउनुहुन्छ ?
निबन्ध पनि यात्रा नै हो । यात्रा त यात्रा भई नै हाल्यो । तर, निबन्ध लेख्दा अलिकति वस्तुतालाई, अलिकति आत्मपरकतालाई ध्यान दिनुपर्छ । साथै, स्वको अनुभव, चिन्तन र दर्शनको अनुभव, कलाको अनुभव अलिक गहिरिएर गर्नुपर्छ । यो भनेको समय खर्चिनु र आफूलाई एकाग्र बनाउनु पनि हो । आफूलाई साधनारत भएर खँदिलो बनाउनु हो । आत्मपरक निबन्धमा कुनै नवीन विषयको परिकल्पना नै गर्नुपर्छ । विषयको परिकल्पना मात्रै होइन, त्यसको निर्माणकलादेखि पस्किने कलासम्मको तयारी गरेर त्यसबाट प्राप्त हुने आनन्दको समेत परिकल्पना गर्नुपर्छ ।
तर, नियात्रालाई त्यति मिहिनेत गर्नुपर्दैन । त्यसलाई पाठकको रुचिअनुरूप प्रस्तुत गरिदिने हो । त्यसैले आत्मपरक निबन्धको बीउ पहिल्याउन अलिक जटिल नै हुन्छ भन्ने लाग्छ । यात्रामा त कतै घुमेर आइसकेपछि त्यसलाई अलिकति कलात्मक र मिठासपूर्ण रूपमा प्रस्तुत गर्न सके पुग्छ । त्यसमा कलात्मक अनुभूति भने मनग्य हुुनुपर्छ । यो भनेर मैले यात्रा निबन्धलाई अवमूल्यन गर्न खोजेको होइन । यात्रा निबन्धको पनि आफ्नै महत्त्व छ ।
मानौँ, रुखमा माथितिर टुप्पोमा आँप छ, तल लच्केको हाँगामा पनि छ, यात्रामा तल लच्केको हाँगोको आँप टिपेर हिँडे भयो । तर, आत्मपरक निबन्धलाई टुप्पोमै पुग्नुपर्छ, जुन आफैँमा कठिन काम हुन्छ ।
नियात्रा लेखिरहँदा त्यसभित्र निबन्धका बीउहरू पनि छोडिरहनुहुन्छ कि ?
नियात्रामा निबन्धका बीउहरू रहेका नै हुन्छन् । चोखो लेखनमा यदाकदा विधा भञ्जनका कुरा आउँछन् । यात्रा र निबन्धमा त पछिल्लोपटक विधा भञ्जन भइरहेको पाइन्छ । निबन्धमा यात्रा र यात्रामा निबन्ध मिसिएर आइरहेको पाइन्छ । यो त गैरआख्यानको मिठो स्वाद पनि हो भन्ने मलाई लाग्छ ।
पहिलेपहिले निबन्ध कठिन र जटिल हुने भएकोले त्यसमा छिर्नै सकिँदैन भन्थे । यसमा पस्ने बाटो नै छैन भन्थे । हामीले त भत्काइदियौँ नि !
भत्काउनु जरुरी थियो र ?
जरुरी थियो । सबैलाई ग्राह्य हुने विधा बन्दैन भने त्यसको के काम ! शंकर लामिछानेको शैलीबाट निबन्ध लेखेर अब काम चल्दैन । तपाईं हामीले राजनीतिक परिवर्तन नै कति भोगिसकेका छौँ, गम्नुस् त ! दुईचारवटा क्रान्तिमा हामी आफैँ हिँड्यौँ । यो सप्पै अनुभव शंकर लामिछानेलाई त थिएन नि ! यसको अर्थ शंकर लामिछानेको उपेक्षा गरेको होइन । शंकर लामिछानेको समयको कथा, तत्त्व र अनुभव बेग्लै थियो, आजको बेग्लै छ । त्यही पुरानो आँखाबाट मात्रै अबको लेखनलाई हेर्नु हुँदैन भन्ने लाग्छ मलाई ।
अहिलेका निबन्ध सरल हुँदै गएका हुन् ?
पाठकलाई सम्बोधन नगरेको निबन्ध अब काम छैन । पाठकलाई डिक्सनरी अगाडि राखेर निबन्ध पढाउनुपर्छ भन्ने अवस्था अहिले छैन । त्यसो भनेर निबन्धको कला र शिल्प मर्न पनि दिनु हुँदैन । अबको लेखन पाठकमैत्री हुनुपर्छ भन्ने मेरो भनाइ हो । आजका लेखक यस विषयमा सचेत पनि छन् । निबन्ध मात्रै होइन, सबै विधाका लेखक सचेत छन् अहिले ।
निबन्धका पाठक कम छन् भनिन्छ नि ?
यसका पाठक निश्चय पनि कम छन् । तर, निबन्धले पनि आफ्नै किमिसको स्वाद दिन्छ । आख्यानले दिने स्वादभन्दा लरतरो र ख्यालठट्टा होइन, गैरआख्यानले दिने स्वाद । कहिलेकाहीँ सबै कुरा बिर्सिदिएर जुन ध्यान गरिन्छ नि, ध्यान गर्दा तपाईंको हृदयमा जे कुरा तरंगित हुन्छ, त्यस्तै तरंगित पार्छ निबन्धले । निबन्धले पढिसकेपछि मनलाई जसरी छ्याङ्ङ पारिदिन्छ, त्यो छ्याङ्ङको स्वाद कुनै कविताले दिन सक्दैन । कुनै कथा वा उपन्यासले पनि दिन सक्दैन ।