एक
तिमी र मबीच प्रेम थियो, भनूँ कसरी
नबोली नबोली सकियो, भनूँ कसरी
सुमधुर हुँदाहुँदै पनि जल्यो कि मन
जलेको मन भक्कानियो, भनूँ कसरी
बिस्तारै बिस्तारै हो पलाएको मुना
त्यही मुना पिट्ट भाँचियो, भनूँ कसरी
जिन्दगी बुझिनँ तिमीलाई के बुझ्नु
जवानी लियो कि दियो, भनूँ कसरी
सुन्दर फूल रहेछ सबैलाई मन पर्ने
कुन सिउँदोमा सजियो, भनूँ कसरी
दुई
कहिले खुसी दिन्छ कहिले चोट दिँदो रहेछ
किन मन पनि मौसमजस्तै बदलिँदो रहेछ !
जिन्दगीले आजसम्म सिकाएको यत्ति हो
माया त पलमै नजिकिँदो रहेछ टाढिँदो रहेछ
एउटा कुरा मात्र जान्ने मन छ मर्नुभन्दा अघि
मलाई निकालेको दिलमा को सजिँदो रहेछ
जिन्दगी सकिए पनि उनीभित्र सकिए हुन्थ्यो
आखिर खोला पनि नदी पुगेर सकिँदो रहेछ
सबै भुलेर आजलाई रमाऊँ भन्छन्, भन्नेहरू
यार ! मनले उनकै अनुहार कल्पिँदो रहेछ