घरमा कुकुर पाल्ने रहरले केटाकेटीहरू केही दिनदेखि कर गरिरहेका थिए । बजारको पाँच आना जग्गा त्यो पनि बाटाले काटेर घटेको थियो । घरबाहिर कुनै सुरक्षित स्थान थिएन । घरभित्र कुकुर पाल्ने कुरा पनि भएन । मैले निषेधात्मक रूपमा भनेँ, “हाम्रोमा न कुकुर पाल्ने स्थान छ न कुकुर नै जरुरत छ ।”
कुकुरका विषयले घरमा छोरीको चोसो निकैपटक फुलिसकेको थियो । म कुकुरको सट्टा अर्थोकले नै उनलाई खुसी बनाउन प्रयत्नरत रहेँ । आखिर घरभित्र सबैको मत बन्न थालेछ ।
छोरो सजलले आएर भन्यो, “पापा हाम्रोमा पनि कुकुर पाले हुन्न र ! ऊ, रिकु कहाँ पालेका छन् त, कस्तो रहर गरेकी छन् सिन्जाले ।” उसले सानीमाकहाँ पालिएको कुकुरले जगाएको आकर्षण र बहिनीको रहर जोडेर कुकुर पाल्ने आफ्नो मोह पोख्यो ।
मैले भनेँ, “खै कहाँ ठाउँ छ र हाम्रोमा । उनीहरूकामा पो घरबाहिर राख्न मिल्ने ठाउँ छ त । हामीले कहाँ राख्ने कुकुर ? फेरि कुकुर किन पाल्नुपरेको छ र ?”
मेरो जवाफले निराश बनेका छोराछोरीकी आमा समेतसँग मोर्चा बनेछ क्यार र संयुक्त टोलीले कुकुर पाल्ने उद्घोष गर्यो । अनि कुकुरको फोहोर व्यवस्थापनको कुरा उठाएर मैले उनीहरूको चाहनालाई विराम लगाइदिएँ ।
घरमा कुकुर पाल्न नपाएको कारण मनमा उब्जेको रहर मेट्न शनिबार कहिलेकाहीँ सानीमाकोमा जान थाले, छोराछोरी । यो रहर देखेपछि माथि छतमा कुनै ठाउँ बन्न सक्छ कि भनेर मैले नहेरेको पनि होइन, तर उही बिहान कुकुर कसले बाहिर लैजाने, घरमा राखे त्यसको फोहोर व्यवस्थापन कसरी हुने अनि फेरि नगरपालिकाको उर्दी, ‘कुकुरलाई बाहिर फोहोर गर्न नदिऊँ’को माइकिङ आदि कारणले कुकुर पाल्ने छोराछोरीको रहरले ममा जागृत भएको कुकुर पाल्न सकिन्छ कि भन्ने आशाको झरिलो कोइला ठाउँअभावको चिसोले झ्याप्प निभाइदियो ।
एक दिन नमिठो अनुहार पारेर आफ्नी मम्मीसित उनीहरूले निराशा प्रकट गरे, “हेर्नु न मम्मी रिकुको कुकुर कसलाई दिए रे । आन्टीले स्याहार्न सक्नुभएन रे ।”
मम्मीचाहिँ भनिरहेकी थिइन्, “बरबाद गरिछे त्यसले, अब कहाँ जान्छौ त कुकुर खेलाउन ?” उनीहरूले ओठ लोपारे, केही बोलेनन् ।
यही बीचमा नानीको जन्मदिन आयो । सदाझैँ नै यसपटक उनलाई गिफ्ट के दिने होला भनेर हामीबीच कुरा भयो । सधैँ दाजुका थोत्रा कति चलाओस् त्यसले । यसपटक एउटा नयाँ ल्यापटप दिने निर्णय उनले सुनाइन् । मैले सहमति जनाएँ । पोहोर पनि राम्रो मोबाइल त दिएकै हो उपहार । यसपटक ल्यापटप नै सही, आखिर चाहिने नै सामान हुन् नि यी सबै उपहार नामका साधनहरू ।
बिहान शुभमुहूर्तमै सजलले केक लिएर आयो । बत्ती बालियो, केक काटियो । ताली बजाइयो, प्रक्रिया पूरा भयो । अरू आमन्त्रितले पनि उपहार दिए । आमाले टीका लगाइदिँदै उपहारको पोको थमाउँदै शिरमा हात राखेर लामो आशीर्वाद दिनुभयो । राम्रो पढ्नू, ज्ञानी हुनू, आमाबाबुले भनेको मान्नू । म नमर्दै कन्यादान गर्न पाऊँ... आदि । हामीले संयुक्त रूपमा ल्यापटप दियौँ, खुसी भई छोरी ।
छोरो एकछिन हराएकाले खोजी भयो । हत्त न पत्त स्याँस्याँ र फ्याँफ्याँ गर्दै सिँडीमा चढिरहेको थियो ऊ । उसले सानो कालो ब्यागबाट एउटा सेतो सानो डमी कुकुर निकालेर बहिनीलाई उपहार दियो । म फोटो खिच्न लागेँ । त्यो छोरीको हातको डमी भनेको छाउरो त चलमलाउन पो थाल्यो– कुइँकुइँ आवाज निकालेर । म अचम्मित भएँ । त्यो त डमी होइन रहेछ, साँच्चिकै कुकुर पो रहेछ । यति सानो छ कि यो पत्याउनै मुस्किल । जम्मा २२ दिनको रहेछ ।
छोरी सिन्जा त यति पुलकित भई कि ऊ सबै उपहार छाडेर त्यो कुकुरको सानो छाउरो हत्केलाभित्र लुकाएर यसरी रमाउन थाली, उसको यो खुसी शब्दले व्यक्त हुन सक्दैन । आँखाबाट हर्षका आँसु निकालेर खुसी जनाउँदै दाजुलाई धेरैपटक धन्यवाद भनी । म हेरेकोहेर्यै भएँ । आखिर मानिसको मनको चाहनाको मूल्य र वास्तविक मूल्यबीचको अन्तर स्पष्ट पारिरहेकी हुन्छे ऊ ।
त्यो सानो कुकुरको छाउरो जन्मदिनको उपहार बनेर घरमा प्रवेश गर्यो । मैले केही भनिनँ, भनूँ पो कसरी, उनीहरूको खुसी मैले निमोठ्नु पनि भएन त्यसै दिन । मैले छोराछोरी र उनीहरूकी कजन रिकु सबैको खुसीले चमचमाएको मुहारको तस्बिर खिची नै रहेँ ।
एक–दुई दिनपछि कुकुरको छाउराले तमासा देखाउन थाल्यो घरमा । जहाँ पायो त्यहीँ फोहोर गर्न थाल्यो । गलैँचा बिगार्यो, दाँत उध्याएर । पलङ र दराजका बुट्टाहरू खुर्किएर दाँतले सबै बिगार्यो । बाथरुम जाने चप्पल टोकेर एउटा बाँकी राखेन । पुलपुलिएर चुलादेखि सबै ठाउँमा उसकै राज चल्न थाल्यो ।
एक दिन घरमा अरू नउठी पानी पिउन किचन छिर्न खोज्दा आमाले उसको आची टेक्नुभएछ । के लाग्यो खुट्टामा भनेर गलैँचामै पुछ्नुभएछ । पछि थाहा भयो, धेरैतिर फोहोर दलिएको । यस घटनाले सासूबुहारीको भनाभन नै चल्यो । घरभित्र कुकुर पाल्नेको दोष देखिएन । एकाबिहानै पानी पिउनुचाहिँ वृद्धा आमाको दोष किटान गरियो ।
आमाले धेरै दिन यो घटना मनमा बोकिरहेको आभास पाउँदा छोरो हुनाको नाताले मेरो मन नै अमिलो बन्न पुग्यो । अरूले त कति हो कति फोहोर टेकेका, तर कसैले थाहा पाउँछ कि भनेर तैँ चुप मैँ चुपले टार्दा रहेछन् । आमाको छि ! छि ! दुरदुर र आउने जाने आफन्त पाहुनाले नाक खुम्च्याउँदा पनि कुकुरको उचित व्यवस्थापन हुन सकेन ।
एक दिन त मेरो अफिस जाँदा लगाउने छालाको महँगो जुत्ता पो लाउनै नहुने गरी बिगारेछ ! मैले जुत्ता देखाउँदै श्रीमती र नानीबाबुलाई भनेँ, “यो कुकुरलाई व्यवस्थापन गरिएन भने यसले घरको शान्ति पनि भाँड्ने भयो । सामान पनि केही राखेन । म भरे अफिसबाट आउँदा यसको उचित व्यवस्थापन हुन सकोस् ।”
म रिसको झोकमा आदेश फर्माएर अर्को जुत्ता लगाएर अफिसतिर लागेँ । मेरो तात्पर्य घरबाट कुकुरको बहिर्गमन नै हुनुपर्छ भन्ने हो । सालीले पनि त पाल्न रहर गर्ने कसैलाई कुकुर दिएर पठाएकी थिइन् नि । यही कुकुरको कारण घरमा ठ्यास्सठुस्स निकैपटक चलिसकेको थियो । एकपटक त निकै चर्को रूप नै लिन पुग्यो । कसोकसो सम्हालियो । सम्हाल्न हप्ता–पन्ध्र दिन नै लाग्यो ।
त्यस दिन बेलुका म घरमा पुग्दा त सिँढीको माथिल्लो भागमा उसको खोरमा न्याना कपडाले बेरेर बासस्थान सारिएको रहेछ । व्यवस्थापन यहीँ पो भएछ । यसो हेरेँ, कुकुरले खोरबाट कुइँकिँदै पुच्छर हल्लायो । अनुहार निन्याउरो, मायालाग्दो देखियो । मेरो ध्यान आफ्नो जुत्ता र अरू बिग्रिएका सामानतर्फ मोडियो । म उसलाई बेवास्ता गर्दै घरभित्र पसेँ ।
ऊ कुइँकुइँ गरेर मलाई बोलाई नै रहेको थियो सायद । मैले सोचेँ– कमसेकम घरभित्रबाट बाहिर त सर्यो । अब बिस्तारै बाहिरै हटाउनुपर्छ । म केही नबोली चिया– खाजातर्फ लागेँ । घरका अरू मेरो प्रतिक्रिया बुझ्न लालायित थिए, सायद ।
बाहिर सिँढीमा वासस्थान बनाएर व्यवस्थापन गरिएको कुकुरले बेलुका भएपछि कुइँकिएर बस्न, सुत्न दिएन । मैले कराएर भनेँ, “यो खिच्चालाई घरमा नराखौँ न भनेको कोही सुन्ने होइनन् । अब दिनभरिको अफिसको टन्टा, रात परेपछि घरमा यसको वितण्डा, होइन आराम पनि त चाहिन्छ नि मानिसलाई भन्ने बुझनुपर्छ नि घरमा बस्नेले ।”
मेरो रिसको पारो तातेर आयो । मेरो रिस देखेर पालो–पालो गरेर कुकुरको छाउरो रुङ्ने काम भएछ, घरमा अरूको । मानिसको साथ पाएपछि त्यो पनि चुप लाग्दो रहेछ । छाडेपछि कुइँकिदो रहेछ । म निदाएपछि सुत्न दिएन भन्दै फेरि लिभिङ रुममै पो ल्याउँदा रहेछन् कुकुर त ।
एक दिन घरमा निकै पाहुना भएका कारण कोठामा मात्र सुत्न नपुगेपछि लिभिङरुममा पनि सुत्नुपर्ने भयो । आफू निदाइहालिएछ, थाहा पाइएन । बिहान उठ्दा त लिभिङमा सुतेका पाहुनाको दह्रो गुनासो सुन्नुपर्यो ।
“होइन नरिसाउनु है, पाहुनाले यसो भने भनेर । रहर पनि सापेक्ष भए मात्रै राम्रो होला कि ! अलि पर अलि धेरै जग्गा हुँदा कुकुर पाल्ने रहर त राम्रै होला । यो बजारमा साँघुरो ठाउँमा मानिस र कुकुर सँगै घरभित्र, यसरी पाल्दा त राम्रो नदेखिएला कि ! आज रातभर कुकुर कुइँकिएर एक नीमेष निदाउन सकिएन । अब आज कसरी अड्डा अदालत गर्ने र खोइ...’’ भन्दै गुनासो आयो ।
घरका सबैले पाहुनाको गुनासो सुनेर एकआपसमा हेराहेर गरे । पाहुना अघि गाउँमा छँदाका हितैषी मात्र नभएर आफन्त पनि हुन् । अझ घुमाउरो ढंगले साइनो जोड्दा ससुरालीतिर पनि जोडिन्छ ।
जनावर त्यसमा पनि कुकुरप्रतिका विविध कालखण्डका आफ्नै अनुभव र विभिन्न किंंवदन्ती तथा केही विद्वान्का भनाइ सरर मेरा मस्तिष्कमा दौडिन पुगे । म आफ्नै मनको ब्रह्माण्डमा विचरण गर्न पुगेँ, अनायास ।
हामी (भाइ र म) साना थियौँ । बुबाले बेलाबेला अकबर र वीरबलको कथा सुनाउनुहुन्थ्यो, बेलुका अगेनाको डिलमा बसेर आगो ताप्दै । खुब रमाइला हुन्थे, अकबर–वीरबलका कथा । कहिले वीरबलको खिचडीको कथा, कहिले कुहिराको सिरक र धुवाँको धागोको कथा, कहिले कसको बढी माया लाग्छ, कथा त कहिले जिद्दी बालकको कथा ।
यस्तै कथाको शृंखलामा एक दिन बुबाले सुनाउनुभयो, कृतघ्न र कृतज्ञको कथा ।
वीरबलको चलाख्याइँ र विद्वत्ताले चिढिएको अकबर, सभामा जसरी पनि वीरबललाई नाजवाफ बनाएर महामन्त्री पदबाट हटाई आफ्नो भाइलाई महामन्त्री बनाउने खेलमा रहेकी रानीको आशयलाई साथ दिन पुगेछ । अकबरले सभामा सबैका सामु वीरबललाई भनेछन्, ‘‘यो जगत्मा कृतघ्न को हो ? र कृतज्ञ को हो ? उदाहरणसहित तीन दिनभित्रमा सही जवाफ नल्याए ज्यान अर्पण गर्नू,’’ उनले उर्दी नै गरेछन् ।
बिचरा वीरबल, ‘‘के होला त यो कृतघ्न र कृतज्ञ ?’’ भनेर गम्दै घर गएछन् । केही सुझेनछ, दिमागमा ! मनको चिन्ताले गर्दा घरमा छोरीज्वाइँ आएको समेत पत्तै पाएनछन् । वीरबलमा त्यो चेत पनि रहेनछ कि घरमा छोरी बोलिरहेकी छन् कि अरू कोही ।
बेलुका खान खान नमानेपछि छोरीले सोधिछिन्, “होइन, पिताश्री के हो ? हामी आएका छौँ, उता ज्वाइँराजाले पर्खिरहनुभएको छ । हजुर यता एक्लै धुमधुम्ती बसिरहनुभा’छ, उता माताश्री खाना खान बोलाइरहनुभएको छ । हजुर अनिच्छा जाहेर गरिरहनुभएको छ । आखिर कारण के हो ?”
छोरीका सवालले झस्किएका वीरबलले गुह्य कुरा बताएछन् छोरीलाई अनि छोरीले भनिछन्, ‘‘पिताश्री यो छोरी पनि हजुरकै रगत हो, हिँड्नु खाना खान । खानापछि म हल गर्छु यो सवाल ।’’
उनले पितालाई आश्वस्त पारेर खाना खुवाइछन् । खानापछि वीरबललाई छोरीले भनिछन्, ‘‘कृतघ्न भनेको ज्वाइँ हो, कृतज्ञ भनेको कुकुर हो ।’’
छोरीको कुरा सुनेर वीरबलले अचम्म मानेर सोधेछन्, ‘‘कसरी छोरी ?’’
छोरीले भनिछन्, ‘‘छोरी जन्मायो, हुर्कायो, बढायो, पढायो र योग्य बनाएर आफ्नो सम्पत्ति अर्काका हातमा निःशुल्क दियो । कुनै पनि ज्वाइँले त्यो गुण सम्झँदैन । बरु घुक्र्याउने, लखेट्ने, पिट्ने र सौता हाल्ने गर्छ । उसका लागि स्वास्नीचाहिँ सती बन्न जिउँदै डढ्नुपर्छ । ससुरालीलाई कहिल्यै जस दिँदैन ज्वाइँले । उता, कुकुरले खान पाए पनि नपाए पनि, जुठोपुरो खाएर बस्न पाए पनि नपाए पनि, चिसो–तातो जे भए पनि आफ्नो मालिकलाई परैबाट चिन्दछ । मालिक चिनेर पुच्छर हल्लाउँछ । छेउमा गएर चिनेको आभास जनाउँछ । कोही गैह्र आए भुकेर लखेट्छ । मालिकका घरको रखवाली गर्छ ।’’
छोरीको कुरा सुनेर वीरबल खुसी भएछन् । रात निकै बितेको हुनाले सबै सुतेछन् । बिहान ज्वाइँ र कुकुर लिएर वीरबल हिँड्न लागेपछि छोरीले, ‘‘मेरो सिउँदो बाबा’’ भनेर बाबालाई सम्झाइछन् ।
‘‘म तिम्रो पिता हुँ छोरी’’ भन्दै वीरबल ज्वाइँ र कुकुर लिएर अकबर दरबारमा पुगेछन् । सभा सुरु भयो । अकबरले वीरबललाई सोधेछन्, ‘‘हैन वीरबल तिमी छिट्टै पो आयौ त ! अरू दुई दिन समय बाँकी नै थियो नि ?’’ वीरबलले जवाफ दिएछन्, ‘‘ठिकै हो महाराज, तथापि राम्रा काममा किन ढिलो गर्ने भनेर आइहालेँ ।’’
‘‘ल सुनाऊ, त तिम्रो निष्कर्ष,’’ अकबरले वीरबललाई आदेश दिएछन् ।
वीरबलले हिजो छोरीले भनेको सारा वृत्तान्त बताएछन्, रवाफसाथ । सभा मौन भएछ, अनि अकबरले जुँगामा ताउ लगाउँदै भनेछन्, ‘‘स्याबास वीरबल, तब त तिमी महामन्त्री । ठिक छ, अब यो कृतघ्न ज्वाइँको के काम र ! ज्वाइँलाई मृत्युदण्ड दिऊँ, कुकुरलाई पुरस्कार, मान्य छ ?’’
अकबरको प्रस्तावले सभामा हाँसोको फोहरा छुटेछ । केहीबेर गमेपछि वीरबलले गम्भीर हुँदै भनेछन्, ‘‘हुन्छ महाराज ।’’
सभा चकमन्न भएछ । खासखास खुसखुस आवाज निक्लेछ– यो वीरबलले के गरेको होला । ज्वाइँलाई अकालमा मराएर छोरीलाई विधवा बनाउने भयो, कस्तो बाबु रहेछ... आदि, आदि ।
अकबरले आदेश दिएछन्, आफ्ना आठ पहरियालाई, “ल वीरबलका ज्वाइँको बध गरेर ल्याओ ।” वीरबलको ज्वाइँलाई बधका निमित्त तयार गरिँदै थियो, वीरबलका ज्वाइँ डर र वीरबलप्रतिको घृणा तथा रिसले चुर हुँदै थरथर काँपिरहेका थिए । त्यही बेला वीरबलले अकबरलाई सम्बोधन गरेर सभालाई स्तब्ध बनाएछन् ।
‘‘महाराज ! मैले भनेको ज्वाइँ कृतघ्न र कुकुर कृतज्ञ भनेको हो, यो कोही व्यक्ति भनेको होइन । यो दुनियाँमा मेरो ज्वाइँ मात्र ज्वाइँ होइनन् । अरू सबै विवाहित पुरुष कसै न कसैका ज्वाइँ नै हुन् । न्याय दिँदा कसैलाई अन्याय र कसैलाई अति न्याय हुनुहुँदैन भन्ने अकबर सभाको स्थापित मान्यता रहिआएको छ । यसर्थ महाराज, निर्णयको कार्यान्वयन माथिबाट हुनु उपयुक्त हुन्छ । यो सभामा महाराज सबभन्दा ठूलो अनि म, हामी पनि कसै न कसैका ज्वाइँको रूपमा रहेका छौँ । अब पहिले हामी आफूलाई बध गरेर जानु न्यायसंगत हुन्छ, महाराज !’’
वीरबलको यस्तो प्रस्तावले सभा फेरि चकमन्न भएछ । महामन्त्रीका लागि तयार भएकाहरू उठेर छेउ लागेछन् । निन्याउरो अनुहार लगाएर अकबरले वीरबललाई भनेछन्, ‘‘तिमीले जित्यौ वीरबल, मैले हारेँ ।’’
अकबर सभाको कुकुरबारेको त्यो कुराले भाइ र मेरो दिमागमा कुकुरको आकर्षण ह्वात्तै बढेको थियो । कुकुरको छाउरो पल्काएर आफ्नो बनाउने हामीले घरको छानामा सुकाएको एक कल्ली सुर्ती चोरेर कामी साइँलासँग कैँची साटेका थियौँ । त्यही कैँचीले कुकुरको पुच्छरको रौँ काटेर घिउसँग मोलेर कुकुरको छाउरालाई खुवाएका थियौँ ।
कुकुर पल्केर हाम्रो भएको थियो । यस कार्यमा भएको सफलताले हामीलाई निकै गौरवबोध गराएको थियो । हामी छाती उचालेर हिड्थ्यौँ । कुकुर पल्काएकोमा घरमा गाली नपाएको हैन । “लैजाओ यो खिच्चालाई उसकै आमासित छोडेर आओ,” भनेर कति भन्नुभयो आमाले । हामीले मानेको होइन ।
“कुकुरलाई कसले खान दिँदो रहेछ, हेरुम्् त म पनि,” भनेर आमा रिस पोख्नुहुन्थ्यो, हामीले पनि कुकुरलाई खोले नखुवाई खाना नखाने हाम्रो अडानका सामु आमा झुक्नु नै हुन्थ्यो । हरेक आमा आफ्ना सन्तानको जायज÷नाजायज मागमा झुकेकै हुन्छिन्, तब न उनी ममता कि खानी मातृत्वकी धनी भनेर मानिन्छिन्, पुजिन्छिन् ।
कुकुर हामीसित खेल्दै ठूलो भयो । हामी मधेस बसाइँ जाने भयौँ । कुकुर साथ लैजाने हाम्रो ढिपीका अगाडि कसैको केही चलेन । बसाइँ जाँदा काबेली, इँवा र हिँवा नदी तर्नुपर्दथ्यो । हामीले ठानेका थियौँ कि कुकुर साँघुबाट तर्छ । कोसिस त उसले गरेको पनि थियो साँघुबाट तर्न, तर तरेन ।
हाम्रा भैँसीहरू पनि बसाइँ लगिँदै थिए । नदीमा भैँसीपाडा तार्न मिश्रटारका मिश्रहरूलाई भाडामा लगाइएको थियो । लामो लठारोले बाँधेर भोटी भैँसी र दुईवटा थोरे नदीमा पारिबाट हेलिदिएपछि वारिकाले तान्न थाले जोडले । कुकुर पनि भैँसीसितै पानीमा हेलियो । काबेली नदीको मूल भुल्काले भैँसी र थोरेहरू उछिट्यायो । उँधो बगे, सबै भैँसी । कुकुर पनि बग्यो । हामी भारी भित्तामा फालेर दौडिँदै करायौँ ।
मैले भनेको थिएँ, “ए कान्छा, हेर त उता तल नदीमा कुकुर बगायो हउ ! काबेली नदीले । लग्यो हउ ! कान्छा, कुकुरलाई बगायो है, लग्यो काबेलीले कुकुर लग्यो ।”
मेरो कुरामा साथ दिँदै उसले भनेको थियो, “हो हउ, साँल्दाइ लग्यो है, खोलाले कुकुर लग्यो ।”
भैँसी तान्नेले जोड लगाएछन् अलि तल फराकिलो ठाउँबाट भैँसीले काबेली नदी पार गरे । कुकुर पनि पार भयो । दौडेर कुकुर हामीसामु आयो ।
उसका भिजेका लामा लामा रौँ हाम्रा अगाडि झट्कार्यो । शिरसम्म सिञ्चित भयौँ, हामी । उसले ज्यानको बाजी लगाएर साथ निभाएको गाथासहितको अपनत्व दर्शायो, सुँघेर चाटेर, दलिएर । हामीले सुमसुम्याएर परिचय दियौँ मायाको ।
त्यसलगतै हामीलाई सबैले जिस्क्याउन थाले, घरका ठूला मानिसले, “साँच्ची तिमीहरू कुकुर उतै फिरेको भए के गर्दथ्यौ हँ, मधेस जान्थ्यौ कि उतै फिथ्र्यौ ?”
“साँच्ची हामी के गर्दथ्यौँ हँ ?” यो प्रश्न अनुत्तरित नै रह्यो । अरू नदीमा यही प्रक्रियाबाट भैँसी र कुकुर पार हुँदै आए । हामी सबै मधेस पुग्यौँ ।
ठूलो दाइले घरमा लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यास पढेर सुनाउनुहुन्थ्यो । त्यो उपन्यास सुनुन्जेल आफैँलाई कहिले लंगडो त कहिले कुकुर बनाएर द्रवित हुन्थेँ म । पछि आफू ठूलो भएपछि यो उपन्यास पढ्दा धेरैपटक धेरै ठाउँ रोएको थिएँ ।
त्यस पुस्तकको अन्त्यमा यस्तो भाव लेखिएको थियो, ‘‘त्यसको ठिक ६ महिनापछि एउटा घाट रुङ्ने घटैयाले बालुवामा आधा पुरिएको मानिस र जनावरको जोडिएको अस्थिपञ्जर भेट्टायो । मानिस र पशुको आत्मीयताको यो एक अद्वितीय मिलन थियो ।’’
करिब आठ वर्षपहिले विभिन्न सञ्चार मिडियामा लेखिएको थियो– जर्मनीमा एक युगलको विवाह भयो । बेहुलाको घर जाँदा बेहुलीले माइत छँदा पालेको कुकुर साथमै लिएर गइन् र राति आफैँसित सुताइन् । उनका श्रीमान्ले त्यही कोठामा सुताए पनि कुकुरलाई आफ्नो बेडमा सुत्न नदिने भनेछन् । श्रीमतीले मानिनछिन् । उनले आफू वा कुकुरमध्ये एकलाई रोज्न भनेछन् । उनले कुकुर रोजिछन् र डिभोर्स दिएर माइत फर्किछन् ।
भारतका विख्यात वैज्ञानिक पूर्वराष्ट्रपति एपीजे कलामले आफ्नो स्ट्याटसमा करिब सात वर्षअगाडि लेखेका थिए– मानिसलाई तीन वर्ष खुवाए तीन दिनमा बिर्सन्छ, तर कुकुरलाई तीन दिन खुवाए तीन वर्ष सम्झिन्छ ।
कुकुरको यो बफादारी र यतिका प्रसंगले मलाई मभित्र कुकुर पाल्ने ठाउँअभावको साँघुरोपनबाट बाहिर निकाल्यो । छोरीको खुसीको अधैर्यलाई नियाल्दै मैले पनि कुकुरको छाउरोसित फोटो खिचाएर उनीहरूका साथमा आफू पनि रहेको दर्ज गर्न पुगेँ । समयले सबै चिज परिवर्तन गरिदिन्छ । अहिले मलाई आफ्नै घरमा कुकुरको आनन्दमय संगतले समय साथी मिलेको थियो ।
सुरुमा अप्ठ्यारो अनुभव भएथ्यो । यो सानो थियो, दिसापिसाब घरभित्रै गर्दथ्यो । लिभिङ रुममा न्याना कपडामा मानिसको बच्चालाई झैँ यसलाई राख्ने काम भयो । मानिस नसुतुन्जेल यो मानिसकै वरिपरि घुमिरहन्थ्यो जिस्किरहन्थ्यो । कुइँकुइँ कराउँथ्यो । पिसाब गर्दथ्यो, गलैँचामा । घरका आमा, छोरा र छोरी पालो बाँधेर सफा गर्थे । घरमा आफ्नै अग्रजहरूको स्याहार गर्न घिनाउने यिनीहरू आफ्नो रहर झेल्दा कुकुरको फोहोरलाई फोहोर मान्दैनन् । बरु त्यो नित्य काम पो ठहरिन्छ, खुसीसाथ उनीहरूको ।
उसलाई नुहाइदिन होड नै चल्छ, घरमा । भाडामा बस्ने केटाकेटी समेत धुरिन्छन्, कुकुर नुहाइदिन । घरका असक्त बुढाबुढीहरूले यस्तो स्याहार पाउनु दुर्लभ कुरा हुन्छ, यो नक्कली आधुनिक सहरिया जीवनमा । कुकुरका छाउराले आफ्नो माऊ र बथान छाडेपछिको उसको मज्जा बेग्लै छ । नुहाएर सफा टाबेलले सपक्क पुछिदिएर महँगो वासनादार पाउडरले मगमगाउँदाको आनन्द बेग्लै । काइँयाले कोरेर शरीरका रौँ चिटिक्क । समय र अर्थअभावले आफ्ना केटाकेटीले यो सुविधा कहिल्यै पाएनन् । न त असक्त आमाबुबाले नै पाए !
स्वस्थ जीवन आज हरेक प्राणीको अधिकार बनेका बेला हिजो मानिसले पाउन नसकेको स्वास्थ्य सुविधा बरु यस कुकुरको छाउराले महिनामा तीनपटक खोपसहित अन्य आवश्यक औषधि झोल र ट्याब्लेट पाउँछ । समय अन्तरालअनुरूप डाक्टरी सेवा यसले घरमै पाइरहेको छ । आउने–जाने डाक्टरको शुल्कसहितको नियमित उपस्थितिले यसको जीवन सार्थक ठान्छ, मेरो दिमागले ।
जति जे भए पनि आखिर यो कुकुर हाम्रो परिवारमा सबभन्दा महत्त्वपूर्ण पात्र छ । ८५ वर्षकी मेरी आमाले पनि यसलाई मन लागेर हो वा नलागी हो खेलाइदिँदा वा चलाइदिँदा घरका सबै खुसी देखिन्छन् । नत्र त बुढाबुढीलाई हेर्ने फुर्सद कसलाई हुन्छ र ! आमाले पनि काखमा राखेर बच्चालाई झैँ खेलाउँदा सबैका मुहारको दृश्य क्यामरामा कैद गरेर खुसीको प्रतिस्पर्धामा फोटो पेस गर्ने हो भने पुरस्कृत हुने स्तरकै हुने गर्छ ।
म आफैँ पनि घरमा ठाउँ विशेषको कारण कुकुर पाल्न नदिने मुडमा भएको मानिस कति दिन पो टिक्न सकेँ र ? बिहानै उठेर आफू सुतिरहेको बेडछेउमा आएर कुइँकुइँको आवाजले आकर्षण बढाउँछ, उसले । उसको हर्कत देखेर यो मन जिस्क्याउन तुल्बुलाइहाल्छ । उसका नखरापूर्ण हर्कतले मेरो कामको राप र तापले रापिलो दिमागलाई मनोरञ्जन पुर्याउँछ, उसले । मन नै आनन्दित हुन पुग्छ मेरो ।
एक प्रकारले थकानले सिथिल भएका बेला थकाइ मेट्ने साथी बन्छ ऊ मेरो अनि त म बेडबाटै हात दिन्छु प्रेमले उसलाई । ऊ साँकसाँक सुँकसुँक गर्दै मेरो हात सुँघ्छ, चाटेर हात मेरो ऊ अपनत्व दर्साउँछ ।
बिहानको मेरो आहार दुई पिस बिस्कुट र एक कप चिया लिन जब म बस्छु सोफामा, ऊ आएर मेरो काखमा लुटपुटिन्छ, कैयौँचोटि तल झारे पनि फेरि ऊ मेरो काखमै आउँछ । बिस्कुट भाँचेर मैले मुखमा लाँदा उठेर बिस्कुटमा जुठो लगाइदिन्छ । जुठो बिस्कुट भुइँमा फालिदिँदा ऊ खुब रमाउँछ ।
कहिलेकाहीँ खान लाग्दा ऊ आफैँ खोसेर खान्छ । उसका हर्कतले मलाई जहिल्यै उसको नजिक बनाउँछ । अब त बिस्कुटको संख्या थपिएर उसको भागसमेत आउन थाल्छ घरमा । अलग्गै दिँदा भने ऊ त्यो खाँदैन । झम्टेर फेरि मेरै बिस्कुट लुटेर जुठो लगाउँछ । अब त के बाँकी रह्यो र चोखो–जुठोको, दुवै मिली सरोबर खाइन्छ ।
खाना खाने बेलामा ऊ मसँगै डाइनिङमा पुग्दछ । उठाएर कुर्सीमा नराखेसम्म कुइँकुइँ गरेर रोइरहन्छ । अफिस जाने बेला सधैँ ऊ मेरो साथ आउँछ । म जब अफिसका लागि लुगा लगाउँछु, यसले मलाई बारबार सुँघ्छ र झुम्मिरहन्छ । उसलाई टाउको वा जिउमा नसुम्सुम्याएसम्म छाड्दै छाड्दैन, अफिस पनि जानै दिँदैन । जब सुम्सुम्याइदियो अनि पुच्छर हल्लाएर बिदा गर्छ ।
मेरो घरअगाडि दिनभर गाडी कुद्छन्, हर्न बजाउँछन् । कुकुर मौन बस्छ, जब अफिसबाट घर आएर तल हर्न बजाउँछु म, उसले माथि कोठामा पुच्छर हल्लाउँछ । मेरो हर्न छुट्टै चिन्छ र अरूलाई गेट खोल्न कराउँछ, कुइँकुइँ गर्दै रमाउँछ । यसकै क्रियाकलापका कारण गेट खोलिने गर्छ, हरदिन ।
सिँढीमा वा अन्यत्र घरमा कोही अरू आए मरुन्जेल भुक्छ । घरका मानिसले गेट खोले पुच्छर हल्लाएर अपनत्व जाहेर गर्छ । घरका मानिस बाहिरबाट भित्र पस्दा उसका कान र रौँ सिलित्त पछाडि सुताउँछ अनि पुच्छर हल्लाउँछ । आँखाको कर्काइ, जिउको मर्काइ हेर्नलायक हुन्छ, यसको ।
थुतुनोको सक्रियताले अपनत्व खोजिरहन्छ, यसले । यसको टाउको मुसारिदिएपछि अगाडिका खुट्टामा ह्यान्डसेक गरिदिएपछि काइँकाइँ, कुइँकुइँ गरेर यता र उता दौडिरहन्छ । जब फेरि उसलाई टाउकोमा छोइदियो उभिएर सलाम गर्छ । यसको नाम सजल र सिन्जाले राखेका छन्, ‘ड्रोगो’ ।
बिहान मैले गाडी सफा गर्दा मसँगै तल झर्छ, ड्रोगो । गाडी सफा गरेर माथि आउँदा मेरो अघिअघि हिँड्छ । मसित यस्तो सामीप्य देखेर घरका नानीबाबु अनि तिनका मम्मी समेत दंग छन् । उनीहरू त ड्रोगोलाई खेलौनाझैँ खेलाइरहन्छन् । आमाले पनि जानी–नजानी यसलाई ड्रोगो भनेर बोलाउन थाल्नुभा’छ अचेल !
सदाझैँ एक दिन ड्रोगो मसित गाडी सफा गर्न गयो, तर फर्कन मानेन । मैले निकै प्रयत्न गरेँ, अटेर गर्यो । गेटबाहिर खिच्चा छाडा कुकुरहरू भुकिरहेका थिए । सधैँ पनि भुक्थे नै । सधैँ त ड्रोगो भनेर आफू घरको माथिल्लो तल्ला चढ्दा अघिअघि चढ्थ्यो यो । आज ड्रोगो तिनै भुस्याहा कुकुरलाई हेर्दै जोडजोडले भुक्न थाल्यो । माथि चढ्न मानेन ।
मैले समातेर माथि लग्ने चेष्टा गर्दा ङुर्र्र्र, ङुरुर्र गरेर मलाई नै नचिनेझैँ गर्न थाल्यो । मैले उसको गर्धनमा बाँधिएको बेल्ट समाउने चेष्टा गरेँ, उसले मेरो खुट्टामा टोकिदियो । रगत बग्यो खुट्टाबाट । आच्चे खिच्चा ! भनेर मैले उसको शरीरमा लात्तले हानेँ, कुइँकुइँ गर्दै कुइँकियो, करायो, चिच्यायो र रोयो ऊ । घरमा नानीबाबु र उनीहरूकी मम्मीले कुकुरलाई कसले कुट्यो भनेर सोधे ।
मैले कुटेको थाहा पाएर मसँग रिसाए । जब मेरो खुट्टामा रगत देखे, उनीहरूले के भएको भनी चासो देखाए । मैले यो कुकुरको सद्भाव भनेपछि उनीहरू चुप लागे । कुकुर नियमित स्वास्थ्य निगरानीमा भए तापनि चिनीरोग भएका मानिसले भने एन्टीरेबिज भ्याक्सिन लगाउनैपर्ने कुरा सुझाए, स्वास्थ्यविज्ञले । क्यारेबियनमा अध्यापनरत साढुभाइ डा. हिमाल संग्रौलालाई अवस्था बताएँ । उनले मलाई चिनीरोग भएको हुनाले भ्याक्सिन लिनु अनिवार्य रहेको सुझाए ।
म ड्रोगोसित रिसले चुरचुर भएँ । आखिर माया भन्ने कुरा पनि त सापेक्षित न हुने रहेछ । आफ्नो ज्यान जोखिममा हालेर माया कसले पो गर्दो हो र । मैले ड्रोगोलाई बहिष्कार गरेँ । उसको लोलोपोतोलाई मैले बर्जित गरेँ ।
अफिस पुगेर विष्णु आचार्यलाई लिएर टेकु अस्पताल गएँ, एन्टीरेबिज भ्याक्सिन लिन । तीन खोप लिनुपर्ने रहेछ, चार–चार दिनको फरकमा । तिहारको छेक थियो । टीका लगाउन दमकमा रहेकी निर्मला दिदीकोमा जाने मेरो योजना तुहियो । जोखिम लिएर जान उचित हुन्न भन्ने सल्लाह स्वास्थ्यविज्ञको रह्यो ।
तिहारमा चेली–माइतीको मिलन तुहाइदिएको कारण ड्रोगोसँग मलाई नउठ्नु रिस उठ्यो । मैले उसलाई छेउछाउ आउन दिइनँ, हेर्दा पनि हेरिनँ, घरकाले पनि मेरो रिस बुझेर मौनता साँधे ।
ऊ भने मलाई देख्नेबित्तिकै उही रूपमा कान र रौँ पछाडि सिलित्त सुताएर जिउ मर्काउँदै, पुच्छर हल्लाउँदै कुइँकिरहन्थ्यो । म उसका यी भावलाई क्षमा–याचनाका रूपमा बुझ्थेँ, तथापि उसको हर्कतले मेरा निमित्त ऊ क्षमायोग्य हुन सकेको थिएन । म चाहन्थेँ, यही घटनाको कारण ड्रोगोको घरबाट बहिर्गमन होस् । घरका सदस्यसँग पनि कुकुरका कारण मेरो रुखो व्यवहार प्रस्ट थियो ।
आमाले पनि “हन तँलाई नै टोक्यो भने त अरूलाई पनि त टोक्न सक्छ नि !” भनेर कुकुरप्रति वितृष्णा, उपेक्षा र मप्रति सद्भाव र माया जनाउँदै, “खै कहाँ कति टोक्यो छोरा तँलाई ? कति दाँत गाड्यो ?” भनेर खुट्टा हेर्नुभयो, “ए चार दाँत पो गाडेछ, अलच्छिनाले हेर त !” भनेर चुकचुकाउनुभयो ।
त्यसको तेस्रो दिन अफिसबाट घर आउँदा घरमा केटाकेटी र उनीहरूकी मम्मी निरास एवं उदासझैँ देखिए । मैले किन भनेर सोधिनँ पनि । कुनै जटिल विषय रहेछ भने आफैँ भन्लान् भन्ने मनमा लिएँ । आफूले मोजा खोलेर कुकुरले टोकेको ठाउँ हेरेँ, सुन्निएको घटेछ, घाउ अलि ओभाएछ ।
घरकाले पनि घाउ हेरेर अब त ओभाएछ भनेर सहानुभूति पोख्ने काम गरे । कुकुरको चाइँचुइँ केही थिएन । मैले ठानेँ, यही घटनाको कारण सायद घरकाले कुकुरलाई बहिर्गमन गराएछन् । मेरो मन एक ढंगले आफैँमा खुसी भयो ।
प्राणीले आफूलाई भन्दा अरूलाई बडढ माया गर्न सक्दैन भन्ने कुरा अकबर–वीरबलको सवाल–जवाफले प्रस्ट पारेको छ । अकबरको जवाफस्वरूप वीरबलले गहिरो इनारमा बाँदर र बाँदरको छाउरो पसाएर पानीको फोहोराले इनार भरिँदै आउँदा अन्त्यमा आफूलाई बचाउन, माऊ बाँदरले बच्चा बाँदरलाई पानीमा फालेर आफू सुरक्षित बाहिरिएको परिणामतः ‘‘बुझनुभयो महाराज ! कसले कसलाई कति माया गर्छ ? आफूले आफंँलाई माया गर्छ...” भन्ने सन्देशको यो परिघटनामा अकबरले मौन समर्थन गरेको कथा बुबाले सानै छँदा सुनाउनुभएको झलझली स्मरण हुन पुग्यो, मलाई । म पनि त्यस्तै प्राणीको एक अंश न हुँ । मलाई पनि आफ्नो जीवन प्यारो लाग्छ, कुकुरभन्दा ।
बेलुका नानी, बाबु र उनीहरूकी मम्मी मुखामुख गर्दै कहिले मलाई हेर्दै यताउति साउती गर्दै थिए । कहिले कसले कुरा खोल्ने परामर्श गरेझैँ भान हुन्थ्यो, मलाई । म भने नजानिँदो पाराले यो सब महसुस गरिरहेको थिएँ । मनमनमै सोचेँ, मलाई ड्रोगोले टोकेर बढेको स्वास्थ्य जोखिमप्रति उनीहरूको पनि सचेतना बढेको हुनाले सबैले मिलेर ड्रोगोलाई घरबाट बाह्यकरण गरेको खुसखबरी सुनाउने भूमिका रच्दै छन्, उनीहरू ।
यत्तिकैमा छोरी सिन्जाले भनी, “पापा आज ड्रोगो...” मैले छोरीले भनिनसक्दै हत्त न पत्त जवाफ दिएँ, “हो मलाई थाहा छ,” मेरो जवाफ सुनेर उनले आश्चर्य मान्दै भनी, “के थाहा छ ?”
मैले भनेँ, “ड्रोगोका बारेमा ।”
नानीले खुसी हुँदै कराई, “ममा, ड्रोगो छ रे पापाले भनेको ।”
“कहाँ छ रे ड्रोगो ?” भित्र चुल्हाबाट खुसी हुँदै श्रीमतीजी बाहिर बैठक कोठामा आइन् ।
“पापा कहाँ छ ड्रोगो, हजुरले रिस उठेर कतै लगिस्या हो ?” भनेर छोरीले सोध्दा पो म त जिल्ल परेँ ।
मैले ठानेको थिएँ, म नभएका बेला घरमा सल्लाह गरेर ड्रोगोलाई कतै पाल्न रहर गर्नेकोमा पठाएछन् क्यार । तर, त्यसो होइन रहेछ । मेरो मनोगत बुझाइमा पानी फेरियो ।
मैले जवाफ दिएँ, “होइन, मैले लगेको छैन, कहाँ लानु, किन लानु नि मैले ? बरु तिमीहरूले कतै पठायौ होला मलाई टोक्यो भनेर पो भनेको त !”
“होला नि खुब हामीले पठाउँछौँ, त्यसरी कस्तो सोच्या होला पापाले पनि । आज दिउँसैदेखि ड्रोगो छैन घरमा ।”
छोरीले यति भनिसक्दा नसक्दै सजलले भन्यो, “दिउँसो माथि छतमा छोडिदिएको थियो सधैँजस्तै, कसले ढोका खोलिदिएछ तलको गेट पनि खुल्लै रहेछ । सारा खोजियो भेटिएन, कता गयो कता ड्रोगो !”
“ए !” मैले भनेँ, मनमनमा लाग्यो ‘‘कुचाले बढार्ने कसिंगर हावाले उडायो ।’’
रातको खाना खाएर म आफ्नो पढाइलेखाइ सकेर सुतेँ । दिनभरिको थकानले भुसुक्क भएँछु । बिहान उठ्दा सबै निदाइरहेका थिए । आज कुकुर कुइँकिएन, पुच्छर हल्लाउँदै, सुँघ्दै आएन । कस्तो–कस्तो लाग्यो ।
रिस अलि कम भएछ क्यार, उसप्रतिको मेरो । म बिहानै बाहिर टहल्न निस्किएँ सदाझैँ, फर्किएर आएँ, घरको गेटमा पुच्छर हल्लाएर, जिउ बटारेर पुलकित हुँदै, काइँकुँइँ गर्दै स्वागत गर्ने ड्रोगो छैन । कस्तो खल्लो लाग्यो, मलाई । तर, कसैलाई भनिनँ मैले, भन्नु पनि ठिक ठानिनँ ।
सदाझैँ चिया–बिस्कुट आयो । आज बिस्कुट अलि थोरै थियो । मैले श्रीमतीजीलाई हेरेँ, उनले भनिन्, “आज ड्रोगोको भाग छैन ।” मैले मौन रहेर चिया पिउँदै बिस्कुट चपाएँ ।
शनिबारको दिन भएकाले खोप लगाउन सिधै टेकु अस्पताल गएँ, सजललाई लिएर । फर्कंदा बाबुले सोध्यो मलाई, “पापालाई कुनै फिल भएको छैन ?”
मैले सोधेँ, “के विषयमा ?”
उसले भन्यो, “ड्रोगोको विषयमा ।”
मैले उसको भावनालाई चोट नपुर्याउन भनेँ, “फिल गरेर अब के हुन्छ र ?”
ऊ मौन बस्यो । घरमा आएपछि श्रीमतीजीको ड्रोगोप्रतिको सद्भाव पोखिन सुरु भयो ।
“तल गेटमा आवाज आउँदा पनि सधैँ आइरहने आफन्तले गेट खोल्दा यहाँ बसेर पुच्छर हल्लाउँथ्यो । अरूले खोले भने जोडले भुक्दथ्यो । कति सजिलो थियो, कता गयो कता । कसैले लग्यो कि वा बाहिर निस्किएर जाँदा सडकका कुकुरको झुन्डले लखेटेर मारे कि !” उनको अनुहार निन्याउरो भयो, आँखा टिलपिल टिलपिल भए ।
नानी–बाबुले पनि उनीहरूकी मम्मीलाई सघाए । मैले भनेँ, “अब के गर्ने त, मैले होइन त ! घरमा तिमीहरू नै थियौ त !”
दिउँसो आमाले कुकुरले टोकेको घाउबारे जिज्ञासा राख्नुभयो । “ठिक हुँदै छ, अब एउटा भ्याक्सिन बाँकी छ,” मैले आमालाई जवाफ दिएँ ।
आमाले, “ए जाती भएछ,” भन्नुहुँदै, “हैन हिजैदेखि कुकुरको चालचुल छैन, कता गयो कि कतै पठायौ कि ?” मलाई पनि अब त न्यास्रो पो लाग्न थालेको भान हुन्नथाल्यो ।”
“खै हरायो रे ।” मैले आमालाई जवाफ दिएँ । “हँ, कसरी हरायो त एक्कासि ? उहिले तेरो बुबा महाभारत पढ्दा सुनाउनुहुन्थ्यो, युधिष्ठिरको सत्यवादिता जाँच गर्न कुकुरको रूपमा देवता आएको भनेर, कहीँ यो पनि कुकुरको रूपमा देवता थियो र तँलाई टोकेर अलप पो भयो कि त !” आमाले आफ्नै पाराले भन्नुभयो ।
आमाको यस भनाइले सबैलाई हल्लायो, ७ रेक्टर स्केलको भूकम्पजत्तिकै, तथापि सबै मौन रहे । मलाई पनि खल्लो लाग्न थाल्यो । उसका बालसुलभझैँ लाग्ने हर्कतहरू आँखाअगाडि नाच्न थाले । दिनभर यो वा त्यो कुराले ड्रोगोबारे सबैको विस्मित भाव देखेर आफ्नो घाउ बिर्संदै गएँ मैले । जे भए पनि त्यो पशु थियो । मानवीय प्रेममा हुर्कंदै थियो ।
मानिस त कहिलेकाहीँ पशुभन्दा दुष्ट हुन्छ, तथापि माफीयोग्य ठहर्छ । यसले किन माफी नपाउने र ! भन्दै मैले उसलाई मनमनमै माफी दिएँ । अनि यसको उपस्थिति र आवश्यकता बोध गरेँ । तर यो हराएको छ ! सकेसम्म सबैले खोजे, मैले पनि कसैलाई थाहै नदिई धेरै ठाउँ सोधखोज गरँे । यस्तै सेतो सानो छाउरो देख्नेबित्तिकै कैयौँचोटि अर्कैको कुकुर पछ्याएँ, आफ्नै सम्झेर ।
अब बिर्सनुको विकल्प छैन । मनलाई आफैँ संयम राख्नु मात्र उत्तम उपाय हो भनेर मैले घरमा धेरैचोटि नसम्झाएको पनि होइन, तर सार्थक परिणाम आएन । घरमा शोकको झैँ अवस्था बन्यो । भन्न पनि नहुने, सुन्न पनि सहज नहुने, यस्तै गरी बित्यो शनिबार दिनभरि ।
बेलुका समयमै खाना खाएर म आफ्नो कोठामा पसेँ । रातभर राम्ररी निन्द्रा लागेन । तन्द्रामा उही ड्रोगो अगाडि उभिएर पुच्छर हल्लाइरहेको हुन्थ्यो, कान र रौँ सिलित्त पछाडि सुताएर । यो कस्तो झझल्को हो, मानवीय चेतनाले स्वीकार, अस्वीकार जे गरे पनि अवचेतनमा गहिरो जरा गाडिएको पाएँ मैले उसको ।
राम्रो निदाउनै नपाई मन्दिरमा घण्टी बज्यो । बिहान पाँच बजे जहिल्यै घण्टी बज्ने गर्छ, महादेवस्थान मन्दिरमा । मैले घडी हेरेँ, ठिक पाँच बजेको रहेछ । नित्य कर्म सकेर म बिहान ‘वाक’ गर्न तल झरेँ । घरमा सबै सुतिरहेका थिए ।
जब मैले घरबाट बाहिर निस्कने गेट खोलेँ, झसंग भएँ म । उही ड्रोगो ख्याउटेझैँ लाग्ने, खान नपाएको जस्तो, शरीर मैलो, धुस्रो र फुस्रो, एक्कासि कुइँकिदै मसँग झुम्मियो । दुई खुट्टा मात्र टेकेर अगाडिका खुट्टा माथि उठाएर लपक्क मेरो खुट्टामा टाँसियो । ऊ थरथर काँपिरहेको थियो ।
संरक्षकको अभावमा बितेका दुई दिन उसले बाँच्नका निमित्त गरेको कष्टपूर्ण संघर्ष उसले जनाउन चाहिरहेको बोध भयो, मलाई । उसको अनुहार र हाउभाउले मेरो सहानुभूति खोजिरहेको लाग्यो । मैले उसको टाउको सुमसुम्याएँ, शरीर चलाएँ, ऊ कुइँकुइँ गर्दै अझ मसँग लेपासियो । उसको शरीरबाट नमिठो दुर्गन्ध आइरहेको थियो ।
म वाकमा नगएर त्यसलाई लिएर माथि तलामा चढेँ । बाहिर राखेको कपडाले उसका खुट्टा पुछिदिएँ । ऊ कराएको सुनेर श्रीमतीजीे, “होइन ड्रोगोको जस्तो आवाज कसको हो हँ !” भन्दै उठेर नजिक आइन् ।
ड्रोगोलाई देखेर उनको बादल लागेको अनुहारमा चन्द्रमा उदायो । उनले प्रफुल्लित हुँदै ड्रोगोलाई बोकेर कराइन्, “बाबु–नानी, हेर त ड्रोगोलाई पापाले भेटेर ल्याउनुभएछ ।” छोराछोरीले उनीहरूकी मम्मीले जस्तै हराएको मणि पाएझैँ गरेर ड्रोगोसित लेपासिन पुगे ।
सजलले भन्यो, “कुकुर त घायल छ, सडकका खिच्चा कुकुरहरूले टोकेर घायल बनाएछन् क्यार । तुरुन्तै भ्याक्सिन र अरू औषधि गर्नुपर्छ ।” ऊ ड्रोगोको नियमित डाक्टरलाई फोन गर्न थाल्यो ।
उसकी मम्मीले “भोकले हेर पेट पनि पेरुंगो भएछ...” भन्दै फ्रिजमा उसका निमित्त राखेको मासु निकालेर तताउन थालिन् । सिन्जा ड्रोगोलाई खेलाउन थाली ।
हल्लाले आमालाई पनि ब्युँझाएछ, “हैन के भयो र कराउँछौ तिमेरु...” भन्दै आमा लिभिङ रुममा आउनुभयो । कुकुरको छाउरो देखेर, “लौ आफ्नो सम्पत्ति, हेर त ! कहाँ गएको थियो, के भयो, बिचरा ! आफ्नो घर र मालिक कुकुरले कहिल्यै बिर्सिंदैन भन्थे हो रहेछ” भनेर हाँस्नुभयो ।
आफूप्रति सबैको चासो र सद्भाव विगतभन्दा बढेको पाएर ड्रोगोले पनि खुसीले पुच्छर हल्लाउँदै, जिउ बंग्याउँदै, कान र रौँ सिलित्त पछाडि सुताएर सबैका कुरा बुझेझैँ गरेर, थुतुनो यता र उता घुमाउँदै सबैको ध्यान आफूमा सम्मोहित गर्यो ।
परिवारका सबै सदस्यहरूको खुसीले कोठा उज्यालो भयो । मैले यी सबै कर्म खुसीखुसी हेरिरहेको थिएँ ।