site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आरम्भ

सवा एक योजनबाट फालेको पाषाणले बनाएको खाल्डोलाई हेर्दै भीमले सोही पाषाणलाई उचाले । मन भारी हुँदा हलुंगो वस्तु पनि भारी हुँदो रहेछ । तलाउको जलसतह हल्लिरहेको थियो र प्रकाशलाई परावर्तन गरिरहेको थियो । 

चन्द्रदेवले प्रदान गरिरहेको निर्मल ज्योतिले निकटको वागमतीलाई अझ आकर्षक बनाएको थियो ।

“किन एकान्तमा छौ आर्यपुत्र ?” द्रौपदीले आशंकाजन्य प्रश्न ठड्याइन् । भीमले केही प्रतिवाद गरेनन् । दाजुको समीप गई चुपचाप बसे र चन्द्रमामा रहेको कालो विम्बलाई अध्ययन गर्न थाले ।

Dabur Nepal
NIC Asia

“तम र ज्योतिको गहिरो सम्बन्ध छ । ज्योतिलाई हेर्ने हो भने जीवन उज्यालो हुने प्रेरणा प्राप्त हुन्छ र तमलाई विचार गर्ने हो भने तमसोमा ज्योतिर्गमय हुनुपर्छ ।” धर्मराजले शरद ऋतुको अन्तिम कृष्णपक्ष र आउँदो गुप्तवासको एकसाथ सामना गर्नुपर्ने संकेत गरे । शान्त रात्रिमय माहोल कान्तिहीन चमकमा बिलायो ।

नजर वागमती नदीतिर भए पनि महासागरभन्दा दुर्लंघ्य गुप्तवासलाई कसरी सहज बनाउने चिन्ताले अनिदोपनले निमन्त्रणा दिइसकेको थियो । द्रौपदीको चर्मचक्षुले बाह्य संसारलाई विचरण गरुन्जेल यदि कोही दाजुभाइको नयनमा निद्रादेवी विश्राम गर्ने साहस गर्दथिन् भने युधिष्ठिरले आदेश दिएको हुनुपथ्र्यो । अर्जुनको दृष्टिले छलकपटलाई लक्ष्य गर्न सक्दैन ।

संकटले सबैतिर घेरेपछि आखिरमा सम्झने भगवान्लाई हो । द्रौपदीले देखिन्– सबैलाई महान् चिन्ता छ । पतिहरूको मनको आकाशलाई चिन्ताको घनघोर बादलले ढाकेको देखेपछि ब्रह्ममुहूर्तमा वागमती नदीमा स्नान गरिन् । अर्को वस्त्र धारण गरी पलेटी कसेर ध्यानमुद्रामा बसिन् । 

सूर्याभिमुख द्रौपदीले कृष्णलाई स्मरण गरिन्, ‘‘मेरा पतिहरू विलापमा छन् । उपाय तिमीले गर्नुपर्छ कृष्ण !’’ 

स्मृतिमा कृष्णले दर्शन दिए, ‘‘हे अग्निसुता ! तिमी अहिले मातृवात्सल्य प्रेममा छौ । पतिले भार्याको रक्षा गर्नुपर्ने हो, तर पुत्ररक्षिका भावले पूर्ण भएर जब भार्याले रक्षाको भार वहन गर्दछिन्, तब माताकै रूप हुन्छिन् । पुत्रका लागि माताको आदेश हुन्छ । म तिम्रो यस रूपको प्रशंसा गर्दछु ।’’

‘‘तिमी जिस्किरहेछौ कृष्ण, म विह्वल छु,’’ द्रौपदीले चिन्ता व्यक्त गरिन् ।

कृष्णले आश्वस्तको भाव प्रकट गरे, ‘‘उपाय तिमीले नै गर्नुपर्छ । म केवल बाटो देखाउँछु । तिमी अहिले माता छ्यौ कृष्णा । एक श्वेत वस्त्रधारी माताले नै तिम्रो अवश्यंभावी संकटबाट अवतरणको मार्गप्रशस्त गर्नेछिन् । तिमीले पनि माता नै मान्नू’’ अलप भए कृष्ण । 

पूर्वाभिमुख बसेकै अवस्थामा द्रौपदी मनको भावले पश्चिमाभिमुख भइन् । वास्तवमा सूर्योदय भएकै थिएन, तर कृष्णाले देखिन्– सूर्यास्त हुन लागेको छ । देख्दादेख्दै सूर्यबाट एक श्वेत वस्त्रधारी आमा आइन् । निकट आएपछि आमाको चरण स्पर्श गरिन् । चित्त बुझेन । सर्वांग (साष्टांग) दण्डवत् गरिन् । 

आमाले सस्नेह द्रौपदीलाई उठाइन् र भनिन्, ‘तिमी ढुक्क होऊ पुत्री । केही दिनमा म तिमीलाई एक उपाय बताउँछु,’’ आमा अलप भइन् । 

द्रौपदीले आँखा खोलिन् । सम्मुख पञ्चपति अनुहारमा आभा लिएर प्रतीक्षारत थिए । द्रौपदीको अनुहारमा आएको भाव रहस्यलाई कसैले अध्ययन गर्न सकेनन् ।

आफू समस्या भए पनि पत्नीलाई सुखमा राख्न चाहन्छन् पतिहरू । पत्नीको हँसिलो मुहार देखेपछि पतिलाई लाग्छ–घरमा सबैथोक ठिक छ । परिवार स्वर्ग बन्दछ ।

केही दिन घाम मधुरो लाग्यो । मनको धरणीमा पनि तुवाँलो लागिरह्यो, तर द्रौपदीमा भने आत्मविश्वासमा कात्तिक मासको तेस्रो प्रहरको पारिलो घाम भरिएको थियो । मनभित्रको न्यानोपनले ऊर्जा दिइरहन्छ । 

कुनै दिन अभूतपूर्व सपना देख्नेछु भन्ने पूर्ण विश्वासको आभा अनुहारमा चम्कन्थ्यो । द्रौपदी आफूलाई सन्तुष्ट देखाउन चाहन्थिन् र पाण्डवहरूलाई जसरी बाह्र वर्ष कटे त्यसरी आउँदो एक वर्ष पनि कट्ने विश्वास दिलाउन चाहन्थिन् । 

सधैँ सँगै रहनेहरूमा भ्रम छर्न सजिलो हुँदैन । 

द्वितीय प्रहरको रात्रिमा वागमतीको पानीमा चराहरूले विहार गरेजस्तो लाग्यो । अर्जुनले वाण सन्धान गरे, तर युधिष्ठिरले रोके । द्रौपदीले भनिन्, ‘‘यो कुनै शुभ संकेत हो ।’’

परालको ओछ्यानमा ढल्किँदै द्रौपदीले एकपटक कृष्णलाई सम्झिइन्,‘‘समय काँचो छ । महादैत्य वनबाट घटोत्कचलाई विसन्चो भएको खबर आएको छ । मैले मात्र कति परीक्षा दिनुपर्ने हो कृष्ण ?’’ कोल्टो फेर्दै चकमन्न अँध्यारोमा विस्तारै बिलाउँदै गएको अनुभव गरिन् । 

“भोलि बिहान तटिनीमा स्नान गरी सूर्यलाई जलाभिषेक गर्दा व्रत गर्ने संकल्प गर्नू” द्रौपदीलाई आदेशपूर्ण सल्लाह प्राप्त भयो ।

“म कुन व्रतको संकल्प गर्नु ? तपाईं को हुनुहुन्छ ? मैले गर्ने व्रतको प्रयोजन के होला ?”

“म सूर्यभार्या छठी हुँ । तिमी पुत्री हौ । म तिम्री मातासमान हुँ । अतः तिमीले मेरो स्मरण गर्नू । म तिम्रो इच्छा पूरा हुने वर दिन्छु ।”

“अनि के गर्नुपर्छ छठीमाता ? मैले कसरी व्रत पूरा गर्नुपर्छ ? म जस्तोसुकै कठिन व्रत पनि पूर्ण साधना र निष्ठापूर्वक गर्न तत्पर छु । कृपया मलाई विधान बताउनुहोस्,” द्रौपदीको जिज्ञासा उत्कर्षमा पुग्यो । 

अनुहारमा हल्का मुस्कान छरेर ती दिव्य महिलाले व्याख्या गरिन्, “पाँच दिनको व्रत हो । पहिलो दिन संकल्प, दोस्रो दिन पूर्णतः पवित्र स्नान, तेस्रो दिन निराहार रही राति सर्वोत्तम भोजन अर्पण गरी प्रसाद ग्रहण, चौथो दिन पूर्ण निराहार रही अस्ताउँदो सूर्यलाई अघ्र्य र राति जाग्राम बसी मेरो स्मरण तथा पाँचौँ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रतको पूर्णाहुति गर्नू ।’’ 

‘‘पुत्री ! तिम्रो निष्ठा, श्रद्धा र समर्पणले अज्ञातवास सहज बन्नेछ । तिमी माता हौ पुत्री, तिम्रो विश्वासले अज्ञातवास सफल हुन्छ । जहाँसम्म सूर्यदेवको प्रकाश पुग्दछ, त्यहाँसम्म तिमीहरूलाई शत्रुभाव भएको कुनै पनि दृष्टिले देख्न सक्दैन,” अलिकति रोकिएर फेरि भनिन्, “आदित्यले मलाई अढाई दिन मात्र माइती आउन दिन्छन् । सोही अवसरलाई छोपेर तिमीले व्रत गर्दा म तिमीलाई पूर्णतः आशिष दिन पाउँछु ।” 

द्रौपदी अझै केही सोध्न चाहन्थिन्, तर ती दिव्य महिला तेजमा विलीन भइन् । जब धेरै उज्यालो हुन्छ, तब आँखा तिर्मिरिएर आफैँ बन्द हुन्छ । द्रौपदीले लामो सास लिइन् । निद्रा खुल्यो, दुइटै हात छातीमा थिए । न निदाउन खोजिन् न त निद्रालाई निकट आउने साहस भयो । 

कृष्णेयी सूर्यसित साक्षात्कार गर्न चाहन्थिन् ।

अलिकति कुहिरो लागेको क्षितिजबाट जन्मिँदै गरेको सूर्यको दर्शन गर्न पाइनन् । सौम्य स्वरूपमा दिवाकरले द्रौपदीको दर्शन गरे । द्रौपदीको मनमा सूर्यप्रति दया र आकर्षण एकसाथ उम्रिए । यथोचित सम्मान कम हुनुहुँदैन । हरेकले हरेकलाई अनुकूल सम्मान गर्नैपर्छ । मनमनै वन्दना गरिन्, ‘‘ॐ सूर्याय नमः ।’’ 

द्रौपदीले जब सूर्य वन्दना गरिरहेकी थिइन्, तब सूर्यले उनको मुहारबाट अलिकति आभा सापटी लिए । आफूलाई अझ तेजमय पाए । सूर्यसमक्ष द्रौपदीले केही व्यक्त गरिनन् । अनि सूर्यलाई लाग्यो– म दोहोरो ऋणी भएँ ।

निर्मल जल लिएर गंगागामिनी निमग्ना वागमती स्वकर्ममा लीन थिइन् । सूर्यले दर्शन दिएको ठिक सवा प्रहरमा यज्ञसेनीले हातमा पवित्र जल लिएर सूर्यलाई समर्पण गर्दै संकल्प गरिन्, ‘‘मेरो व्रत सिद्ध होस्, आदित्य । मेरो व्रत विघ्नरहित बनोस् । म व्रतको आरम्भ गर्दै छु ।’’ 

‘‘म पनि ऋणमुक्त हुनेछु,’’ सूर्यको मनमा अलिकति कपास उम्रियो ।

पाण्डव केवल प्रसन्न थिए । पाञ्चालीको व्रतबारे उत्सुकतापूर्वक प्रतीक्षा गर्नु स्वाभाविक हो । फुर्सद र चिन्ताको समयमा व्रत वस्नु शान्तिका लागि उत्कृष्ट मनोवैज्ञानिक औषधि हो ।

कहिलेकाहीँ पशुपतिनाथको दर्शन गर्न जाने यात्रुहरू पनि किनारमा देखिन्छन् । पाण्डवलाई कौरवको गोप्य दूत नै लाग्दछ । कैयौँ दूतहरूले निगरानी नगरेका पनि होइनन्, तर समनपुर ग्रामनिकटको यो स्थान सुरक्षित छ । 

वसाढ र नेपालका व्यापारीहरूले सामान साटासाट गर्ने थलो पनि हो । चहलपहल भइरहन्छ । व्याघ्रजस्ता हिंस्रक जनावरको डर भएको वन भए पनि साधुहरू एक्लै दुक्लै ओहोरदोहोर गरिरहन्छन् । यस वनमा दस्युको भय छैन ।

निगरानीको तीर युधिष्ठिरलक्षित हुन्छ । नकुल र सहदेवलाई विशिष्ट कार्य दिइसकिएको छ । वागमती नदीलाई भेदन गर्ने सुरुङ निर्माणमा नकुल र सहदेव खटिइसकेका छन् । 

अर्जुन पूर्णतया पाञ्चालीको निगरानी गर्दै छन् । गुप्तवास प्रारम्भ हुने समय अत्यन्त निकट आइसकेको छ । 

‘‘कार्यमा सहयोगका लागि घटोत्कचलाई पनि बोलाउनुपर्ला कि ?’’ नकुल र सहदेवसमक्ष भीमले जिज्ञासा राखे । 

सहदेवले टाउको हल्लाए, ‘‘अहँ ।’’ भीमले पुत्रलाई भेट्ने अमूर्तभाव प्रकट गरेका थिए । परिस्थितिको गम्भीरताले मूर्त रूप लिन पाएन ।

पाण्डवहरूले कुनै विशाल महायज्ञ गर्न लागेको भ्रम कौरवदूतलाई पर्‍यो । गुप्तचरहरू सुस्त भए । तिनीहरूलाई लाग्यो– पाण्डवहरू यहाँ लामो समय रहलान् ।

भोलिपल्ट द्रौपदीले पूर्णतः निष्ठापूर्वक स्नान गरिन् । सूर्यलाई जलार्पण गर्दै मनमनै बिन्ती गरिन्, ‘‘हे छठीमाई ! नीति, नियम र निष्ठामा मार्गदर्शन होओस् ।’’ 

दिन सामान्य थियो, रात्रि झन् सामान्य ।

अर्को दिन निराहार बस्नुपर्ने । कुनै चिन्ता थिएन । जसरी सपनामा भनिएको थियो, अढाई दिनको आरम्भमा सूर्यदेवतिर दृष्टि दिँदै द्रौपदीले छठीमाईलाई आह्वान गरिन् र भनिन्, ‘माइतीधरणीमा स्वागतार्थ तत्पर छु ।’’

सन्ध्यादेवी धरणीमा पदार्पण गरिन् । निशाले तारुण्य ग्रहण गर्नुअगावै माइतीमा अतिथि छठीमातालाई भोजनका लागि आह्वान गरिन्, द्रौपदीले । पीत कदली, कदलीपुष्प, गाईको दूधमा बनाइएको क्षीर र पत्रदलसहित मूलिका कदलीपत्रमा अर्पण गरिन् । 

छेवैमा आम्रलकडीसँगै बालिएको धूपले वातावरणलाई सुगन्धित बनाएको थियो । साष्टांग दण्डवत् गर्दै द्रौपदीले सम्पूर्ण निष्ठा अर्पण गरिन्, ‘‘मेरो निष्ठा म समर्पण गर्छु । मलाई यहाँको व्रत सम्पन्न गर्ने आधार प्राप्त होस् माता !’’ 

अनि क्रमशः पाण्डवहरूले पनि सभक्ति दण्डवत् गरे ।

सबैले प्रसाद ग्रहण गर्नुअघि बाँडे पनि । समनपुर ग्रामका धर्मभिरूहरू उत्सुक थिए । एउटा नयाँ प्रारम्भ हुँदै थियो । प्रसाद ग्रहणपछि शान्तचित्त सबैले निद्रादेवीलाई समर्पण गरे । 

भीमसेनले भने तरुण भइसकेको पुत्र घटोत्कच, भार्या हिडिम्बिका र महादैत्य वनलाई सम्झिइरहे । निकट भएर पनि अज्ञात यज्ञमा सहभागी गराउन नसक्दा अपराधबोध वा पश्चातापको भावले मन पोलिरह्यो । निदाउन सकेनन् । 

राक्षसी भार्या हिडिम्बिकाले अदृश्य भएर आफ्नो निगरानी गरेको पाण्डवहरूले पत्तो पाएका थिएनन् । पतिलाई अनिदो देखेपछि हिडिम्बिका पनि उदास भइन्, तर सम्मुख आइनन् ।

गुप्तचरहरूलाई लागेको थियो कि व्रत सकियो । तर, सूर्योदय भएसँगै अझ तयारी अगाडि बढ्यो । द्रौपदी निकै सक्रिय भइन् । कदलीदल ल्याइन् । वेतस शाखा र पत्र, अशोक शाखा अनि अन्य शुभ पुष्प र पत्रहरूले वागमती किनारको एक भाग सजाइँदै थियो । 

ग्रामवासीले पनि पाण्डवलाई सघाए । धार्मिक काजमा समाजले सहजै सघाउन थाल्छ । सजाइएको मध्यभागमा बालुवाकै डल्लोजस्तो भाग अग्लियो । दिनभरि काम गर्दा समय बितेको पत्तै भएन । 

दिन एक प्रहर बाँकी रहँदा द्रौपदी जलमा प्रवेश गरिन् । सूर्यलाई साक्षी मानिन् र आफू पूर्णतः शुद्ध निराहार रहेको विनय गर्दै सजाइएको ठाउँको मध्यभागमा बसिन् । 

देउताजस्तो बनाइएको बालुवाको अग्लो भागमा कदलीपुष्प, अन्य पुष्प, इक्षु, र केरा चढाइन् । केरा काँचा थिए र पाकेका पनि । दुवै हात जोडेर ध्यानामग्न भइन् । ध्यानमा कहिले कृष्ण त कहिले छठीमाई आइरहे । 

जब सूर्यले आफ्नो तेज मधुरो पार्दै आकारलाई बढाउन थाले तब क्षितिज हल्का रातो हुन थाल्यो । द्रौपदीले अस्ताउँदै गरेको सूर्यलाई अघ्र्यार्पण गरिन्, ‘‘हे सूर्यदेव ! तपाईं साक्षी हुनुहुन्छ । म पूर्णतः निष्ठाले रातभर जाग्राम बसी छठीमाईको स्मरण गर्नेछु ।’’

“हामीले केही गर्नुपर्छ कि ?” युधिष्ठिरले प्रश्न गरे । 

“मलाई जाग्राम बस्नुपर्छ । यहाँहरू सबैले स्वानुकूल गर्नुहोला,” द्रौपदीको वाणीमा नम्रता थियो । आदेश वा सल्लाहको भाव थिएन ।

सन्ध्याले अँध्यारो मुख लगाइन् । षष्ठीको चन्द्रले सवा प्रहरसम्म द्रौपदीतिर फर्केर सूर्यदेवको प्रकाश दिइरहिन् धरणीलाई । निशाको प्रभाव बढ्दै गयो । नदी किनारमा देउतानेर बत्ती बलिरहेको थियो । 

बत्तीको उज्यालोमा अझ उज्यालो देखिएको थियो, द्रौपदीको अनुहार । अनुहारमा विराजमान थियो, निष्ठा र आस्थाको चेतना । र, चेतनाले आलोकित पारिरहेको थियो परिवेश । परिवेशमा चहलपहल थियो । रातभर अर्जुन द्रौपदीझैँ पूर्णतः जाग्राम बसे ।

सूर्यले उज्यालो लिएर आउँदा द्रौपदी व्रतको ध्यानमा मग्न थिइन् । भोक, निद्रा र थकाइ द्रौपदीको नजिक आउन सकेका थिएनन् । सूर्यसित साक्षात्कार हुनुभन्दा पहिले द्रौपदीले स्नान गरी नववस्त्र धारण गरिसकेकी थिइन् । 

सूर्यले आशीर्वाद दिए, ‘‘तिम्रो यो कठोर व्रत पूर्ण भएको छ । म साक्षी छु ।’’

नरम घामले सबैलाई स्पर्श गर्‍यो । सबैमा पुनर्जीवनको स्फूर्ति प्राप्त भयो । द्रौपदीले बालुवाको देउता, जहाँ विभिन्न सामग्री चढाएकी थिइन्, त्यहाँ जलार्पण गर्नुअघि नदीमा गएर सूर्यदेवलाई अघ्र्य दिइन् । ध्यान र साधनाले कठिन समय पनि सजिलै कट्दो रहेछ । 

‘‘हे माता ! निर्देशनको पालना गरेकी छु । व्रतको निर्देशन पूर्ण भएको लागेको छ । मलाई आशिष दिनुहोस्,’’ बिन्ती गर्दै व्रत सम्पन्न गरिन् । एक साध्वीलाई प्रसाद दिइन् । उनैबाट प्रसाद ग्रहण गरिन् । आँखामा गाजल लगाइन् । बलेको दीपकमा इक्षुलाई सेकेर गाजल बनाएकी थिइन् । 

साध्वीलाई अंकमाल गरिन् र चरणस्पर्श । साध्वीले आशीर्वाद दिइन्, ‘‘तथास्तु । सर्वमनोकामना पूर्ण हुनेछ ।’’ 

द्रौपदीलाई आवाज चिनेको जस्तो लाग्यो, अनुहार पनि देखेको, तर सम्झन सकिनन् । सबैलाई प्रसाद वितरण गरिन् । तुलसीको पातसहित प्रसाद आफ्नो मुखमा हाल्नुअघि द्रौपदीको कण्ठबाट मधुर स्वर निस्क्यो, ‘‘छठीमाई कि जय !’’

‘‘जय ! जय !! जय जय !!!,’’ टाढा, धेरै टाढा वन, बस्ती र गगनसम्म प्रतिध्वनित भइरह्यो । 

अहिले पनि समनपुरको वागमती किनारमा द्रौपदीको प्रतिध्वनि गुन्जिइरहन्छ । 

(आफूले प्रारम्भ गरेको व्रत कालान्तरमा छठ पर्वको नामले संसारभर विस्तार होला भन्ने अनुमान द्रौपदीलाई थिएन ।)

(मित्रनगर, गरुडा ४, रौतहट)

(समनपुर भन्ने ठाउँ रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर १ र २ मा पर्दछ । छठ पर्वको उद्भव यहीँ भएको लोकोक्ति लोकमानसमा रहेको छ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro