दुस्मन त दिनका आज शत्रु भोलि मित्र
मित्र जीवनका मन भाँचे पनि जोडे पनि
आफन्त आफ्नै मुटु रुवाए पनि हँसाए पनि
तर नजाती म –आफ्नै मन– आफ्नै जीवन
जीवन आफैँभित्रको अविरल युद्ध
अनुलोम विलोमको शंखनादसँगै
श्वासको युद्ध मैदानमा
बाँचुन्जेल चल्ने
मविरुद्ध मको युद्ध
यहाँ आफ्नो शत्रु आफैँ
आफैँ दुई धार
आफैँ दुई सिमाना
एकातिर बाहिरी म
अर्कोतिर भित्री म
आधा आधामा विभाजित
मविरुद्ध म
हो दुनियाँ,
मविरुद्ध म !
यो जीवन आफैँमा महाभारत
कठिन युद्ध
युद्ध–भ्रम, भ्रम–युद्ध
कस्तो कस्तो ? के के ?
एउटा भ्रमले छाड्छ अर्कोले समाउँछ
एउटा अस्ताउँछ अर्को उदाउँछ
जीवन भ्रमको आकाश
लहर बिलाएर लहर निस्कने
जीवन भ्रमको सागर
यहाँ शिखर शिखर रहन्नन्
जीवन भ्रमको हिमाल
जितजस्तो देखिने हार
बत्तीमुनिको अँध्यारो
मृगतृष्णाभित्रको शून्य गन्तव्य
यही हो भित्री मनले भोगेको जिन्दगी
देखेको जिन्दगी
लडेको जिन्दगी
बाहिरी मसँग
बाहिरी म भन्दै छ– दुनियाँ सत्य हो
रंगमञ्चका रङहरू जीवन हुन्
बाँकी झुट, शतशत झुट
त्यसैले
भौतिकताको हुँकारसँगै
विस्फोट हुन्छ बाहिरी म
भित्री मविरुद्ध
हरश्वासमा घाइते छ भित्री म
युद्धमा सधैँ अगाडि छ बाहिरी म
हरपल आवाजको लम्बाइ
दृश्यको चौडाइ
स्पर्शको उँचाइ
स्वादको गहिराइ
अनि गन्धको सुनौला छानाले बनेको
कैदखानामा कैदी हुन बाध्य छ भित्री म
एउटा युद्धबन्दीझैँ
गहिरो क्रन्दन र ऐँठनमा
बाहिरी म विजयोत्सव मनाइरहन्छ
अबिर, लावा र फूलको रङमा
हर्षबढाइँका साथ
कैदखानामा भने एउटा
सूक्ष्म ज्योतिको विस्फोट हुन्छ
तर नसुनिने, अनुभूति नहुने
बिचरा बाहिरी म,
रंगीन दुनियाँमा ठूलाठूला विस्फोट गरिरहन्छ
जितको दावा गरिरहन्छ
पुष्पवर्षा गरिरहन्छ
मानौँ, ब्रह्माण्ड जितेजस्तो !