
काठमाडौं । ३३ वर्षीय जोहरान ममदानी डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकामा उमेदवार हुने भएका छन् । न्युयोर्क सिटीको मेयर पदका निम्ति भएको डेमोक्रेटिक उमेदवारको प्राइमरी चुनावमा उनले पूर्वमेयर एन्ड्रयु कुमालाई पराजित गरेका हुन् । यसलाई एक ठूलो राजनीतिक उलटफेर मानिएको बीबीसीले जनाएको छ ।
ममदानीसँग हारेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै कुमोले वर्तमान परिस्थितिको मूल्यांकन गरी आफूले आगामी कदमबारे निर्णय लिने बताए । चुनाव परिणामको आधिकारिक घोषणापछि ममदानी न्युयोर्कमा मेयरका निम्ति लड्ने पहिलो मुस्लिम उमेदवार बनेर इतिहास रच्ने जनाइएको छ ।
आउँदो नोभेम्बरमा हुने चुनावमा विजयी भए उनी अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कका पहिलो मुस्लिम मेयर बन्नेछन् । उनी न्युयोर्कमा दक्षिण एसियाली मूलका पनि पहिलो मेयर हुनेछन् ।
जोहरान क्वामे ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो । ममदानीका पिताले उनलाई क्रान्तिकारी तथा घानाका पहिलो प्रधानमन्त्री क्वामे नक्रुमाहको नाममा ‘मिडल नेम’ क्वामे राखेका हुन् ।
ममदानी प्रख्यात भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रसिद्ध प्रोफेसर महमूद ममदानीका छोरा हुन् । उनले प्रारम्भिक दिनहरू कम्पालामा बिताएका थिए । पाँच वर्षको उमेरमा उनी दक्षिण अफ्रिका गएका थिए, जब ममदानीका भारतीय मूलका पिता महमूद केपटाउन विश्वविद्यालयमा प्रोफेसर थिए ।
केपटाउनमै सन् १८४८ मा स्थापित दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो स्कुल सेन्ट जोर्ज ग्रामरमा उनले प्रारम्भिक शिक्षा हासिल गरेका थिए । सात वर्षको उमेरमा उनी न्युयोर्क आए । ब्रोन्क्स हाई स्कुल अफ साइन्समा अध्ययन गरे । सन् २०१४ मा उनले बोडन कलेजबाट ‘ब्याचलर इन अफ्रिकन स्टडिज’मा स्नातक डिग्री हासिल गरे ।
त्यसको केही वर्षपछि सन् २०१८ मा ममदानी अमेरिकी नागरिक बनेका थिए । सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि उनले सामाजिक कार्यकर्ताका रूपमा काम गरेका थिए ।
राजनीतिमा आउनुअघि ममदानी न्युयोर्कमा फोरक्लोजर काउन्सिलरका रूपमा काम गर्थे । उनी न्यून आय भएका परिवारलाई सहयोग गर्थे, जो आर्थिक अभावका कारण आफ्नो घर गुमाउने अवस्थामा हुन्थे ।
उनले सहयोग गरिरहेका परिवारले आर्थिक मात्र नभई नीतिगत समस्या पनि व्यहोरिरहेका थिए । आममानिसलाई प्रभावित गर्ने नीति परिवर्तन गर्ने उद्देश्य राखेकाले उनलाई सक्रिय राजनीतितर्फ प्रेरित गर्यो । त्यसपछि सन् २०२० मा उनले पहिलोपटक न्युयोर्क एसेम्बलीको ३६औँ डिस्ट्रिक्ट (एस्टोरिया, क्वीन्स)बाट डेमोक्रेटिक सोसलिस्ट पार्टीको टिकटमा चुनाव लडे । पहिलोपटकमै जिते । र, न्युयोर्क स्टेट एसेम्बलीमा पहिलो दक्षिण एसियाली र पहिलो सोसलिस्ट प्रतिनिधि बने ।
यति बेला ममदानीले न्युयोर्क मेयर प्राइमरीमा पूर्वगभर्नरलाई हराएर सबैलाई चकित पारेका छन् । जितपछि ममदानीले भने, “आज रात हामीले इतिहास लेखेका छौँ । नेल्सन मण्डेलाले कुनै बेला ‘जबसम्म यो पूरा हुँदैन, यो सधैँ असम्भव लाग्छ’ भनेर भनेका थिए । तर, मेरा साथीहरू र हामीले यो गर्यौँ । म डेमोक्रेटिक उम्मेदवारका रूपमा तपाईंको न्युयोर्क सिटीको मेयर बन्नेछु ।”
ममदानीको चुनाव अभियान गाँस, बास, कपास र निःशुल्क बस सेवा छ । आफ्नो चुनावी अभियानमा उनले बारम्बार आमजनताको आवाज बन्ने बाचा गरिरहेका छन् ।
यसबीचमा उनी त्यति बेला ‘भाइरल’ भए, जब न्युयोर्कमा नोभेम्बरको निर्वाचनमा ड्रोनाल्ड ट्रम्पलाई भोट दिएका मतदातालाई प्रश्न सोधे । कुन मुद्दामा उनीहरूले रिपब्लिकन राष्ट्रपतिलाई चुने र डेमोक्रेटिक पार्टीको समर्थन प्राप्त गर्न के परिवर्तन आवश्यक हुनेछ भनेर उनले प्रश्न गरेका थिए ।
ममदानीको घोषणापत्र धेरै प्रगतिशील योजनामा आधारित छ । निःशुल्क सार्वजनिक बस सेवा, सबैका निम्ति बालबालिकाको हेरचाह, नगरपालिकाद्वारा सञ्चालित पसलहरू र किफायती आवास त्यसमा समावेश छन् । यी सबै योजनाका निम्ति धनीमाथि नयाँ कर लगाएर कोष जुटाउने उल्लेख छ ।
बीबीसीसँग उनले भने, “यो यस्तो सहर हो, जहाँ प्रत्येक चारजनामध्ये एक व्यक्ति गरिबीमा बाँचिरहेको छ । र, जहाँ पाँच लाख बालबालिका प्रत्येक रात भोकै सुत्छन् ।”
उनले थपे, “यो सहरमा त्यो पहिचान गुम्ने खतरा छ, जसले यसलाई विशेष बनाउँछ ।”
ममदानीलाई चुनावी अभियानका क्रममा सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज र सिनेटर बर्नी स्यान्डर्सको समर्थन प्राप्त भएको थियो । न्युयोर्क सिटीको मेयरको कार्यकाल चार वर्षको हुन्छ । कोही व्यक्ति लगातार दुईपटक (अधिकतम आठ वर्ष)सम्म मेयर रहन सक्छन् ।
हरेक पार्टी (जस्तै, डेमोक्रेटिक, रिपब्लिकन)ले पहिले आफ्नो उमेदवार तय गर्छ । त्यसनिम्ति प्राइमरी चुनाव हुन्छ । त्यहाँका पार्टीका दर्ता सदस्यले भोट हाल्छन् ।
भोट हाल्दा मतदाताले आफ्नो रुचिअनुसार १ देखि ५ सम्म उमेदवारलाई ‘र्यांक’ गर्छन् । ५० प्रतिशतभन्दा बढी भोट प्राप्त गर्ने व्यक्ति विजयी हुने व्यवस्था छ । नभए राउन्ड–बाई–राउन्ड गणना गरिन्छ ।
प्राइमरी जित्ने उमेदवारले जनरल इलेक्सनमा प्रतिस्पर्धा गर्छन् । यो सामान्यतया नोभेम्बर महिनामा हुन्छ । यसमा सबै दर्ता मतदाताले भोट हाल्न सक्छन् । सबैभन्दा बढी भोट प्राप्त गर्ने उमेदवार न्युयोर्क सिटीको मेयर बन्छन् ।